+
+
फिल्म :

सरदार उद्दम : स्वतन्त्रताका लागि लड्ने योद्धाको कथा

सन्तोष पौडेल सन्तोष पौडेल
२०७९ वैशाख १९ गते १७:१८

यो लेख फिल्मको समीक्षा होइन, तर आँखाले चाखेको दृश्यको विस्तार भने हो । न यहाँ कुनै कलापारखी शोधकर्ताको नीभबाट कोरिएको गहन ‘फिल्म मन्थन’ नै छ । फिल्म हेरिरहँदा मनलाई पटकपटक छोएपछि अक्षरमा पोखिएको भाव र आँखाले बटुलेका मनप्रिय दृश्य छ ।

मनलाई छोएपछि मलाई फिल्म मनपर्छ । मनलाई छुनु भनेको मस्तिष्क हिर्काउनु हो । कसैले बाँचेको ऐतिहासिक समाजका प्रश्‍न थाहा पाउनु हो । भारतीय सिनेमा ‘सरदार उद्दम’ हेरिसकेपछि मैले इतिहासको नरसंहार थाहा पाएँ । क्रान्ति थाहा पाएँ । अझ सरदार उद्दमको व्यक्तित्व, जीवनी थाहा पाएँ । निर्देशक सुजित सरकारले सिनेमाद्वारा सरदारको चरित्र र त्यो चरित्रले निर्माण गर्न खोजेको ऐतिहासिक कालखण्डको सामाजिक, राजनीतिक र व्यक्तिगत जीवन दृष्टिकोण पस्केका छन् ।

म विश्‍वास गर्छु, फिल्म हेर्दैमा घाटा छैन । दृश्यद्वारा बुनेको फिल्म होस् वा अक्षरका कुनै पुस्तक । छनोट र रूचि व्यक्तिको कुरा हो । समयको बर्बादी भन्ने कुरा भ्रम हो, यथार्थ होइन । किनकि ऐतिहासिक घटनामा बनेका कुनै पनि फिल्मले पाठ दिन्छ । त्यो पठन हो । सत्ताको, शासकको, समाज विनिर्माणको, योगदानको, भोगाइको । त्यसको कहींकतै अर्थ छ । तर फिल्मद्वारा पस्केको न्यारेसनको जाँच गर्नुपर्ने झन्झट नहोस् दर्शक चाहन्छ ।

तथापि, सिनेमा स्वयं एक शोध हो । कुनै व्यक्तिको चरित्रबारे निर्देशकले सत्यतथ्य पस्केको होला भन्ने दर्शकको विश्‍वास पनि हो । आजभोलि भारतीय सिनेमामा जुन किसिमको दृश्य स्वतन्त्रता देख्न पाइन्छ । न्यारेसन स्वतन्त्रता भनौं । अझै अपुग छ । सिनेमाले खोजमूलक सत्यतथ्य पस्केको आधार भने दर्शकमा सुरक्षित छैन । अझ महत्वपूर्ण प्रश्‍न त वायोपिक फिल्म बनाउँदा ‘रिफरेन्स’ कहाँबाट लिएको भन्ने हो । त्यो निर्देशकको जवाफदेहिता हो ।

सिनेमाको सुरु दृश्य जेलभित्रको छ । यो स्वतन्त्र भारत आन्दोलनका नेताहरूको थलो बन्न पुगेको जेल हो । सरदार उद्दम जेल परेको तर के सजाय भोग्न खुलाएको छैन । एक सिपाही जेलको ढोका उघार्दै चिच्याउँछ- शेरसिंह, उठ ! तेरो बेल भएको छ । दासझैं उसलाई साङ्लोले बाँधेको छ हिंड्न मिल्नेगरी ।

नायकको स्वर

‘सरदार उद्दम सिनेमा होइन, सोच हो’ सरदारको चरित्र निभाएका अभिनेता विक्की कौशलले भनेका छन् । सिनेमाको एक दृश्यमा रहेको डायलग बोल्दै उनी अझै रोचक कुराको पोयो फुकाउँछन्, ‘जवानी भन्ने जिनिस भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो, त्यो व्यक्तिमा भरपर्छ खेर फाल्ने वा कुनै अर्थ दिने ।’

सरदार उद्दमको अभिनयबाट उनै विक्कीले भने कुशल अभिनेताको परिचय बनाउन सफल भएका छन् । ‘कपिल शर्मा शो’मा विक्कीले सुनाएका थिए, ‘सुजित सरकारले यो फिल्म २१ वर्ष अघि नै निर्माण गर्ने सोच बनाएका थिए । सरदार उद्दमको भूमिका गर्न इरफान खान पहिलो रोजाइका कलाकार थिए, तर उहाँको निधन भएपछि यो सिनेमा मैले गर्ने अवसर पाएँ,’ उनी थप्छन्, ‘सिनेमाको प्रत्येक दृश्य इरफान सरप्रति समर्पित छ ।’

उनी अझ उत्साहित हुँदै खुल्छन्, ‘सरदारको चरित्र निर्वाह गर्दा मेरो मानसपटलमा उहाँको मानसिक मनोभाव त्यसबेला कस्तो थियो ? म कल्पना मात्र गर्न सक्थें । एउटा जवान केटोको आँखा अगाडि भएको विभत्स हत्याको प्रत्यक्ष साक्षी पछाडिको मानसिकता महसुस त गर्न सकिंदैन, तर त्यो ‘भाव’को नजिक पुग्ने प्रयत्न भने मैले गरें । चरित्र निर्वाहको सबैभन्दा कठिन चुनौती यही हो । बायोपिक फिल्म गर्दा पात्रको चरित्र निर्वाहको संघर्ष त्यसैले अव्यक्त छ ।’

र, दृश्यका कुरा

१३ मार्च १९४०, बेलायत । हिटलरको शासन भएको बेला जर्मनीले विश्‍वयुद्ध घोषणा गर्न सक्ने शंका रेडियोले फुकिरहेको छ । क्याक्स्टन हलमा डायरको प्रमुख अतिथिमा सभा आयोजना गरिएको छ । उनै डायर जो पञ्जाबमा भएको ‘नरसंहार’मा संलग्न एक व्यक्ति । सरदार उद्दम यही दिनको प्रतीक्षामा थिए लण्डनमा । ऊ हलभित्र जान्छ । भाषण सकिएपछि डायरलाई बोलाउदै नजिक पुग्छ । पेस्तोल निकाल्छ । र, छातीमा निशाना ताक्दै ट्रिगर दबाउँछ । डायर ढल्छ । हल कोलाहलमा परिणत हुन्छ । भागदौड मचिन्छ । गोली चलेको घट्ना तुरून्तै चौतर्फी प्रसारित हुन्छ ।

आजसम्म कुनै घटनाले यत्तिको प्रेस कभर प्राप्त नगरेको कुरा हिन्दुस्तानसम्म पुग्छ । सरदार उद्दम प्रहरीको घेरामा छ । मुक्काले सुन्निएको अनुहार । बग्दै गरेको आलो रगत । हातमा बाँधिएको हत्कडी । अगाडि उभिएको जासुसी गुप्‍तचर । गुप्‍तचरको कर्कस स्वर । र, अनेक प्रश्‍न ।

सन्तोष पौडेल

अर्को आतंकवादी घटना कहाँ हुन लागेको छ ? उद्दम केही बोल्दैन । चुपचाप प्रश्न सुनेर बस्छ । तँ कुन आतंकवादी समूहमा आबद्ध छस् ? तँसँग को को छन् ? अरू साथी लण्डनमा कहाँ लुकेर बसेका छन् ? तेरो पनि उही हालत हुनेछ जुन भगतसिंहको भएको थियो । ऊ अझै चुपचाप छ । उसको मौनताले गुप्‍तचर झन् कड्किन्छ- ‘डायरको किन हत्या गरिस् ?’

बल्ल, यो प्रश्‍नसँगै उसको कथा उध्रिंदै जान्छ ।

०००

१३ अप्रिल, १९१९ । पर्खालहरूको सहरको रूपमा परिचित पञ्जाबको अमृतसरले भयानक नरसंहारको अनुभव गर्‍यो । विग्रेडियर जनरल रेगिनाल्ड डायरले सिपाहीहरूलाई फायर गर्न आदेश दिए । शान्तिपूर्ण सभामा सहभागी भएका झण्डै २० हजार निर्दोष सर्वसाधारण जालियनवाला वागमा विना चेतावनी मारिए । हजारौं महिला, बालबालिका र पुरूषको हत्या भएको दिन थियो त्यो । अडेयर पञ्जाब राज्य मामिला हेर्ने गभर्नर थिए । त्यस समय भारत ब्रिटिश सरकारको दमनकारी शासनको अधिनमा थियो । भगतसिंह लगायत अन्य नेताहरू ‘भारत छोड’ आन्दोलन गर्दै थिए ।

‘डायरको हत्या किन गरिस्?’, गुप्‍तचरको प्रश्‍न उस्तै कर्कश स्वरमा गुञ्जिन्छ । तेरो भगतसिंहकै हालत हुनेछ । मृत्युदण्ड । बुझिस् ।  भगतसिंहको नाम सुन्नासाथ उद्दम सुस्तरी सुसाउँदै गुप्‍तचरलाई उल्टै प्रश्न गर्छ- ‘तँ २३ वर्षको हुँदा के गर्दैथिस् ?,’ ऊ अक्क न बक्क पर्छ । यताउति नियाल्छ । मसिनो स्वरमा गुञ्जन्छ । म त्यसबेला विवाहित थिए । पहिलो सन्तानको प्रतीक्षामा थिए  । भर्खरै युवा गुप्‍तचर सिपाहीको जागिरे भएकाले ती दिन मेरा लागि अत्यन्तै सुखद थिए ।

ऊ आफ्नोबारे सविस्तार बक्छ । उद्दम चिच्याउछ । त्यसैले म भन्दैछु- ‘भगतसिंहको नाम उच्चारण नगर । ऊ के हो ? के थियो ? तँलाई केही थाहा छैन । ऊ अतीतको गर्तमा पुग्छ । सम्झिन्छ भगतसिंहलाई ।

भगतसिंहलाई कसैले सोध्छ- ‘स्वतन्त्रा मिलेको दिन सबैभन्दा पहिले के गर्छस् ?’

‘स्वतन्त्रताको साँझ सबैभन्दा पहिले चार्ली चाप्लिनको कुनै सिनेमा हेर्छु । महंगो ब्रिटिश वाइन खरिद गर्छु । पिउँछु, नाच्छु । त्यसपछि के गर्नु ? घर जान्छु । रोटी खान्छु, सुत्छु । अर्को दिन सबेरै उठ्छु । नियमित नित्यकर्म । रोटी खान्छु ।  र, फेरि सुत्छु ।’

कोठाभरि हाँसो गुञ्जिन्छ ।

***

सन् १९३१ पञ्जाब, भारत । सिनेमाको सुरु दृश्य जेलभित्रको छ । यो स्वतन्त्र भारत आन्दोलनका नेताहरूको थलो बन्न पुगेको जेल हो । सरदार उद्दम जेल परेको तर के सजाय भोग्न खुलाएको छैन । एक सिपाही जेलको ढोका उघार्दै चिच्याउँछ- शेरसिंह, उठ ! तेरो बेल भएको छ । दासझैं उसलाई साङ्लोले बाँधेको छ हिंड्न मिल्नेगरी । ऊ जेलबाट निस्किँदै गर्दा यसरी आँखा डुलाउँछ । उसले टेकेको जमिन आफ्नो तर हिडाइँ होइन । ऊ कसैको इशारामा हिंड्नुपरेको छ । अर्थात् बाँच्नुपरेको छ । गल्लीको बाटो छिचोल्दै गर्दा उसले लड्डुको स्वाद चाख्छ । उसको मस्तिष्कमा भने ‘स्वतन्त्र भारतको स्वाद’ मगमगाएको छ । खाइबर गेष्ट हाउस रहेको उसको कोठा । बन्दकोठाभित्र सोचमग्न शरीर । ब्रिटिश सरकारको हरदिन निगरानी । आन्दोलन शुरू गरौं ? सबै भताभुंग भइसकेको ।

पासपोर्ट बनाएर पाकिस्तान छिर्नुबाहेक अर्को विकल्प नरहेको र पाकिस्तान पुग्नसके लण्डन जान सजिलो हुने भएकाले ऊ पाकिस्तान लाग्छ । जासुसीमार्फत ऊ भागिसकेको कुरा ब्रिटिश सरकार प्रमुखकहाँ पुग्छ । ऊ वान्टेडको सूचीमा टाँसिन्छ र उक्त सूची चौतर्फी प्रेषित हुन्छ ।

सन् १९३३, यूएसएसआर । लामो यात्रा । थकित अनुहार । ऊ थाकेको छ तर क्रान्तिदेखि होइन । ऊ बेचैन छ, ब्रिटिश सरकारको दमनकारी शासनबाट । जेलबाट निस्कँदै गर्दा ऊभित्र दन्केको जुन आक्रोश छ, त्यो अनुहारमा उस्तै ताजा देखिन्छ । हिउँले घेरिएको विशाल पहाडभित्रको सन्नाटामा दिनहुँ घिस्रिरहेको जीर्ण शरीर । समयको शून्यभाव । तर ऊभित्र उम्लिरहेको विद्रोही चेत जुन शून्य भएको छैन ।

वर्षौंको यात्रापछि १९३४ को कुनै दिन ऊ अन्ततः लण्डन पुग्छ । मिस्टर उदय सिंहको नाममा । लण्डनमा रहेका सहयोद्धाहरूलाई भेट्छ । त्यहाँ अधिकांश एचएसआरएका हिन्दुस्तानी कोही नबचेको, यहाँ बसेर एक्लै ग्रुप खडा गर्न नसक्ने, आर्थिक अवस्था नाजुक भएको, उल्टै खोजी हुनसक्ने र सबै समातिने डर ।

ऊ रनभुल्लमा पर्छ । कहाँ जाने ? के गर्ने कुनै टुंगो छैन । हतास मनोभाव । ऊ पर्सबाट पुरानो फोटो निकाल्छ । र, फोटोसँगै छचल्किन्छ- भगतसिंहको बुलन्द स्वर ।

***

‘हामीलाई ब्रिटिश सरकार क्रान्तिकारीको आरोप लगाउँछ । मित्रहरू, आफ्नै भूमिमा अधिकार माग्नु क्रान्तिकारी हो भने हौं हामी क्रान्तिकारी । आतंककारी त होइनौं । तर आतंककारी र क्रान्तिकारीमा फरक छ मित्र,’ भगतसिंह चिच्याउँछ । सांकेतिक कामबाट आफ्नो विरोध मात्र दर्ता गराउनु क्रान्तिकारी हो । कुनै आतंकवादी झैं डराउनु/धम्काउनु होइन ।’

विरोधको सांकेतिक कार्यमार्फत देशका आम जनतालाई आफ्नो हक माग्न प्रेरित गर्नु हो,’ हाम्रो लडाइँ स्वतन्त्रताको हो । र, बन्धुहरू लडाइँ जो कोही लड्न सक्दैन । किनकि ऊ पक्षपाती, साम्प्रादायिक, जातीय, वर्गीय हुन सक्दैन । यो लडाइँ अंग्रेज विरूद्धको हो । समान हक र मानवीय मूल्य स्थापनाको ।

म चाहन्छु, ‘मलाई केही भयो भने पनि त्यसपछिका दिन संगठनले निरन्तरता पाओस् । त्यसैले उद्दम म तँलाई केही कुरा बताउन चाहन्छु ।

उद्दम मुस्कुराउँदै भन्छ- ‘त्यसो हो भने अर्को तेस्रो व्यक्ति बोलाउनुपर्छ ।’

‘तेस्रो व्यक्ति ?’, भगतसिंह रोकिन्छ ।

‘म पनि त बच्ने छैन । मेरो पनि त्यही हालत हुनेछ जुन तेरो हुनेछ ।’

‘कोही छ तेस्रो ?’, भगतसिंह कराउँछ । ‘तेस्रोको चक्करमा लाग्ने हो भने क्रान्ति कहिल्यै सफल हुनेछैन ।’

दुवैको हाँसो घामका झुल्कासँगै कोठाभरि छरिन्छ । सायद, उद्दमको हाँसोभित्र भने लुकेको थियो- ‘बदलाको भाव’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?