+
+
अन्तर्वार्ता :

मेयरका उम्‍मेदवार सरावगी भन्छन् : वीरगञ्जमा विकासको जग बसाएको छु, जनताले साथ दिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:४८

२०७४ सालको चुनावमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्र होइन, मधेशकेन्द्रित राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि वीरगञ्ज महानगरपालिकाको मेयरमा यो पटक उम्मेदवारी परेको छैन । सत्ता गठबन्धनका कांग्रेस र माओवादीले जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहलाई समर्थन गरेका छन् । लोसपाले एमाले उम्मेदवार विजयकुमार सरावगीलाई साथ दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पत्रकार गिरीश गिरीलाई मैदानमा उतारेको छ । ठूला दलबाट उम्मेदवारी नपरेको र स्वतन्त्रमा पनि खासै लोकप्रिय उम्मेदवार देखिएका छैनन् । त्यसैले सत्ता गठबन्धन र एमाले–लोसपा गठबन्धन गरी दुई गठबन्धनका उम्मेदवारबीच नै वीरगञ्जमा प्रतिस्पर्धा हुने देखिन्छ ।

व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा छिरेका सरावगीले छोटो समयमा नै राजनीतिक उचाइ कायम गर्दै गए । २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनको बेला वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि बने । २०७४ सालको स्थानीय निर्वाचन हुनुभन्दा ६ महिनाअघि तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका उनी १९ हजार ३९३ मत ल्याएर मेयर बने ।

पाँचवर्षे कार्यकाल पनि पूरा नहुँदै उनी फेरि २०७८ फागुन अन्तिम साता नेकपा एमाले प्रवेश गरे । एमालेले नवप्रवेशी उनैलाई मेयरमा उठायो । कोरोना महामारीका बावजुद आफूले वीरगञ्जमा विकासको जग बसाएको दाबी गर्दै सरावगी अझै एक कार्यकाल वीरगञ्जको सेवा गर्न आफू जनताको माझमा जान लागेको बताउँछन् ।

मनोनयन दर्ता गरेर फर्कंदै गर्दा उनले आफ्नो प्रतिस्पर्धी नै नभएको टिप्पणी गरेका थिए । उनै विजयकुमार सरावगीसँग वीरगञ्जबाट अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानीको सम्पादित अंश :

वीरगञ्जका मतदाताले फेरि पनि किन तपाईंलाई नै भोट दिने ?

भोट दिने धेरै आधार छन् । साढे चार वर्षको मेरो आफ्नो सिकाइ छ, त्यसका लागि नयाँ मान्छेलाई दुई वर्ष लाग्छ । म निवर्तमान मेयर पनि भएकाले जुन योजना बनाएको छु, त्यसलाई कार्यान्वयन गर्न सजिलो हुन्छ ।

दोस्रो कुरा, वीरगञ्जलाई नयाँ वीरगञ्जको रूपमा स्थापित गर्नुपर्नेछ । ड्राइपोर्ट र आईसीपीको अगाडि ‘ल्याण्ड पुल’ गरेर नयाँ वीरगञ्ज बनाउँछु भनेर पटक–पटक भनेको छु । एडीबीको सहयोगमा त्यो कामलाई अघि बढाउनुछ ।

सिर्सिया करिडोर पनि त्यति नै आवश्यक छ । अतिक्रमित सिर्सियालाई बचाउनुछ । दुवैतिर रोड र नाला बनाउनुछ ।महानगरको मापदण्ड पूरा गर्न जुन भौतिक पूर्वाधार आवश्यक थियो त्यसको ८० प्रतिशत कम छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको कुरा पनि ठिक पार्नुपर्नेछ । त्यो हिसाबले ठूलो लगानी चाहिन्छ । वीरगञ्जलाई राजनीतिक कारणले हतारमा महानगरपालिकाको घोषणा गरिएको थियो ।

मेरो इच्छा छ कि वीरगञ्जलाई महानगरपालिकाको आकार दिऊँ १६ वटा वडाका ग्रामीण क्षेत्रका जनता छन् महानगरका मतदाता । ती ग्रामीण क्षेत्रका जनताका लागि स्याटेलाइट सिटीको अवधारणा मैले पहिले पनि ल्याएको थिएँ । लगानीको अभाव र कोभिडका कारण धेरै गर्न सकेनौं । तैपनि ठाउँ–ठाउँमा प्रयास गरिएको थियो । त्यो अनुसार स्याटलाइट सिटीको अवधारणालाई पनि मूर्तरूप दिनुपर्नेछ ।

बसपार्क, ल्याण्डफिल साइट, ढल प्रशोधन केन्द्र, पानी प्रशोधन केन्द्र जस्ता आयोजना एशियाली विकास बैंक, विश्व बैंक, सघन सहरी विकास लगायत संघ–संस्था र दातृ निकायले पहिलेदेखि नै अघि बढाएका योजना हुन् । अरूमार्फत आएको योजना मैले पूरा गरेको भनेर हिंडिरहनुभएको छ, किन ?

यो गलत कुरा हो, तपाईंले जुन नाम लिनुभयो ती सबै योजनामा १६ प्रतिशत महानगरपालिकाको लगानी छ । त्यसको टेन्डर महानगरपालिकाले नै गरेको थियो । हामी आइसकेपछि ८४ करोड रुपैयाँ त्यसैका लागि छुट्याउनु पर्‍यो । यी आयोजनामा हामीले लगानी नगरेको भए तपाईंले भनेको सही हुन्थ्यो ।

मुख्य सडकको विस्तार भइरहेको छ । वीरगञ्ज क्षेत्रमा पनि भएको छ । वीरगञ्जको मुख्य बजार क्षेत्र त बाँकी नै छ । त्यो नेपाल सरकारले नै बनाइराखेको छ । त्यसमा मैले कहिल्यै दाबी गरेको छैन । त्यो टीआरपी रोड हो ।

पथलैयादेखि नै बनेर आइरहेको छ । त्यस्ता रोडहरूमा पनि मर्मतको समस्याका कारण एकदमै अप्ठेरो छ । महानगरपालिकालाई नै सबैले गाली गरिरहेका छन् सडकका कारण । जबकि जुन हाम्रो क्षेत्राधिकारमा नै पर्दैन ।

सबैलाई थाहा छ, त्यो सडक धेरै भीडभाडयुक्त र आवतजावतको सडक हो । सडक विभाग, सम्बन्धित मन्त्रालय, संघ सरकारका प्रतिनिधि सांसद हुन् वा मुख्यमन्त्री त्यही बाटोबाट आउँछन्, जान्छन् । तर आफ्नो कर्तव्यमा परेको बाटो सुधार्न कुनै काम गर्नुभएको छैन । हामीलाई दोष आइरहेको छ ।

महानगरको जिम्मेवारीको सडक पनि त तपाईंले फराकिलो पार्नुभएन, न t कालोपत्रे गर्न पहल नै गर्नुभयो नि ?

बाटो फराकिलो गर्ने काम हाम्रो होइन, हाम्रो क्षमताभित्र पनि छैन । संघ सरकारले नै गर्नुपर्छ । मुआब्जाको माग गरेर सर्वोच्च अदालतमा मुद्दा छ, सबैलाई थाहा छ । फराकिलोका लागि कुनै माग छैन, गर्ने कि नगर्ने ?

फराकिलो गर्नुछ भने सर्वोच्च अदालतमार्फत जग्गाधनीहरूले मुआब्जाको माग गर्नुभएको छ त्यो मुआब्जाको निर्णय भइसकेपछि त्यो काम हुन्छ होला । ५७-५८ करोड रुपैयाँ नेपाल सरकारले टेन्डरका लागि छुट्याएर राखेको छ ।

सर्वोच्च अदालतले हेटौंडातिरका लागि निर्णय गरिसकेको छ मुआब्जा दिएर मात्र सडक विस्तार गर्ने भनेर, अब यहाँ पनि दिने या नदिने विषय टुंगियो भने वीरगञ्ज महानगरले पहिलो नगर सभाबाट १५÷१५ मिटर सडक फराकिलो गर्ने भनेर निर्णय गरेको थियो, त्यो अडान कायमै छ । त्योभन्दा बढी गर्नुहुन्न भन्ने जिकिर छ ।

तत्कालीन संघीय समाजवादी फोरमबाट मधेश आन्दोलनको बलमा चुनाव जित्नुभयो, ती मधेशी जनतालाई धोका दिएर एमालेमा प्रवेश गर्नुभयो, तपाईंलाई मधेशी जनताले किन विश्वास गर्ने ?

मधेशी जनतालाई मैले धोका दिएको छैन । म जुनै पार्टीमा बसे पनि मधेशी जनताका लागि एड्भोकेसी गर्ने, उनीहरूका लागि काम गर्न बाँकी रहँदैन । जब म यही क्षेत्रको जनप्रतिनिधि भएर बस्छु भने मलाई लाग्दैन कि मधेशी जनताका माग पूरा गर्न सक्दैनौं ।

म यसमा ढुक्क छु । म साढे चार वर्ष जुन पार्टीमा बसें, मसँग भएको दुव्र्यवहार मिडियामा पटक–पटक आइसकेको छ । म दोहोर्‍याउन चाहन्नँ । कुनै पनि मान्छे पार्टी सजिलै छोड्दैन, दुई दुई पटक मैले राजीनामा नै दिएँ ।

म जनताको मेयर चुनिएको थिएँ, म जनताको काम गर्न आएको थिएँ । म कुनै पार्टीविशेष वा पार्टीविशेष व्यक्तिको काम गर्न आएको हैन । कुनै पार्टी गलत हुँदैन, पार्टीको सिद्धान्तलगायत सबै कुरा राम्रो हुन्छन् । तर पात्र गलत भयो भने राम्रो मान्छेहरू पार्टी छोडेर जान्छन् ।

अहिले पनि तपाईं  हेर्नुहुन्छ भने कांग्रेसबाट पनि थुप्रै मान्छेले पार्टी छोडिरहेका छन् । आउने जाने क्रम बढेको छ । हुन त चुनावमा यस्ता घटना धेरै हुन्छन् । त्योभन्दा पनि बढी जहाँ आफ्ना मान्छेलाई पार्टीले राम्रोसँग राख्न सक्दैन, पार्टीमा जिम्मेवारी दिंदैन भने पार्टीबाट मान्छे विस्थापित हुन्छन् ।

एमालेमा पनि सहयोग भएन भने फेरि पार्टी परिवर्तन गर्नुहुन्छ ?

हैन मलाई त्यस्तो लाग्दैन, नेकपा एमालेको पार्टी पंक्तिको अवस्था मैले धेरै वर्षदेखि हेरिरहेको छु । कमसेकम यो अवस्था छैन, यहाँ ऐक्यबद्धता छ । कमसेकम एमाले पार्टीका नेताले मिडियामा गएर बोल्ने, आफ्नै मेयरलाई असहयोग गर्ने काम गर्दैनन् । एउटा ठूलो पार्टी, संस्थागत नीति नियममा चल्ने पार्टी भएको हुनाले आफ्ना नेताहरूलाई बचाएर राख्छन् भन्नेमा पूर्ण विश्वस्त छु ।

तपाईंको पुरानो १२०० करोडको सिर्सिया करिडोरको योजना त्यसै अलपत्र छ, अर्को ४०० करोडको योजना आइसक्यो । सिर्सिया नदी हेरेर तपाईंको मन पोल्दैन ?

पोल्छ नि, मेरो मन मात्र पोलेर के गर्नु ! वीरगञ्ज र मधेशको विकासमा संघ सरकारको मन पोलेन, हाम्रा नेताहरू मधेश आन्दोलनबाट स्थापित भएर गए उनीहरूको मन पोलेन । जुनबेला इस्तियाक राइन मन्त्री हुनुहुन्थ्यो, त्यतिबेला लेखेर उहाँलाई दिएको थिएँ, मुख्यमन्त्रीलाई पनि लेखेर दिएको थिएँ ।

कमसेकम डीपीआर गराइदेऊ, त्यो क्षमता भएको मान्छे हामीसँग छैन, १०औं करोड खर्च लाग्छ हामीसँग छैन । त्यसको साथमा जब सर्भे हुन्छ त्यसमा नदीको एउटा सिमानाको निर्धारण संघ सरकारले गरिदिनुपर्छ ।

सन २००५ को स्याटेलाइट नक्सा हेर्नुभयो भने १५० फिट नदी छ । अब अहिले हेर्दा ३०/४० फिटमा खुम्चिसकेको छ । हामी आउनुअघि नै अतिक्रमित भइसकेको छ, अतिक्रमण मात्रै हैन ती जग्गाहरू हालसाविक गरेर आफ्नो नाममा गरिसकेका छन् ।

हालसाविक भइसकेपछि महानगरपालिकाको केही लाग्दैन । सन् २००५ मा फर्काउनका लागि अध्यादेश नै चाहिन्छ । नदीको सिमाना यो हो भनेर कायम गर्नुको साथै डीपीआर नेपाल सरकारले गरिदियो भने वागमती करिडोर जस्तै सिर्सिया करिडोर बनाउन सकिन्छ ।

२०७४ सालको निर्वाचनमा ‘मेरो कसम’ ल्याउनुभयो, त्यो पूरा गर्न सक्नुभएन फेरि नयाँ प्रतिबद्धता लिएर जनताको माझमा जाँदै हुनुहुन्छ; जनताले कसरी विश्वास गर्ने ?

नयाँ प्रतिबद्धता लिएर आएको छु वा पुरानो ‘मेरो कसम’ छ । त्यो मेरो आफ्नो मात्रै हुँदैन । त्यो पार्टीले एउटा मुखपत्र जारी गरेको हुन्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ ।
यो मैले भनेर मात्रै हुँदैन, एमाले पार्टीले पनि ९ वैशाखमा देशभरि नै प्रतिबद्धता पत्र जारी गरेको छ । त्यसलाई नै फलो गर्ने हो, स्थानीय आवश्यकताको हिसाबले थपघट गर्न सक्छौं त्यो हामीले गरेका छौं ।

विश्वास गर्छन् त मतदाताले तपाईंलाई नै फेरि पनि ?

जनताले पक्कै पत्याउँछन् किनभने जुन महागठबन्धन भनेर हल्ला गरिएको छ त्यो महागठबन्धनको प्रत्यासी भन्दा मलाई लाग्छ म माथि नै रहन्छु जहिले पनि हरेक तरिकाले । अहिले पनि त्यस्तै वेब चलिरहेको छ वीरगञ्जमा ।

मलाई सबैले सोध्छन् पनि तपाईंले जित्नुहुन्छ कि हुन्न ? तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ ? म पटक–पटक यही भन्छु जुन मान्छेलाई मैले हराइसकेको छु पहिला अब मेरो प्रतिस्पर्धा कसैसँग छैन, एकल रूपमा नै मेरो जित हुन्छ र म फेरि मेयरमा निर्वाचित हुन्छु ।

जितिसकेपछि तपाईंले गर्ने १० वटा काम के हुन् ?

मुख्य १० काममध्ये केही त मैले माथि पनि भनिसकेको छु, महानगरपालिकाको १६ वटा शाखा, उपशाखा र महाशाखा छन् । तीमध्येकै काम हामीले गर्ने हो, त्योभन्दा बढी काम हामीले गर्न सक्ने पनि हैन ।

अहिले सबैभन्दा ठूलो चुनौती, वीरगञ्जको सहरीकरणको हो, नयाँ सहर बसाउने हो । त्यसका लागि ठूलो गुरुयोजना बनाएर लगानी गर्नु नै पर्छ । पुरानो वीरगञ्जमा मानिसहरू अटाउने ठाउँ छैन । वीरगञ्जको मुख्य सडक विस्तार गर्नु नै पर्छ । सर्वोच्च अदालतको निर्णय आइसकेपछि त्यसलाई विस्तार गराउन म पहल गर्छु । सिर्सिया नदीको कुरा मैले गरिसकेको छु ।

मुख्य सडकको आफ्नै घर पनि तोड्नुहुन्छ ?

एकदम, म घर खाली गरेर नै बसेको छु कुनै दिन जरूरी पर्छ भने तोड्छु भनेर ।

अहिले नै तोडेर देखाउन किन सक्नुहुन्न त ?

अहिले नै म तोडेर देखाउँदिन, त्यस्तो ठूलो मान्छे मलाई बन्नु छैन । अनावश्यक रूपमा भएको संसाधनलाई किन तोड्ने ? मेरो घर तोड्ने वित्तिकै बाटो त बन्दैन अहिले ! जुन दिन बाटो बनाउने सुनिश्चित हुन्छ, त्यो दिन सबैभन्दा अगाडि घर तोड्ने मान्छे म हुन्छु ।

त्यसमा मलाई कुनै द्विविधा छैन, पहिला व्यापारिक अफिसको रूपमा यो भवन प्रयोगमा थियो । अर्को अफिस बनाएर सारिसकेको छु । जबसम्म तोड्ने कुरा आउँदैन, तबसम्म राजनीतिक कार्यालयको रूपमा प्रयोग गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?