+
+

माडीमा ‘उपमेयर’ र ‘हेडसर’ को रोचक प्रतिस्पर्धा

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १९ गते २०:४६
ताराकुमारी काजी महतो र ऋषि काफ्ले ।

१९ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा स्थानीय तह निर्वाचनमा मुख्यतः दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नेकपा माओवादी केन्द्रका ऋषि काफ्ले मेयरको उम्मेदवार छन् । नेकपा एमालेबाट निवर्तमान उपमेयर ताराकुमारी काजी महतोले मेयरमा उम्मेदवारी दिएकी छन्, जसलाई राप्रपाको समर्थन छ ।

९ वटा वडा रहेको माडीमा सत्ता गठवन्धनले वडा अध्यक्षमा समेत भागवण्डा गरेको छ । वडा नं. १, ६ र ८ कांग्रेसले लिएको छ, ३ र ७ एकीकृत समाजवादी र २, ४, ५ र ९ माओवादी केन्द्रले लिएको छ । वडा नं. ३ एकीकृत समाजवादीको भागमा परे पनि कांग्रेसको उम्मेदवारी कायमै छ ।

एमाले र राप्रपाबीच भने वडातहसम्म तालमेलबारे टुंगो लागिनसकेको एमालेका माडी नगर कमिटीका सचिव श्री दवाडीले बताए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा कांग्रेसका खेमप्रसाद महतोलाई पराजित गर्दै माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल निर्वाचित भएका थिए । रोचक त के छ भने माओवादी केन्द्र, कांग्रेस र एमालेका उम्मेदवारबीच ४७ मतभित्र हारजित भएको थियो ।

ढकालले तीन हजार ८७३ मत ल्याउँदा कांग्रेसका महतोले तीन हजार ८२९, एमालेका नारदमणि पौडेलले तीन हजार ८२६ र राप्रपाका मदन पौडेलले तीन हजार ७३ मत ल्याएका थिए ।

अहिले कांग्रेस, माओवादी र समाजवादी एकातिर र एमाले राप्रपा अर्कोतिर हुँदा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

०७४ को निर्वाचनमा दोस्रो स्थानमा रहेका महतो अहिले सत्ता गठवन्धनबाट उपमेयरको उम्मेदवार बनेका छन् । तेस्रो भएका नारदमणि एमाले छाडेर एकीकृत समाजवादीतिर लागेका छन् भने चौथो स्थानमा रहेका राप्रपाका मदन पौडेल एमालेको समर्थनमा उपमेयरको उम्मेदवार छन् ।

गत निर्वाचनमा माडीमा एमालेले सबैभन्दा धेरै पाँचवटा वडाको अध्यक्ष जितेको थियो । वडा नं. ३, ६,७, ८ र ९ को वडाध्यक्ष जिते एमालेका वडा नं. ३ का अध्यक्ष पुरन महतो एकीकृत समाजवादीतिर लागेका छन् ।

०७४ मा कांग्रेसले वडा नं. १ को अध्यक्षमात्रै जितेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्ण पौडेलले अहिले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले वडा नं. २, ४ र ५ को अध्यक्ष जितेको थियो । चितवनमा माडीलाई राप्रपाको पनि राम्रो मत भएको क्षेत्र मानिन्छ ।

कसले जित्ला माडी ?

गत स्थानीय तहको निर्वाचनमा माडीमा २१ हजार ६७३ मतदाता थिए । यसपटक ६ हजार ५५७ ले बढेर २८ हजार २३० पुगेको छ ।

माडीमा थारु र सुकम्बासीको भोट, गठबन्धन र नयाँ मतदाता चुनावी नतिजा तलमाथि पार्ने फ्याक्टर हुन् ।

जिल्लाको ७ पालिकामध्ये माडीको आफ्नो विशिष्ट पहिचान, भूगोल र समस्या छ । माडीको जनसंख्या जातीय आधारमा मिश्रित देखिन्छ । थारु समुदायको बलियो उपस्थिति रहेको माडीमा पहाडी समुदाय, भुमिहीन सुकुम्बासीको मत निर्णायक मान्ने गरिन्छ ।

यसपटक सत्ता गठबन्धनबाट मेयरमा थारू समुदायको उम्मेदवार नहुनुको फाइदा एमाले उम्मेदवार तारालाई हुनसक्छ ।

माओवादी केन्द्रबाट गएको स्थानीय तहको निर्वाचनमा मेयर जितेका ठाकुर ढकाल यसपटक मेयरको आकांक्षी थिए । ठाकुरले मेयरबाट राजीनामा दिएपनि अर्को कार्यकालका लागि टिकट पाएनन् । तर, दिवाकर स्मृति विद्यालयका प्रद्यानाध्यापक समेत रहेका ऋषि काफ्ले राजीनामा दिएर मेयरको उम्मेदवार बने ।

माडीको वडा नं. ५ पूर्व जनमोर्चा (नारायणकाजी श्रेष्ठ) पक्षको प्रभाव क्षेत्र मानिन्छ । निवर्तमान मेयर ठाकुर ढकालले पूर्वजनमोर्चा लाइन छाडेर मूलधार प्रचण्ड लाइन समातेपछि उनलाई रोक्न पूर्वजनमोर्चा पक्षले ऋषिलाई खडा गरेको चर्चा माडीमा छ । एमाले पंक्ति आफूहरुका लागि ऋषिले टिकट पाउनु राम्रो भएको बताउँछ ।

०७४ सालमा कांग्रेसबाट वडाध्यक्ष जितेका कृष्ण पौडेलले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनु पनि सत्तारुढ गठबन्धनको अर्को चुनौती हो ।

तर अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेस र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ माओवादी केन्द्रका लागि अनुकुलता हुन् ।

पूर्व सांसदसमेत रहेका माडीका वासिन्दा तीर्थ भुसाल चुनाव निकै प्रतिस्पर्धात्मक हुने बताउँछन् ।

को हुन् ताराकाजी र ऋषि ?

माडी नगरपालिका–३ कि ताराकाजी उपमेयरको पाँच बर्षे अनुभव संगालेर मेयरमा उम्मेदवार दिएकी छिन् । १३ वर्षको जागिरे जीवन बिट मारेर उनी अघिल्लो स्थानीय तह चुनाव अगाडि राजनीतिमा होमिएकी थिइन् । उनी भन्छिन्, ‘उपमेयर भएर पाएको अनुभवका आधारमा मेयर जितेर जनताको सेवा गर्न चाहन्छु ।’

महिला र थारुसमेत भएकाले आफ्नो प्रतिस्पर्धी उम्मेदवारले भन्दाबढी मत ल्याएर जित्ने उनको दाबप्आ छ ।

सत्ता गठवन्धनबाट उम्मेदवार बनेका ऋषि काफ्ले झण्डै ३२ वर्षको शिक्षण पेसामा छाडेर चुनावी मैदानमा होमिएका हुन् । २०४६ सालदेखि शिक्षक रहेका उनी २०४८ सालमा उनी एकता केन्द्रको सदस्य बने । २०६४ सालपछि सो पार्टीको सेक्रेटरी भएर काम गरे ।

उनले माडी भएर बग्ने ठाडा खोलामा तटबन्ध गर्ने, गरिब र विपन्नलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाउने, कृषिमा आधुनिकीकरण गर्ने, माडीका वासिन्दालाई जोगाउन तारबार लगाउने योजना अगाडि सारेका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?