+
+

भरतपुरमा गठबन्धनको प्रतिबद्धता : सबैको आफ्नै घर, सबैको साझा शहर

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २० गते १८:१३

२० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पाँच दलीय सत्ता गठबन्धनले ‘भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारा दिइएको घोषणापत्र सार्वजनिक गरेको हो ।

गठबन्धनले महिलासँग सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउने र उद्यमशीलताको ग्यारेन्टी गर्ने बाचा गरेको छ । यस्तै भूमिहीनसँग हाम्रो संकल्प भनेर हरेकको आफ्नै घर हुने र सबैको साझा शहर हुने उल्लेख गरेको छ ।

किसानलाई पेन्सन र बीउदेखि ढुवानीसम्म अनुदान दिने सत्ता गठबन्धनको चुनावी प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

२४ पेज लामो घोषणापत्रमा विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्था, युवाहरुलाई रोजगारी र स्वउद्यमको प्रत्याभूति गराउने कुरा समेटिएका छन् ।

गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भरतपुर महानगरपालिकामा पाँच वर्षमा भएका कामहरु समेटिएका छन् ।

भरतपुरमा पाँच वर्षको अवधिमा अर्बौंका राष्ट्रिय आयोजना सञ्चालनमा आएको भन्दै अहिलेको विकासलाई निरन्तरता दिन सत्ता गठबन्धनलाई मत दिनुपर्ने जिकिर घोषणापत्रको पृष्ठभूमिमा उल्लेख गरिएको छ ।

भरतपुरमा ६ लेनको सडक र सिटी हल बन्दै गरेको, गौत्तमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्दै गरेको उल्लेख छ । तर, झण्डै एक वर्षदेखि रंगशालाको काम रकमको अभावमा रोकिएकोले त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छैन ।

नारायणी नदी तटबन्ध, आधुनिक प्रशासकीय भवन बन्न लागेको कुरालाई गठबन्धनले प्राथमिकतामा राखेको छ ।

नारायणगढस्थित भरतपुर ३ मा नारायणी नदी किनारको मझुवामा निजी क्षेत्रसँगको साझेदारीमा अटोल्याण्ड निर्माण परियोजना सञ्चालनमा ल्याएको दाबी सत्ता गठबन्धनको छ ।

प्रतिबद्धता पत्रमा प्रतिगमनलाई पराजित गरिएको तर पुरै समाप्त नपारेको हुनाले गठबन्धन गर्नुपरेको औचित्य पुष्टि गर्न खोजिएको छ । सत्ता गठबन्धनले राजावादी शक्तिसँग विपक्षी दल मिलेको आरोप लगाएको छ । प्रतिबद्धता पत्रमा एक टोल एक रंग एक डिजाइन बनाउने, शहीदचोक, हाकिमचोक र मालपोत चोकमा आकाशेपुल बनाउने घोषणपत्रमा समेटिएको छ ।

यसअघिको घोषणपत्रमा दाहालले आकाशे पुल बनाउने भने पनि एउटा पनि आकाशे पुल नबनेको भन्दै विपक्षी दलले आलोचना गर्दै आएको छ ।

महानगरमा बाँकी रहेको रिङरोडको कामलाई पूर्णता दिने उल्लेख छ । सत्ता गठबन्धनको घोषणापत्रमा विपन्न समुदायका महिलालाई गर्भाधानको समयदेखि बच्चा एक वर्षको नहुँदासम्म परिचयपत्रको आधारमा एक हजार मासिक भत्ता दिने, फोहोर स्मार्ट व्यवस्थापन कार्यका लागि गुरुयोजना बनाएर पञ्चवर्षीय रुपमा काम अगाडि बढाउने, शतप्रति नागरिकलाई शुद्ध पिउने पानी खुवाउने, प्रत्येक घरलाई विद्युत चुल्होमा ८० प्रतिशत अनुदान दिने उल्लेख छ ।

घोषणापत्रमा आमसञ्चार प्रतिष्ठान भरतपुरमा खोल्ने, केही महिनामा नै इलेष्ट्रिक बस सञ्चालन गर्ने, ६० वर्ष कटेका दलित समुदायलाई निःशुल्क उपचार गर्ने, जेष्ठ नागरिकलाई वर्षमा एकपटक देश भित्रका विभिन्न ठाँउमा धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउने उल्लेख गरिएको छ ।

गोन्द्राङ, पोखरा बसपार्क, ध्रुव, गोलाघाट, रातापुर, गंगानगर लगायतका क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशन बनाउने कुरा घोषणापत्रमा समेटिएका छन् । महानगरका ३० ठाँउलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने योजना कार्यक्रममा समेटिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले पाँच वर्षको अवधिमा समय अभाव भएका कारणले विकासलाई पूर्णता दिन नसकिएकोले थप पाँच वर्ष आफ्नो नेतृत्व महानगरमा आवश्यक भएको दावी गरिन् ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल उपसभापति राजीव न्यौपाने उपस्थित भए पनि कांग्रेसका पूर्वसभापति तथा केन्द्रीय सदस्यहरु भने सहभागी भएनन् ।

भरतपुरको मेयर माओवादी केन्द्रलाई दिएको भनेर कांग्रेसका नेता जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन् ।

प्रतिबद्धतापत्रको पूर्णपाठः

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?