+
+

शेखरका लागि प्रतिष्ठा बनेको विराटनगर महानगर

डा. शेखरको विराटनगर केन्द्रित गतिविधि र माओवादी केन्द्रका नेताहरुसँगको वार्तालापमा दिएको प्राथमिकतालाई चासोका साथ हेरिएको छ । किनभने गठबन्धन नगरी कांग्रेस एकल रुपमा स्थानीय चुनावमा होमिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिने मध्ये डा. शेखर मुख्य नेता हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख २० गते २१:४१
विराटनगरका मेयरका उम्मेदवार नागेश कोइरालासँग डा. शेखर कोइराला ।

२० वैशाख, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तिमसम्म पनि नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिन तयार थिएनन् । डा. शेखर कोइरालाको चर्को दबावका बाबुजद उनले निर्णय गरेनन्, बरु पार्टीमा उनको टिमबाट चुनाव जितेर आएका महामन्त्री गगनकुमार थापा लगायतका पदाधिकारीलाई फकाउने खोजे ।

डा. शेखर पनि के कम ! लामो समय देउवासँग बनाएको दुरी बिर्सिएर बालुवाटारमा ‘धर्ना’ कसे । लगातार चार दिन शेखर विहान-साँझ बालुवाटार धाए । काठमाडौंको मेयरको टिकट प्रकाशमान सिंहलाई दिएपछि विराटनगरको शेखरको कुन मापदण्डका आधारमा नदिने भनेर पदाधिकारीले पनि भनेपछि उम्मेदवारी दर्ताको अन्तिम दिन नागेशले मेयरको टिकट पाए ।

नेताहरुका अनुसार मेयर नागेशलाई दिलाउन शेखरलाई जति गाह्रो भयो, चुनाव जिताउन त्यो कम गाह्रो छ । त्यसलाई राम्ररी बुझेका शेखर पनि केही दिनदेखि ढुक्कले विराटनगर केन्द्रित भएका छन् ।

सोमबार मात्रै उनले नेकपा माओवादी केन्द्रका नेताहरूसँग भेटवार्ता गरे । आफ्नै पहल कदमीमा भएको वार्तामा डा. शेखरले विराटनगर महानगरमा गठबन्धनबाट मेयरका उम्मेदवार रहेका नागेशलाई जिताउन सहयोग मागेका छन् । ‘गठबन्धनलाई जिताउने विषयमा छलफल भयो’ माओवादी केन्द्र विराटनगरका अध्यक्ष नवीन पौडेल भन्छन्, ‘हामीले वातावरण मिलाउनुहोस् भन्यौं ।’

डा. शेखरको विराटनगर केन्द्रित गतिविधि र माओवादी केन्द्रका नेताहरुसँगको वार्तालापमा दिएको प्राथमिकतालाई चासोका साथ हेरिएको छ । किनभने गठबन्धन नगरी कांग्रेस एकल रुपमा स्थानीय चुनावमा होमिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिने मध्ये डा. शेखर मुख्य नेता हुन् । तर आफ्नै अभिव्यक्तिसँग मेल नहुने गतिविधिमा डा. शेखर सक्रिय हुनुको कारण भने विराटनगर महानगरपालिकामा मेयर पदका उम्मेदवार आफू निकट हुनु हो ।

उनका निजी सचिव दिनेश थपलिया चुनावसम्म डा. शेखर विराटनगर बस्ने कार्यक्रम रहेको बताउँछन् । ‘कार्यक्रम पर्‍यो भने १–२ दिन गएर (राजधानी काठमाडौं), विराटनगर फर्कनुहुन्छ । हिजोआज विराटनगर केन्द्रित हुनुहुन्छ’, थपलिया भन्छन् ।

जबकी डा. मिनेन्द्र रिजाल, डिला संग्रौला, अमृत अर्याल लगायत कांग्रेस नेता विराटनगरकै हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समेत साथ छ । ०७४ को चुनावी नतिजा हेर्दा गठबन्धनका उम्मेदवार नागेशलाई मेयर बन्न उति धेरै मेहनत आवश्यक देखिन्न । त्यसबेला पनि चुनाव जितेको कांग्रेसलाई यसपटक गठबन्धनको मत थपिँदैछ ।

तर पार्टीभित्र देखिएको असन्तुष्टि र गठबन्धनका दलहरुमा भएको विद्रोहले डा. शेखर ढुक्क देखिदैनन् ।

असन्तुष्टसँग आशंका

गठबन्धनका दलहरुको मत कांग्रेस उम्मेदवारले पाउने अवस्थामा पनि डा. शेखरले दौडधुप बढाउनुपर्ने परिस्थिति भने टिकट वितरणकै क्रममा देखिएको थियो । विराटनगर महानगर कांग्रेसको भागमा परेपछि ९ वैशाखबाट टिकट वितरणबारे भएको छलफलमा पार्टी केन्द्रका तीन समूहले आफू निकट नेतालाई टिकट दिन अडान लिएका थिए ।

संस्थापनबाट डा. डिला संग्रौला र अमृत अर्याल मेयरका आकांक्षी थिए । नागेशलाई उम्मेदवार बनाउन डा. शेखरले अडान लिए । वर्तमान मेयर भीम पराजुलीलाई फेरि उम्मेदवार बनाउनुपर्ने पक्षमा कृष्णप्रसाद सिटौला उभिएका थिए । शीर्ष नेताहरुले अडान नछाडे पछि मनोनयन दर्ता गर्नुपर्ने अन्तिम दिन (१२ वैशाखमा) मात्रै उम्मेदवारबारे निर्णय भयो ।

‘काठमाडौंको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने आधार बनाइयो’ डा. शेखरले शीर्ष नेताहरुको बैठकमा राखेको अडान उधृत गर्दै एक नेता भन्छन् । त्यही नजीरका आधारमा डा. शेखरले विराटनगर आफूले भनेको व्यक्तिले टिकट पाउनुपर्ने अडान लिएका थिए ।

डा. शेखरले लिएको अडान बमोजिम नै सभापति शेरबहादुर देउवा विराटनगर महानगरपालिकाको उम्मेदवार नागेशलाई बनाउन तयार भए । तर पार्टी केन्द्रमा सभापति देउवा र सिटौला सहमत भएपनि विराटनगरमा नेताहरूबीच एकजुट हुन सकेका छैनन् ।

एमालेको देशब्यापी माहोल हुँदा पनि मेयर जितेका पराजुलीले टिकट नपाएपछि तत्कालै पदबाट राजीनामा दिएका छन् । पार्टी उम्मेदवारको पक्षमा सक्रिय हुनुपर्ने भन्दै पराजुलीले पदबाट राजीनामा दिएका थिए । तर राजीनामा पत्रको भाषा जसरी पराजुली चुनावी गतिविधिमा सक्रिय भएका छैनन् ।

‘भर्खरै राजीनामा दिएका कारणले होला उहाँ (भीम पराजुली) भोट माग्न हिँड्नुभएको छैन । अब हिँड्नुहुन्छ होला नि’, डा. शेखर निकट एक नेता भन्छन् । कार्यकाल सकिनै लागेको पदबाट राजीनामा दिएका पराजुली चुनावी कार्यक्रममा ननिस्कनुको कारण भने टिकट नपाएको असन्तुष्टि नै हो ।

मेयरको आकांक्षी अर्याल पनि पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रमै अनुपस्थित रहे । आइतबार विमलेन्द्र निधि विराटनगर पुगेपछि मात्रै अर्याल चुनावी कार्यक्रममा देखिए । विराटनगर–१८ को घरदैलो अभियानमा अर्याल निधिसहितको टोलीमा निस्किएका थिए ।

जुनियर नेता नागेशले पार्टीभित्रको गुटकै आधारमा टिकट पाएपनि असन्तुष्ट डा. संग्रौला चुनावी अभियानमा छिन् । डा. शेखर निकट नेताहरू, टिकट नपाएको रिसमा भोट माग्न नहिँडेपनि असहयोग नहुने बताउँछन् । तर टिकट वितरणकै कारण संस्थापन र सिटौला निकटका नेताहरू खुलेर चुनावी अभियानमा सक्रिय देखिएका छैनन् ।

‘नेपाली कांग्रेस एउटा भएपनि त्यहाँभित्र तीनवटा पार्टी (गुट) छ’ राजनीतिक विश्लेषक शान्तिराम भण्डारी भन्छन्, ‘दुई वटा पक्ष इनएक्टिभ जस्तो देखिन्छ ।’ कांग्रेस नगर सभापति दीपक चापागाईं भने पार्टी एक ढिक्का भएर चुनावी अभियानमा होमिएको बताउँछन् । उनका अनुसार, विस्तारै संस्थापन पक्ष पनि घरदैलो अभियानमा जोडिने क्रम बढेको छ ।

लालटिनको त्रास

आफ्नो पार्टीको गढ मानिने विराटनगरमा कांग्रेस उम्मेदवार नागेशलाई गठबन्धनभित्रको विद्रोहले पनि झस्काएको छ । अझ स्वतन्त्र उम्मेदवारी दिएका मेयर, उपमेयर, वडाध्यक्ष सहित सदस्यहरुले एउटै चिह्न लालटिन लिनुलाई शंकाका रुपमा कांग्रेस नेताहरुले हेरेका छन् । लालटिन चिह्न लिने स्वतन्त्र उम्मेदवार विराटनगरमा २१ जना छन् ।

जसको नेतृत्व भने जसपा छोडेका उमेश यादवले गरेका छन् । मेयरका उम्मेदवार यादवसँग मिल्दो चुनाव चिह्न लिएर नमिता न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएकी छन् । उनले माओवादी केन्द्र छोडेर उम्मेदवारी दिएकी हुन् । ०७४ को चुनावमा माओवादी केन्द्र र जसपाबीच तालमेल हुँदा यादव मेयर र न्यौपान उपमेयरका उम्मेदवारी थिए ।

कांग्रेसका पराजुली मेयर जित्दा यादव तेस्रो र इन्दिरा कार्की उपमेयरमा विजयी हुँदा न्यौपानेले दोस्रो मत ल्याएकी थिइन् । यसपटक गठबन्धन हुँदा दुवैले टिकट पाएनन् । गठबन्धनबाट उपमेयरमा जसपाबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार छन् ।

‘लालटिन चुनाव चिह्न लिनेहरु तेस्रो शक्तिको रुपमा देखिदैछन्’ विश्लेषक भण्डारी भन्छन्, ‘लालटिन उम्मेदवारहरुले गठबन्धनलाई प्रभाव पार्न सक्छ ।’ अर्थात् लालटिन चिह्न लिनेहरुको अघोषित तालमेलका कारण गठबन्धनका दलहरुबाट आउने मत प्रभावित हुन सक्ने देखिन्छ ।

तर नागेश भने आफ्नो प्यानलले जै जित्ने दावी गर्छन् । ‘हामी पार्टीका इमान्दार सिपाही हौं, पार्टीको निर्देशन अनुसार गठबन्धनमा भोट हाल्छौं,’ उनी भन्छन्,‘विराटनगरबासीको विश्वास हामीसँग छ, जित्छौं ।’

०७४ को चुनावमा एमालेका उम्मेदवार विनोद ढकालले १७ हजार ३३१ मत ल्याउँदा २३ हजार ३१ मतसहित कांग्रेसका पराजुलीले मेयर जितेका थिए । तत्कालीन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए ।

वडाध्यक्षहरुले ल्याएको मत जोड्दा भने कांग्रेसले १६ हजार २८०, एमालेले १६ हजार १२८, ७ हजार ६ सय, संघीय समाजवादी फोरमले १० हजार ८ सय र फोरम लोकतान्त्रिकले ४ हजार २९९ मत पाएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?