+
+

राहुल गान्धी ठमेलको नाइट क्लबमा, तरंग भारतको राजनीतिमा

दिपेश शाही दिपेश शाही
२०७९ वैशाख २१ गते ८:१४

२१ वैशाख, काठमाडौं । अचानक काठमाडौं आइपुगेका भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धी ठमेलको नाइट क्लबमा पुगेको विषयले भारतमा तरंग पैदा गरेको छ । साथीको विवाहमा सहभागी हुन सोमबार नेपाल आइपुगेका गान्धी सोही रात ठमेलको एउटा नाइट क्लब पुगेको विषयको चर्चा भारतमा भइरहेको हो । यता नेपालमा भने यो गान्धीको निजी भ्रमण भएको भन्दै कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन ।

भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यम र राजनीतिक वृत्तले भने मंगलबार दिनभर गान्धीको नाइट क्लबमा रमाइरहेको भिडियो फुटेज शेयर गर्दै विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । विशेष गरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र गान्धीको पार्टी भारतीय राष्ट्रिय कांग्रेसका समर्थक र नेताहरूबीच यस विषयलाई लिएर तीखो सवाल-जवाफ चलिरहेको छ ।

गान्धी किन आए नेपाल ?

गान्धी सोमबार साँझ करिब पौने ५ बजे भिस्तरा एयरलाइन्सको जहाजबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । सुरक्षा स्रोतका अनुसार विमानस्थलबाट गान्धी सिधै आफ्ना लागि बुक गरिएको होटल मेरियट नक्शाल पुगेका थिए । उनी अहिले पनि सोही होटलमा बसिरहेका छन् । उनी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् ।

सुम्निमा म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासकी छोरी हुन् । उनले लामो समय अमेरिकी समाचार संस्था सीएनएनमा काम गरेकी थिइन् । उनको लिंकदेन प्रोफाइलमा उल्लेख भएअनुसार सन् २०१० देखि २०१७ सम्म उनले सीएनएनका लागि दिल्लीबाट रिपोर्टिङ गरेकी थिइन् । त्यसअघि र पछि पनि उनले सीएनएनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको प्रोफाइलबाट खुल्छ । उनी हाल लुम्बिनी संग्रहालयकी संस्थापक तथा कार्यकारी निर्देशक रहेकी छन् । दिल्लीमा रहेर पत्रकारिता गर्ने क्रममा गान्धी र उदासबीच मित्रता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सुम्निमाका बुवा पूर्वराजदूत उदासले अनलाइनखबरसँग गान्धीसहित अन्य मुलुकबाट पनि पाहुनाहरू आएका र बिहीबार फर्किने तय भएको बताए । ‘छोरीको विवाह कार्यक्रम चलिरहेको छ । विभिन्न मुलुकबाट गरेर २५ जना आउनु भएको छ,’ उदासले भने, ‘उहाँहरू मेरी छोरीको पाहुना हुनुहुन्छ, ५ तारिखमा र्फकनु हुन्छ ।’ अहिलेसम्म गान्धीको भ्रमणबारे प्रतिक्रिया दिइरहेको उदास परिवारले उनका अन्य कार्यसूचीका विषयमा भने जानकारी दिएको छैन ।

निजी भ्रमण, सम्बन्धित निकाय बेखबर

गान्धी नेपाल भ्रमणमा आएको विषयमा सम्बन्धित निकायलाई औपचारिक जानकारी भने छैन ।

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासले उनको निजी भ्रमण भएकाले यस विषयमा औपचारिक जानकारी नभएको बताएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यो गान्धीको निजी भ्रमण भएकाले मन्त्रालयसँग समन्वय नभएको बताइन् । ‘यो उहाँको निजी भ्रमण हो । परराष्ट्रको समन्वयमा भएको होइन,’ प्रवक्ता लम्सालले भनिन्, ‘निजी भ्रमणको विषय भएकाले औपचारिक जानकारी छैन ।’ उनले सरकारी तहमा भेटघाटको कार्यक्रमबारे समेत मन्त्रालयलाई जानकारी नरहेको बताइन् ।

त्यस्तै नेपालस्थित भारतीय राजदूतावासले पनि उनको भ्रमणका विषयमा जानकारी नभएको बताएको छ । दूतावासका प्रथम सचिव नवीन कुमारले यो गान्धीको नितान्त व्यक्तिगत भ्रमण भएको बताए । ‘यो उहाँको नितान्त व्यक्तिगत भ्रमण हो । दूतावाससँग कुनै सम्बन्ध छैन,’ उनले भने ।

‘जेड प्लस’ सुरक्षामा रहन्छन् गान्धी

भारतको प्रमुख विपक्षी दल राष्ट्रिय कांग्रेसका नेतासमेत रहेका गान्धीको सुरक्षाको विषयमा विशेष चासो रहन्छ । यो उनको निजी भ्रमण भएका कारण पनि औपचारिक जानकारी नगराएका हुन सक्छन् । तर, भारतमा ‘जेड प्लस’ सुरक्षा घेरामा रहने गान्धी नेपाल आउँदा जानकारी विना नै आउनुलाई असामान्य रूपमा हेरिएको छ । साथै, उनले नेपालमा आफूलाई त्यति धेरै असुरक्षित महसुस नगरेका कारण पनि सुरक्षा व्यवस्थालाई महत्व नदिएको हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय टेलिभिजन एनडिटीभीको अनलाइन संस्करणमा प्रकाशित सामग्रीका अनुसार सन् २०१९ यता गान्धी ‘जेड प्लस’ सुरक्षा व्यवस्थामा रहने गरेका छन् । त्यसअघि गान्धी परिवारका लागि स्पेसन प्रोटेक्सन ग्रुप -एसपीजी) सुरक्षा व्यवस्था हुन्थ्यो । जसमा ३ हजारभन्दा बढी सुरक्षाकर्मीहरू हुन्थे । जुन अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मात्रै राख्ने गरिएको छ । एनडिटीभीका अनुसार ‘जेड प्लस’ सुरक्षा घेरामा भने सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सीआरपीएफ) का १ सय जना सुरक्षाकर्मी रहन्छन् ।

तर, नेपाल प्रहरीलाई उनी कुन-कुन र कति जनाको टिमसहित आएका छन् भन्ने समेत यकिन छैन । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले गान्धीको भ्रमण व्यक्तिगत रहेको भन्ने मात्रै जानकारीमा रहेको बताए । ‘उहाँको व्यक्तिगत भ्रमण हो भन्ने जानकारी हामीलाई छ । त्यसबाहेक थप जानकारी छैन,’ प्रवक्ता केसीले भने, ‘त्यहीअनुसार हामीले आवश्यक सुरक्षा प्रवन्ध गरेका छौं ।’

गान्धी भने सोमबार राति ठमेलस्थित एक नाइट क्लबमा पुगेर रमाइरहेको भिडियो र तस्वीर सार्वजनिक भएका छन् । क्लबले पनि उनी राति पुगेको पुष्टि गरेको छ । विनासुरक्षाकर्मी गान्धी नाइट क्लबमा पुगेको खबर भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । उनी पुगेको क्लब एलओडीका अनुसार गान्धी २५ जनाको टोलीसहित पुगेका थिए । मध्यरातमा ठमेल पुगेर डेढ घण्टा त्यहाँ बिताएका गान्धीको सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्डले मिलाएका थिए ।

क्लबको भीआईपी सेक्सनमा उनले ‘सफ्ट डि्रंक’ पिएको खुलेको छ । सार्वजनिक भएको भिडियोमा क्लबभित्रको लाइट र चमकधमकमा उनी केही समय हल्लिएको देखिन्छ ।

भाजपा र कांग्रेसबीच सवालजवाफ

भारतीय सत्तारुढ दल भाजपाले भने गान्धी नेपालको नाइट क्लबमा पुगेको भिडियोलाई लिएर व्यापक आलोचनाको विषय बनाएको छ । भाजपाका विभिन्न तहका नेता र मन्त्रीहरूले नै सामाजिक सञ्जालमा चर्को टिप्पणी गरिरहेका छन् ।

भाजपाको सूचना प्रविधि विभागका इञ्चार्ज अमित मालवीयले राहुल क्लबमा उभिएको भिडियो क्लिप राख्दै टि्वटरमा लेखेका छन्, ‘मुम्बईमा हमला भइरहेका बेला राहुल गान्धी नाइट क्लबमा थिए । अहिले उनको पार्टी संकटमा भएका बेलामा पनि उनी नाइट क्लबमै छन् । उनी लगनशील छन् ।’ उनले कांग्रेसले राष्ट्रपतिजस्तै प्रधानमन्त्रीको उम्मेदवार पनि आउटसोर्सिङ गर्नुपर्ने अवस्था रहेको व्यंग्य गरेका छन् ।

भाजपा प्रवक्ता शहजाद पूनावालाले ‘राहुल गान्धीले के गरिरहेका छन्, भन्ने उनको निजी मामिला भएपनि राजस्थानको जोधपुरमा भइरहेको हिंसामा चिन्ता व्यक्त गर्नुको साटो नेपालको नाइटक्लबमा पार्टी गरिरहेको’ भन्दै आलोचना गरेका छन् ।

केन्द्रीय कानुन न्यायमन्त्री किरेन रिजिजुले राहुल गान्धीको भिडियो शेयर गर्दै ‘अरूलाई उपदेश दिन सजिलो हुने तर, आफूले कार्यान्वयन गर्न नपर्ने ?’ भन्दै प्रश्न गरेका छन् । भाजपाका नेता कपिल मिश्राले त भिडियो क्लिपमा गान्धीसँग देखिएकी युवतीलाई लक्षित गर्दै चिनियाँ एजेन्टको दबावमा भारतको सेनाविरुद्ध ट्वीट गर्ने गरेको आरोप लगाएका छन् ।

भारतीय कांग्रेसले भाजपाले आलोचना गरेपछि गान्धीको प्रतिरक्षा गर्दै नाइट क्लब गएको विषयमा अनावश्यक विवाद सिर्जना गरेको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता रणदीप सुर्जेवालाले गान्धी नेपालमा साथीको विवाहमा गएको भन्दै त्यसलाई मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसँग केक काटेको भन्दा कम गम्भीर भएको जवाफ दिए । ‘साथीभाइ, परिवार हुनु हाम्रो संस्कृतिको हिस्सा हो । विवाहमा जानु कुनै अपराध होइन,’ सुर्जेवालाले नियमित पत्रकार सम्मेलनमा भने, ‘आजबाट भाजपाले विवाहमा उपस्थिति हुनुलाई गैरकानुनी बनाउन सक्छ । त्यसो भए अब विवाहमा जाँदा पनि भाजपासँग सोधेर जानुपर्ने हो ?’ उनले भाजपा नेताहरूमाथि व्यंग्य गर्दै साथी बनाउनु र उनीहरूको विवाहमा सामेल हुनु अपराध हुने भए पूर्वजानकारी गराउनसमेत भाजपालाई अनुरोध गरे ।

पत्रकार सम्मेलनमा सुर्जेवालाले उक्त घटना सन् २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसँग केक काट्न पुग्नुभन्दा कम गम्भीर भएको बताए ।

यसैलाई विषयवस्तु बनाएर भारतीय सञ्चार माध्यमहरूले पनि मंगलबार दिनभर अनेक सामग्री प्रकाशन गरे । केही अनलाइनहरूले सुम्निमा उदासका बारेमा समेत भारतविरोधी प्रोपागान्डिस्ट भनेर सामग्री बनाएका थिए । आजतकलगायत टेलिभिजन च्यानलहरूले पनि गान्धी नेपालको नाइट क्लब गएको विषयलाई प्राथमिकता दिइरहेका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?