+
+

मतपत्र छपाइले पाठ्यपुस्तक छाप्न अझै एक महिना लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १९:५४
फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्ने कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक छपाइ पूरा गर्न अझै एक महिना लाग्ने भएको छ ।

१ जेठदेखि २०७९ को शैक्षिक सत्रको पढाइ सुरु गर्ने तयारी भएपनि अझै कक्षा ५, ६ र ८ को पाठ्यपुस्तकको छपाइ पूरा गर्न थप एक महिना लाग्ने जनक शिक्षा सामग्रीले जानकारी दिएको छ ।

कागजको अभावका कारण कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक छपाइ पूरा गर्न ढिलाइ भएको केन्द्रको भनाइ छ । अरु कक्षाको भने सबै पुस्तकको छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

झाले भने, ‘कागज समयमाै आइनपुग्दा ती वटा कक्षाका पाठ्यपुस्तक छपाइ पूरा गर्न बाँकी छ । तर अब छिट्टै सकिन्छ । अरु कक्षाको सबै सकिएको छ ।’ अबको एक महिनाभित्र सबै छपाइ सकिने झाको भनाइ छ ।

मतपत्र छपाइको जिम्मेवारी पाएको केन्द्रले त्यसले पनि पुस्तक छपाइमा केही प्रभाव पारेको झा बताउँछन् । उनले भने, ‘अब भोलिसम्म मतपत्रको सम्पूर्ण काम सकिन्छ । पर्सिदेखि पुस्तक छपाइमा साथीहरु लाग्नुहुन्छ । मतपत्र छपाइको कामले पुस्तक छपाइमा थोरै प्रभाव परेको छ ।’

कक्षा ५ र ८ मा भने आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू हुने भएकोले छाप्दै वितरण गर्ने र अपुग भएका पुस्तक मात्र छाप्ने गरी काम भइरहेको उनको भनाइ छ । जनक शिक्षाको ९ वितरण केन्द्र र १२ सय बिक्रेता रहेकोले समयमा नै बालबालिकाको हातमा पुस्तक पुग्ने झाको दाबी छ ।

२०७५ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ देखि १२ सम्मका विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने निर्णय गरेको थियो । निजी प्रकाशन गृह तथा वितरकले कक्षा १ देखि ४ कक्षाको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने र कक्षा ४ देखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने निर्णय भएको थियो । तर यो वर्ष भने निजी प्रकाशन गृह तथा वितरकले कक्षा १ देखि ३ सम्मको र जनक शिक्षाले ४ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइ गरेको छ ।

नयाँ पाठ्यक्रम लागू

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू हुँदैछ ।

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो । सोही अनुसार पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम निर्माण गरी वितरण केन्द्रमा पुर्‍याइसकेको बताएको छ ।

शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्ने छन् । कक्षा ५ को शैक्षिक सत्र २०७९ को विभिन्न २८ वटा विद्यालयमा परीक्षण पढाइका लागि पाठ्यपुस्तक तयार भएको केन्द्रकी पाठ्यक्रम अधिकृत चिना निरौलाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?