+
+

टी-२० सिरिजमा बराबरीपछि नेपालको ध्यान एकदिवसीयमा

नमिता दाहाल नमिता दाहाल
२०७९ वैशाख २१ गते २१:०८

२० वैशाख, काठमाडौं । जिम्बाब्बे ए टिमसँगको टी-२० सिरिज बराबरीमा सकेको नेपालले अब यही टिमसँगको एक दिवसीय सिरिजमा ध्यान केन्द्रित गरेको छ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बे ए टिमलाई नेपालले ८ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको थियो ।

मुख्य प्रशिक्षक पुबुदु दसानायकेले एक दिवसीय सिरिजमा पनि राम्रो गर्नेमा आशावादी रहेको बताए ।

टेष्ट मान्यता प्राप्त टोली जिम्बाबेको ‘ए’ टोली भए पनि उनीहरुले एकदिवसीय सिरिजको लामो अभ्यास गरिरहेकाले नेपाललाई कडा चुनौती हुने प्रशिक्षक दसानायकेले बताएका हुन् ।

उनले भने, ‘हामीले राम्रो खेल्यौं यो टिमसँग १-१  बराबरी खेल्नु पनि राम्रो कुरा हो ।’

नेपालले टी-२० सिरिजमा योजनाको ८० प्रतिशत सफल भएको भन्दै प्रशिक्षक दसानायकेले केही गल्तीका कारण पहिलो खेल हारेको बताए ।

नेपालमा रहेको जिम्बाब्बे ए टिमसँग नेपालले तीन टी-२० खेल खेल्ने तय थियो । पहिलो खेलमा नेपालले हार ब्यहोर्‍यो भने अन्तिम खेल बुधाबार ८ विकेटले जित हात पार्‍यो । दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो ।

‘यो टिमसँग एक बराबरी खेल्नु राम्रो हो । अनुभवी टिमसँग खेल्दा पनि नेपालले राम्रो गर्‍यो’ प्रशिक्षक दसानायकेले भने ।

एकदिवसीयमा लामो पारी खेल्नुपर्ने भएकाले नेपाली ब्याटरहरु निकै सम्हालिएर खेल्न पर्ने प्रशिक्षक दसानायकेले बताए । ‘राम्रो टिमसँग पनि हामीले गर्न सक्छौं भन्ने उदाहरण आज हामीले देखाएका छौं’ उनले भने ।

फास्ट बलरको उत्कृष्ट प्रदर्शन

बुधबारको खेलमा नेपालले जिम्बाब्बेलाई १३६ रनमा रोक्नु राम्रो भएको कप्तान सन्दीप लामिछानेले बताए । ‘हामीले प्लान गरेको अनुसार नै भयो’ उनले भने, ‘आजको खेलमा फास्ट बलरहरुले राम्रो गरे । पावरप्लेमा जसरी प्रेसर दिएर खेले त्यो साँच्चिकै सह्राहनीय थियो ।’

पहिलो खेलमा नेपालको कमजोर बलिङका कारण पराजित भएको कप्तान सन्दीपले बताए । बुधबारको खेलमा नेपालले पावरप्लेमा दुई विकेट लिएको थियो । नेपालका लागि तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले विकेट लिए ।

त्यसलगत्तै चौथो ओभरमा करण केसीले अर्को महत्त्वपूर्ण विकेट लिएका थिए । त्यसपछि १० औं ओभरसम्म संयमित भएर खेलेको जिम्बाबे ए को तेस्रो विकेट जाँदा भने रन जम्मा ७२ रहेको थियो ।

आसिफको लय

प्रशिक्षक पुबुदु दशनायकेले ओपनर विकेटकिपर ब्याटर आसिफले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा गरे ।

टी-२० सिरिजको अन्तिम खेलमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालको जितमा ओपनर विकेटकिपर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्का सर्वाधिक ८७ रनमा अविजित रहे ।

‘आसिफ हाम्रो लागि एउटा उत्कृष्ट खेलाडी हुन् । तीन महिनायता हाम्रा ओपनर ब्याटरहरुले क्षमता भएर पनि रन बनाउन सकेका थिएनन् । आज उनले उत्कृष्ट पारी खेले’ उनले भने ।

आशिफको फराकिलो पारीले खेल नेपालको पक्षमा पार्न निकै मद्दत गरेको कप्तान सन्दीपले बताए । ‘

एकदिवसीयमा नयाँलाई अवसर

नेपालले एकदिवसीय सिरिजका लागि पनि टिम घोषणा गरिसकेको छ । जसमा अहिलेकै खेलाडी दोहोरिने सम्भावना रहेको कप्तान सन्दीप लामिछानेले जानकारी दिए । ‘हालसम्म कुनै परिवर्तनको सम्भावना छैन’ उनले भने ।

त्यस्तै टी-२० टिममा परेर पनि बेन्चमा सीमित भएका बलरद्वय सागर ढकाल र विवेक यादवले एकदिवसीय सिरिजमा खेल्ने प्रशिक्षक दशनायकेले बताए । ‘सागर अहिले हाम्रो लागि एक मात्र बायाँ हाते बलर हुन् । उनलाई लामो फर्म्याटका लागि राखिएको हो । उनले एक दिवसीयमा मौका पाउनेछन्’ उनले भने।

त्यस्तै, अर्का बलर विकेक यादवले पनि एकदिवसीय खेल्ने प्रशिक्षक दसानायकेले जानकारी दिए । ‘विकेक राम्रो बलर हुन् उनले एकदिवसीयमा पक्कै मौका पाउनेछन्’ उनले भने ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?