+
+

एनभीए क्लब लिग भलिबलः पुलिसकाे मिश्रित नतिजा, आर्मीलाई पछ्याउँदै हेल्प नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १८:१३

२२ बैशाख, काठमाडौं । छैटौं आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बिहीबार नेपाल पुलिस क्लबले मिश्रित प्रदर्शन गरेको छ ।

महिलामा पुलिसले लगातार तीन खेल जित्दै अपराजित यात्रा कायम राख्दा पुरुषमा भने अपराजित यात्रा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको महिलातर्फको खेलमा पुलिसले न्यू डायमण्डलाई २५–११, २५–१७, २५–१५ काे सेटमा पराजित गरेको हो । पुलिसले आफूले खेलेको तीन खेलमा शतप्रतिशत हात पारेको छ । पुलिसले लगातार तीन जितबाट ९ अंक जोडेको छ । पुलिसले लिगको अन्तिम खेलमा शनिवार त्रिभुवन बर्मी क्लबसँग खेल्नेछ ।

यस्तै बिहीबारै भएको महिलाको अर्को खेलमा विभागीय टोली एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले हरायो । दोस्रो जितपछि एपीएफले ६ अंक जोडेको छ । एपीएफले अन्तिम खेल शुक्रबार न्यु डायमण्डसँग खेल्नेछ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको भलिबल क्लब लिगमा पुरुषतर्फ भने पुलिस टिम टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबसँग सोझो सेटमा पराजित भएको छ ।

हेल्प नेपालले पुलिसलाई २५–२३, २५–२३, २५–२० ले हरायो । लगातार चार खेल जित्दै अपराजित यात्रा कयाम राखेको हेल्प नेपालले ११ अंक जोडेको छ । हेल्प नेपाल अंकतालिकामा दोस्रो स्थानमा उक्लँदै उपाधि होडमा कायम छ । चार खेल जित्दै अपराजित त्रिभुवन आर्मी क्लब १२ अंकसहित शीर्ष स्थानमा छ । पुलिसको चार खेलबाट ९ अंक छ ।

अब शुक्रबार हेल्प नेपालले गलकोट स्पोर्ट्स क्लबसँग खेल्नेछ भने आर्मीले पुलिसससँग खेल्नेछ । सम्भवतः निर्णायक हुने आर्मी र हेल्प नेपालबीचको खेल शनिवार हुनेछ ।

यस्तै बिहीबारै भएको पुरुषतर्फ अर्को खेलमा गलकोट स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई ३–२ सेटमा पराजित गरेको छ । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । जितपछि गलकोटले २ अंक जोड्दा ढोरपाटनकाे १ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?