+
+

नवौं राष्ट्रिय खेलकुद : एक महिना बाँकी, निर्देशिका न बजेट

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ वैशाख २२ गते २०:५२

२२ वैशाख, काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण सुरु हुन एक महिना बाँकी छ । चैत ३० गतेको मन्त्रिपरिषद बैठकले जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

अन्तिम समयमा हतारमा काम गर्ने परम्पराले यसपपटक पनि निरन्तरता पाउँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई अहिले नवौं खेलकुद प्रतियोगिता आयोजनाको चटारो छ ।

वैशाख ९ गतेको राखेप वोर्ड वैठकले ३६ आधिकारिक र दुई प्रदर्शनी खेल समावेश गर्ने निर्णय गर्नुबाहेक नवौं राष्ट्रिय खेलकुदका सन्दर्भमा उल्लेखनीय प्रगति भएको छैन । राखेप सदस्यसचिव टंकलाल घिसिङले सबै प्रक्रियाहरु अगाडि बढिरहेको तर परिणाम देखिन बाँकी रहेको बताए ।

प्रतियोगिता आयोजना र सञ्चालनसम्बन्धी निर्देशिका अहिलेसम्म जारी भएको छैन । सदस्यसचिव घिसिङक अनुसार राखेपले अघिल्लो साता नै निर्देशिकाको मस्यौदा युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । ‘मैले यो प्रक्रिया छिट्टै टुंगिन्छ भन्ने सोचेको थिएँ । तर मन्त्रालयबाट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुगेको जानकारी पाएको छु,’ सदस्य सचिव घिसिङले अनलाइनखबरसँग भने ।

उक्त निर्देशिका अर्थ मन्त्रालयले स्वीकृत गरेपछि मन्त्रिपरिषदमा पुग्नेछ र मन्त्रिपरिषदले स्वीकृत गरेपछि कार्यान्वयनमा जानेछ ।

प्रतियोगिता सञ्चालनको मिति एक महिना बाँकी हुँदासम्म निर्देशिका जारी हुन नसक्दा प्रशासनिक र बन्दोबस्ती (खेल सामाग्री, पोशाक लगायत) खरीद प्रक्रिया सुरु भएको छैन ।

‘लजिस्टिक सामान खरीद प्रक्रिया र बजेटबारे निर्देशिकामै उल्लेख गरेका छौं । यो अवधिमा प्रचलित कानूनअनुसार खरीद प्रक्रिया सुरु गर्दा प्रतियोगिता हुन सक्दैन । तर कानूनमा आकस्मिक परिस्थितिमा कसरी गर्ने भन्नेबारे व्यवस्था भएको हुनाले निर्देशिकामा त्यो प्रस्ताव गरेका छौं,’ सदस्यसचिव घिसिङले भने, ‘फास्ट ट्र्याकबाट काम भए पनि हामी सबै आर्थिक गतिविधिलाई पारदर्शी गर्नेछौं ।’

मन्त्रिपरिषदबाट यसै साता निर्देशिका जारी हुने आशामा राखेप छ । प्रशासनिक प्रगति र बजेटको टुंगो नलागे पनि राखेप भने प्रतियोगिता समयमै आयोजना हुनेमा ढुक्क देखिन्छ । उसले आधिकारिक रुपमा बिहीबारदेखि प्रतियोगिताको दिनगन्ती सुरु गरेको छ ।

राखेपले वैशाख ४ गते सार्वजनिक सूचना जारी गरी नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेश गर्न एक साताको समय दिएको थियो । त्यसका लागि पुरस्कारको घोषणासमेत गरेको छ । सबै काम सकिएको र केही दिनमै लोगो र मस्कट सार्वजनिक गरिने सदस्यसचिव घिसिङले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुदमा ७ प्रदेश र ४ विभागीय (नेपाली सेना, एपीएफ, नेपाल प्रहरी र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहभागिता रहनेछ । प्रतियोगिताको खेलाडी छनोटका लागि सम्बन्धित प्रदेश र विभागलाई नै जिम्मा दिइएको छ । ‘सबै प्रदेश र विभागले खेलाडी छनोटका लागि सञ्चालन गरेका कार्यक्रमबारे अपडेट लिइरहेका छौं,’ घिसिङले भने ।

नवौँ राष्ट्रियमा करिब ६ हजार ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान राखेपले गरेको छ । यस्तै एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, ११४ संघ प्रतिनिधि र एक हजार निर्णायक हुनेछन् ।

नवौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की,बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन खेल समावेश छन् ।

त्यस्तै अन्य खेलमा बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक कराते, आईटीएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ र रग्बी सेभेन ए साइड छन् । गण्डकी प्रदेशको परम्परागत खेल ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?