+
+

काठमाडौं महानगर कस्तो देख्न चाहन्छन् महिला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २०:०१

२२ वैशाख, काठमाडौं । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र सार्वजनिक गरेर काठमाडौं महानगरको प्रचारमा केन्द्रित छन् । दलहरुले घोषणापत्र, संकल्प प्रस्ताव तथा प्रतिबद्धतापत्र जुनसुकै नाममा सार्वजनिक गरिएपनि ‘गर्न सकिने/नसकिने’ धेरै योजनाहरुको फेहरिस्त छ ।

आर्थिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा जानकार महिलाहरुले दलले ओझेलमा पारेका विषयमा बिहीबार चर्चा मात्रै गरेनन् । विजयी भएर आउने उम्मेदवारले काठमाडौंका लागि गर्नुपर्ने विषयमा सुझाव समेत दिए ।

दलहरुका उम्मेदवार तथा कार्यकर्ताहरु प्रचार प्रसारमा दौडधुप गरिरहँदा विभिन्न विषयका जानकार महिलाहरुले आफूले देख्न चाहेको काठमाडौंका बारेमा बहस गरेका हुन् । भविष्यको काठमाडौंप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौंको महत्व र आफुले देख्न चाहेको सुन्दर सहर कस्तो हुनेपर्नेमा उनीहरुले मेयर उम्मेदवार सिर्जना सिंहलाई अघि राखेर सुझाव दिए ।

‘दीगो विकासका लागि राजनीति’ विषयक अन्तरक्रियामा काठमाडौंको प्रदूषण, महिला माथि हुने विभेद्, खुला स्थानको अभाव, बालबालिकामैत्री हुन नसकेको वातावरणलगायतमा सहभागीले ध्यानाकर्षण गराएका थिए ।

बालबालिकाको क्षेत्रमा आवाज उठाउँदै आएकी रुपा दीक्षितले काठमाडौंमा हुर्केका बच्चाहरुको भविष्य वातावरणीय रुपमा विकराल भएको चिन्ता राखिन् । ‘काठमाडौं बालमैत्री सहर भएन । बच्चाले सफा सास कहाँ फेर्ने ?,’ उनले भनिन्, ‘काठमाडौंका जहाँ जहाँ सकिन्छ । रुख रोपौं । सडक छेउमा रोपौं । गमलामा भएपनि रोपौं । जहाँ मिल्छ, त्यहाँ रुख रौपौं ।’ सडक बढाउनका लागि पैदलयात्रु हिंड्ने ठाउँ नै नभएको प्रति उनले चिन्ता व्यक्त गरिन् । काठमाडौंमा सडक विस्तार भन्दा साइकल लेन बनाउन उनको सुझाव छ । गाडी बढ्दा प्रदूषण बढेको तथ्य राख्दै उनले भनिन्, ‘काठमाडौमा खुला ठाउँ भएन । रुख मासिँदै गए । यस्तै हो भने बच्चाहरुलाई घाँस हरियो हुन्छ भनेर किताव पढाएर बुझाउनुपर्ने हुन्छ ।’

मुलुकको राजधानीसमेत रहेको काठमाडौंमा सार्वजनिक शौचालयको दुरावस्था प्रति कुनै निकायले पनि ध्यान पुर्‍याउन नसकेकोमा सहभागी महिलाहरुले चिन्ता व्यक्त गरे । सञ्चालनमा रहेका सार्वजनिक शौचालय समेत व्यवस्थापकीय रुपमा दयनीय रहेको यथार्थ उनीहरु सुनाए ।

महिनावारी भएका महिलाहरु ती शौचालयमा पस्नै नसक्ने अवस्थामा रहेको प्रति ध्यानाकर्षण गराए । सेनेटरी प्याडको उत्पादन र प्रयोगमा महिलाहरुलाई सचेतना फैलाउँदै आएकी विपिसा भुजेलले भनिन्, ‘पिरियडको समयमा बजार निस्किंदा शौचालय नपाएर महिलाहरु समस्या पर्छ । त्यसबेला कहाँ पस्ने ?’ काठमाडौंका केही कतिपय सामुदायिक विद्यालयमा वितरण भएको सेनेटरी प्याड गुणस्तरीय नभएकोप्रति उनले ध्यानाकर्षण गराइन् ।

काठमाडौंमा मतदाता नरहेका नागरिक तथा सुकुमवासीहरु प्रति उम्मेदवारको ध्यान कम गएको प्रति सचेत बनाइएको थियो । समन्यायको आधारमा विकास हुनुपर्ने अनुसन्धानकर्ता वनिता शर्माले बताइन् । ‘गाँस, बास र कपासको समस्यामा हुने नागरिकको संख्या धेरै पाएका छौं,’ शर्माले भनिन्, ‘कोभिड-१९ अगाडि सुकुमवासी क्षेत्रमा अनुसन्धान गर्दा ६६ प्रतिशतले टन्न खान नपाएको रिपोर्टले देखाएको थियो ।’

बच्चाहरुमा पोषणयुक्त खानाका लागि अभिप्ररित गर्नुपर्ने उनले सुझाइन् । बच्चाकालमा उचित पोषण भएन भएन उमेर बढ्दै गएपछि जति नै पौष्टिकका लागि खर्च गरेपनि त्यसको प्रभावकारिता नहुने उनले औल्याइन् । उनले भनिन्, ‘योजनाहरु कागजमा मात्रै नहोस् ।’

पशुअधिकारकर्मी सृष्टि सिंह श्रेष्ठले काठमाडौंको जनप्रतिनिधिले पशु अधिकारका पक्षमा पनि काम गर्नुपर्ने सुझाइन् । भुस्याहा कुकुर, सडकमा हिंड्ने चौपाया, बाँदर लगायतको उचित व्यवस्थापन र अधिकारमा ध्यान दिन उनले सुझाव दिइन् । ‘पशु कल्याण बोर्डको गठन गर्नुपर्छ । पशुहरुलाई व्यवस्थित काठमाडौं भएको देख्न पाइयोस्’ श्रेष्ठले भनिन् ।

विश्व सम्पदाको सूचीमा रहेको काठमाडौंको गरिमा घट्दै गएको प्रति सहभागीहरुले ध्यानाकर्षण गराएका थिए । पर्यटकीय सवारी साधनको लागि बसपार्क नै नरहेको प्रति चिन्ता व्यक्त गरिएको थियो ।

प्रतिस्पर्धामा पुरुष मात्रै सक्षम रहेको ‘कथित न्यारेटिभ’ निर्माण गरिएको भन्दै उनीहरुले विरोध गरे । कतिपय उदाहरण दिँदा ‘सक्षम महिला’ भनिने तर त्यसै गरि पुरुषका सन्दर्भमा ‘सक्षम पुरुष’को संज्ञा दिने नगरिएको सहभागीको भनाइ थियो । सहभागी इशा बस्यालले गठबन्धनले गर्दा महिला प्रतिनिधित्व कम हुँदा जनप्रतिनिधिमा पुग्ने बाटोमै अंकुश लगाइएको बताइन् । प्रधानमन्त्री पश्चात् सर्वाधिक अधिकार प्रयोग गर्ने स्थानमा कार्यकारी पद काठमाडौं मेयरको भएको सहभागीको जिकिर थियो ।

बालिकाहरु माथि काठमाडौंमा भएका कतिपय हिंसा आउन नसकेको प्रति सहभागीले चिन्ता व्यक्त गरेका थिए । राति अबेर पुरुष सरह महिला सडकमा हिंड्न सक्ने अवस्था नरहेको उनीहरुले बताए । महिला हिंसामा उल्लेख्य न्युनिकरण भएको काठमाडौं देख्ने उनीहरुको अपेक्षा छ ।

सहभागी महिलाहरुको कुराहरु सुनेपछि मेयर उम्मेदवार सिर्जना सिंहले बच्चा र नारीका समस्यामा संवेदनशील रहेको सुनाइन् । महिला भएकाले विगतमा भोगेका समस्या निराकरण गर्ने उनले बचन दिइन् । ‘तपाईहरुले चाहेको महानगर बनाउँछु । विजयी भए भने विज्ञहरुको सल्लाह अनुसार काम गर्छु,’ सिंहले भनिन्, ‘काठमाडौंमा मेरो पहिलो प्राथमिकता फोहोर हुनेछ । साइकल लेन बनाउन सकिने ठाउँमा ध्यान दिन्छु ।’ महिलाहरु निर्धक्कसँग रातको समयमा एक्लै हिंडन सक्ने बनाउने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘भित्रि गल्लीमा सिसिटिभी लगाउने मेरो प्रयास हुन्छ । सकेसम्म सबै वडामा व्यवस्थित जेष्ठ नागरिक भवन बनाउँछु’ सिंहले भनिन् । बच्चा जन्मिदा एउटा रुख रौपौं भन्ने अभियान सुरु गर्ने उनले बताइन् । उनले भनिन्,‘बच्चा जन्मिदा एउटा रुख रोपौं । बच्चाको नाममा रुख रोपेपछि माया पनि लाग्छ । संरक्षण पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?