+
+
अन्तर्वार्ता :

बुटवलमा पार्टी संगठनको बलले चुनाव जित्छु : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १८:४३

२३ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा उम्मेदवार नेकपा एमालेका बाबुराम भट्टराईको राजनीतिक भन्दा व्यावसायिक पहिचान फराकिलो छ । तर राजनीतिसँग जोडिएको परिवारमा हुर्किएका बाबुराम पनि एमालेबाट टाढा थिएनन् । त्यसैले आफूले मेयरको टिकट पाउनुलाई अन्यथा मान्न जरूरी नभएको उनी बताउँछन् । भन्छन्, ‘मेरो जित्ने आधार पार्टीको मजबुत संगठन हो, त्यसकै बलमा चुनाव जित्छु ।’

प्रस्तुत छ, मेयरका उम्मेदवार भट्टराईसँग अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानीको सम्पादित अंश :

बहालवाला मेयरसहितका आकांक्षीहरूलाई उछिनेर तपाईंले टिकट पाउँदा धेरै चर्चा भयो नि ?

पार्टीको नगर समितिले मसहित ८ जनाको नाम सिफारिस गरेको थियो । उहाँहरू सबै मेयरको टिकटका लागि योग्य नै हुनुहुन्थ्यो । जिल्ला, प्रदेश हुँदै पार्टी केन्द्र पुगेपछि मेरो नाममा सर्वसम्मत निर्णय गर्‍यो । यसमा अन्यथा मान्नुपर्ने र चर्चा गर्नुपर्ने थिएन । मिडियामा एक खालका चर्चा भए, तर मैैले कित्ता परिवर्तन गरेको छैन । म पार्टीका उपाध्यक्ष र महासचिव दुवै नेतासँग बराबर नजिक छु ।

चुनावमा तपाईंको एजेण्डा केके हुन् ?

हामीसँग एजेण्डाको कमी छैन । एमाले नेतृत्वको सरकारले केन्द्रदेखि स्थानीय तहसम्म सुरुवात गरेर बाँकी रहेका काम पूरा गर्ने हाम्रा एजेण्डा हुन् । स्थानीयस्तरमा विभिन्न क्षेत्रका साथीहरूसँग राय–सुझाव लिएर ७ बुँदामा संकल्प पनि सार्वजनिक गरेका छौं, जसमा बुटवललाई आर्थिक राजधानी बनाउने हाम्रो पहिलो प्रतिबद्धता छ । खानेपानी, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास पनि एजेण्डा हुन् ।

अघिल्लो पटक एमालेले प्रदेशको अस्थायी राजधानी बुटवललाई स्थायी बनाउने भनेर चुनाव जितेको थियो । त्यो एजेण्डामा फेल भएपछि अहिले आर्थिक केन्द्रलाई ‘आर्थिक राजधानी’ भनेर ललिपप बाँडेको भन्ने विपक्षीको तर्क छ नि ?

बुटवललाई स्थायी राजधानी बनाउन नसक्नुमा एमाले नेतृत्वको मात्र दोष छैन । हाम्रो पार्टीका दाङका नेताहरूले दाङको पक्षमा र यताका नेताहरूले बुटवलको पक्षमा बोल्नु स्वाभाविकै हो । तर यो प्रदेश सभाले निर्णय गर्ने विषय थियो, त्यही भयो ।

अब बुटवललाई साँच्चिकै आर्थिक राजधानी बनाउनुपर्छ भन्ने हाम्रो एजेण्डा हो । बुटवल आर्थिक केन्द्र भए पनि आर्थिक राजधानी बनाउन धेरै काम गर्न बाँकी छ । आर्थिक राजधानी यत्तिकै बन्दैन । अर्थतन्त्र चलायमान हुनुपर्छ, उद्योग व्यापारका लागि अनुकूल वातावरण बनाउनुपर्छ । मोतिपुर औद्योगिक क्षेत्र स्थापना गरी सञ्चालनमा ल्याउन बाँकी छ, साना उद्योगहरूलाई व्यवस्थित गर्न सकिएको छैन । यो सबै गर्ने हो भने बुटवल आर्थिक राजधानी बन्छ ।

जहाँसम्म पाँच दलको गठबन्धनको कुरा छ, त्यसले केही फरक पार्दैन । अघिल्लो चुनावमा कांग्रेस र माओवादी मिल्दा पनि हामीले एक्लै जितेका हौं । अहिले हामीसँग जनमुक्तिको भोट थपिएको छ, त्यसैले मैले चुनौती देखेको छैन ।

बुटवलको सुकुम्बासी समस्या मुख्य हो । एमालेले पटक–पटक लालपुर्जा दिन्छौं भनेर चुनाव जित्यो, तर बाचाअनुसार काम गरेन भन्ने आरोप छ नि ?

मेरो विचारमा सुकुम्बासी समस्या ठूलो होइन, ठूलो बनाइएको हो । यसलाई समाधान गर्न सकिन्छ । एमालेले ऋषिराज लुम्सालीदेखि देवी ज्ञवालीको पालासम्म सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने योजना बनाएर काम गरेकै हो । तर सरकार ढल्यो । अर्को सरकार बनेपछि आयोग खारेज गरिदियो । आयोग नै खारेज गरिदिएपछि बुटवलमा अगाडि बढेका हजारौं संख्यामा रहेका फाइल पनि स्वतः प्रभावित भए । लालपुर्जा दिन ठिक्क पारिएका र अनलाइनमा समेत भरिएका करिब २० हजार फाइल त्यसै रोकिए ।

हामी निर्वाचित भएपछि संकलित लगतको आवश्यकताका आधारमा अध्ययन गरी जग्गा नाप–जाँचका काम अगाडि बढाउँछौं । बाँकी रहेका ठाउँमा विज्ञहरू खटाउँछौं । बुटवलमा जग्गा नापेर बसोवासको प्रमाण स्वरुप निस्सा दिइएको छ, सोही अनुसारको लालपुर्जा दिएपछि समस्या समाधान हुन्छ ।

अघिल्लो पटक पनि यस्तै प्रतिबद्धता थिए, जितेर गएपछि धेरै कार्यान्वयन भएन भन्ने गुनासो छ । यो अवस्थामा तपाईंले चुनाव जित्ने आधार के हो ?

यसअघिको नेतृत्वले बुटवलमा धेरै काम गरेको छ । कतिपय प्रतिबद्धता पूरा भएनन् होला । त्यसमा वस्तुगत कारण पनि होलान्, जानी जानी पूरा नगर्ने भन्ने त हुँदैन ।

सबैले आलोचना गर्ने गरेको चौराहा गोलपार्क सडकको विषय स्थानीय तहको कार्यक्षेत्रभित्रको होइन । सुकुम्बासी समस्या समाधानका लागि गरेको पहलबारे भनिहालें । खानेपानी समस्या समाधानका लागि झुम्सा खानेपानी आयोजना अघि बढेको छ । अरू धेरै प्रतिबद्धता पूरा भएका छन्, कतिपयमा काम अघि बढेका छन् । तिनलाई अब पूरा गरिन्छ । जहाँसम्म मेरो जित्ने मुख्य आधार के भन्ने प्रश्न छ, जित्ने आधार पार्टीको मजबुत संगठन हो । बुटवलमा हाम्रो पार्टीका संगठित सदस्य मात्रै ८ हजार हाराहारीमा छन् । टोल–टोलसम्म हाम्रा कमिटीहरू छन् । उनीहरूकै बलमा चुनाव जित्छु । त्यसमाथि जनमुक्ति पार्टीको साथ छ ।

तपाईंहरू त एक्लै चुनाव जित्छौं भन्नुहुन्थ्यो । जनमुक्ति पार्टीसँग किन तालमेल गर्नुपर्‍यो ?

अरू सबै दल एकातिर हुँदा पनि हामी नै बलियो छौं । केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वको सरकार हुँदा भएका कामहरूले गर्दा पनि हाम्रो पक्षमा राम्रो माहोल छ । तर चुनावमा कहिलेकाहीं थोरै मतले पनि नतिजा तल–माथि पार्छ । एमालेविरुद्ध पाँच दलको गठबन्धन बनेको हुँदा हामीले पनि बुटवलमा राम्रै उपस्थिति भएको जनमुक्ति पार्टीसँग तालमेल गरेका हौं ।

एमाले पार्टी फुटेको छ, विपक्षी दलहरू मिलेका छन् । त्यसैले गठबन्धन गर्नु परेको हो कि ?

पार्टी फुटेको सबैले देखेकै विषय भयो । तर हामीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले एमालेलाई असर गर्दैन । किनकि एमालेबाट उता गएका भन्दा धेरै नेता–कार्यकर्ता माओवादीबाट आएका छन् । यो हिसाबले विभाजनपछि पनि एमाले बलियो छ भन्न सकिन्छ ।

जहाँसम्म पाँच दलको गठबन्धनको कुरा छ, त्यसले केही फरक पार्दैन । अघिल्लो चुनावमा कांग्रेस र माओवादी मिल्दा पनि हामीले एक्लै जितेका हौं । अहिले हामीसँग जनमुक्तिको भोट थपिएको छ, त्यसैले मैले चुनौती देखेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?