+
+

तनहुँमा जोशीको शक्ति प्रदर्शनले सत्ता गठबन्धनलाई सकस

भानु नगरपालिकामा जन्मिएपनि तनहुँमा आफ्नो शक्ति देखाउनको लागि वरिष्ठ नेता पौडल निकट वैकुण्ठ न्यौपाने सँग चुनावी मैदानमा गोविन्दराज जोशीले आफ्नो जेठो छोरा दीपकलाई उतारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते २१:०१

२३ वैशाख, तनहुँ । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसलाई यति बेला एउटै डर छ । ०७४ मा जितेको स्थानीय तह यसपटक जोगाउन सकिएला कि नसकिएला ? किनकी यसपालि तनहुँमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमाले तनहुँले तालमेल गरेका छन् ।

कांग्रेसबाट निष्कासनमा परेका जोशीले स्वतन्त्र समूह बनाएर तनहुँमा आफू विना कांग्रेस कमजोर रहेको प्रमाणि गर्न चाहन्छन् । तनहुँमा कांग्रेसले सत्तारुढ गठबन्धनका दलहरुसँग तालमेल गरेर आफ्नो साख बचाउने कोशिस गरेको थियो ।

तर जिल्लाका चार पालिकामा मात्र तालमेल भएको छ । जोशी समूहले एमालेसँग तीन पालिकामा तालमेल गरेको छ ।

०७४ सालको निर्वाचनमा तनहुँमा कांग्रेसले ६, एमालेले ३, नेकपा माओवादी केन्द्रले एक पालिकाको प्रमुख जितेको थियो ।

यसपटक एमाले विभाजित भई एकीकृत समाजवादी बनेकाले एमालेको मत घट्ने अनुमान पनि गरिएको छ ।

जिल्ला सदरमुकाम दमौलीसमेत रहेको व्यास नगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बनेका शंकरनारायण श्रेष्ठ, केन्द्रीय सदस्य रहेका प्रतापलाल श्रेष्ठ लगायत नेताहरू एकीकृत समाजवादीमा गएका छन् ।

कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले सबै पालिकामा गठबन्धनको नभएपनि एकआपसलाई आ–आफनो ठाँउबाट सहयोग गर्ने सहमति भएकाले गठबन्धनको जित निश्चित रहेको बताउँछन् । उनले भने, ‘एमाले र जोशी समूहबीच तालमेल भएकाले चुनौती छ, तर हाम्रो गठबन्धन छ नि । चुनौती भएपनि हाम्रो जित पक्का रहेको छ ।’

एमाले जिल्ला सचिव राजेश्वर ढकाल भने पार्टी विभाजनको असर नहुने र फेरि पनि पार्टीको विरासत कायमै राख्ने बताउँछन् । ‘केही असन्तुष्ट नेता मात्र हामीबाट छुट्टिएर गएका छन्, त्यसको असर हामीलाई पर्दैन । जोशी सँगको तालमेलले गठबन्धनलाई हराउन सकिन्छ ।’

व्यासमा जोडिएको रामचन्द्र र गोविन्दराजको प्रतिष्ठा

कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने नेतामध्ये पर्थे गोविन्दराज जोशी । २०३१ सालमा तनहुँमा कांग्रेसको संस्थापक सभापति बनेका गोविन्दराज पार्टीबाट निष्कासित हुने अवस्थामा पुग्नुको मुख्य कारण वरिष्ठ नेता पौडेलसँगको तिक्ततापूर्ण सम्बन्ध हो ।

जोशी सभापति हुँदा पौडेल जिल्ला कार्यसमिति सदस्य थिए । ०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । त्यसपछि ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट कारबाहीमा परेका जोशीको कारबाही फुकुवा गर्न वडा देखिनै माग सुरु गरिएको थियो ।

जोशीको कारबाही फुकुवा नगरेको भन्दै गत वर्ष झण्डै ४ हजार कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता समेत नवीकरण गरेका थिएनन् । जोशीको राष्ट्रिय राजनीतिमा प्रभाव घटे पनि गृहजिल्ला तनहुँमा भने अझै निर्णायक राजनीतिक सामर्थ्य रहेको नेताहरु बताउँछन् ।

‘उहाँ पार्टीबाट निष्कासित भए पनि पार्टीभित्र र बाहिर हुने निर्वाचनमा निर्णायक हैसियत रहेको छ,’ २०५३ देखि करिब डेढ दशकसम्म पार्टीका जिल्ला सभापति रहेका रघु पौडेल भन्छन्, ‘एक्लै लडेर कहीं पनि जितिन्न तर जितका लागि निर्णायक भोट भने उहाँसँग रहेको छ ।’

पार्टीको कारबाही पछि निष्कृय बनेका नेता जोशी अहिले आफना छोरा दीपकराज जोशीलाई व्यास नगरपालिकाको मेयरमा जिताउन सक्रिय भएर लागेका छन् । उनी नेकपा एमाले र आफ्नो समूहको चुनाव प्रचारका लागि दमौलीमै छन् ।

भानु नगरपालिकामा जन्मिएपनि तनहुँमा आफ्नो शक्ति देखाउनको लागि वरिष्ठ नेता पौडल निकट वैकुण्ठ न्यौपाने सँग चुनावी मैदानमा जोशीले आफ्नो जेठो छोरा दीपकलाई उतारेका छन् ।

अघिल्लो निर्वाचनमा भानु नगरपालिकामा रहेको दीपकको मतदाता नामवाली अहिले व्यासमा सारिएको छ । स्थानीय तहको निर्वाचन हुनु भन्दा तीन महिना अघि मात्र दीपकको मतदाता नामवाली व्यास सारिएको स्रोतले जनाएको छ ।

पार्टीले कारबाही गरे पनि आफूलाई सच्चा कांग्रेस भएको दाबी गदै नेता जोशीले पार्टीमा गलत नेता हाबी हुँदा बीपीको विचार बेचिएको बताए ।

उनले भने, ‘पार्टीमा गलत नेतृत्वको कारण कांग्रेसको आत्मा मरेको छ, आफनो स्वार्थको लागि पार्टी बेच्ने गरेका छन् ।’

तनहुँको सबैभन्दा ठूलो र सदरमुकामसमेत पर्ने व्यास नगरपालिका वरिष्ठ नेता पौडेलको गृह क्षेत्र हो । यसपटक पनि व्यासमा कांग्रेसबाट वैकुण्ठ न्यौपाने पुनः नगरप्रमुखको उम्मेदवार बनेका छन् ।

तर जोशीको पनि प्रभाव क्षेत्र भएको नगरमा एमालेको समर्थनमा जोशीकै छोरा दीपकराज उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक र पेचिलो देखिएको छ । अघिल्लो निर्वाचनमा सजिलै सँग चुनाव जितेका न्यौपानेलाई यसपटक कठिन रहेको न्यौपाने स्वयं स्वीकार गर्छन् ।

‘चुनौती त छ, विपक्षीले धेरै मिडियाबाजी गरे, राम्रो कामलाई पनि नराम्रो काम भन्दै हल्ला फैलाए । तर जनमत हाम्रै पक्षमा रहेको छ’ उनी भन्छन् ।

कांग्रेसका पूर्वजिल्ला सचिवसमेत रहेका विश्व बाँस्तोला लगायत नेताहरुले पार्टीबाट राजीनामा दिएपछि व्यासमा कांग्रेसको अवस्था कस्तो रहला भन्ने चासो सबैमा परेको छ । अघिल्लो निर्वाचनमा व्यास नगरपालिकामा एमाले र माओवादी केन्द्रको तालमेल थियो भने कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

तैपनि मेयर र उपमेयर दुवै पदमा कांग्रेस भारी मतान्तरले विजयी भयो । अहिले मेयरमा रोचक प्रतिस्पर्धा हुने देखिएपनि उपमेयरमा एमालेको दबदबा बढी रहेको छ ।

अघिल्लो निर्वाचनको मतपरिणामलाई जोड्दा तनहँुका १० स्थानीय तहमा घिरिङबाहेक अरु सबै स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुले पाएको मत बढी हुन्छ ।

तर, अघिल्लो निर्वाचनको तुलनामा तनहुँमा ४९ हजार ८६९ मतदाता थपिएका छन् । तिनै नयाँ मतदाता निर्णायक बन्न सक्ने राजनीतिका जानकारहरु बताउँछन् ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । ०७४ सालमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?