+
+
उम्‍मेदवार प्रोफाइल :

पहिलो परीक्षामा नागेश कोइराला : आफ्नैहरूबाट डर

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख २५ गते १३:०५

२५ वैशाख, विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको राजनीति र कोइरालाहरूको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ नै । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका ४९ वर्षीय नाति नागेश कोइराला योपटक विराटनगरमा मेयरको चुनावी मैदानमा छन् ।

बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट जनप्रशासनमा स्नातकोत्तर उनी २०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर काँग्रेसको राजनीतिमा आएका थिए ।

२०५६ मा तरुण दल मोरङको सभापति बनेका उनी २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष, २०७२ मा सचिव र १४औं जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

रोटरी क्लब अफ विराटनगर मिड टाउनको अध्यक्ष र राउण्ड टेबल–५ विराटनगरको अध्यक्ष भइसकेका नागेश कोइराला दुई कार्यकाल महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहे ।

विराटनगरको मेयर निर्वाचित भए अव्यवहारिक कर प्रणाली सुधार्ने उनको योजना छ । ‘करको दायरमा बढाएर दर घटाउने हो’, उनी भन्छन्, ‘महानगरको छुट्टै मेट्रो सिटी अस्पताल बनाउने मेरो योजना छ ।’

धारा खोल्दा शुद्ध पानी आउने, भ्रष्टचारविहीन र सुकुम्बासी समस्या नभएको विराटनगर बनाउने आफ्नो लक्ष्य भएको उनले बताए । ‘म सदैव इमानमा रहन्छु । आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ उनले भने, ‘विराटनगरका लागि केही योगदान गर्न आएको हुँ म ।’

सवल र कमजोर पक्ष

नेपाली कांग्रेसको परम्परागत गढ भएका कारण कोइराला आफूले चुनाव जित्नेमा विश्वस्त छन् । त्यसमाथि गठबन्धनका नेकपा (माओवादी केन्द), जनता समाजवादी पार्टी (जसपा) र नेकपा ( एकीकृत समाजवादी)को पनि साथ पाएकोले उनी थप उत्साहित छन् ।

‘फेरि, पाँच वर्षअघिको चुनावमा कांग्रेस एक्लैले जितेको ठाउँ हो विराटनगर’, कोइराला भन्छन्, ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता र करको दर घटाउने हाम्रो एजेण्डाले पनि यो औद्योगिक–व्यापारिक महानगरमा काग्रेसका लागि उत्साहपूर्ण वातावरण बनेको छ ।’

विगतमा गरेको विराटनगर केन्द्रीत राजनीति र समाज सेवा आफ्नो लागि ‘प्लस पोइन्ट’ भएको उनले बताए । काँग्रेस पार्टीको माहोल भने उनी अनुकूल देखिदैन । पार्टी भित्रका प्रतिस्पर्धीहरूले खुलेर नसघाएपछि सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु विराटनगरमा आएर कोइरालाको लागि भोट मागे ।

काङ्ग्रेसको दुई खेमा (संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला समूह)को भूमिका र गठबन्धनभित्रको असन्तुष्टि व्यवस्थापन नगरे उनलाई विरासत जोगाउन कठिन पर्ने देखिन्छ । डा. शेखर कोइरालानिकट उनलाई संस्थापन पक्षले खुलेर सघाएको छैन ।

जसपा र माओवादीबाट विद्रोही उम्मेदवार मैदानमा छन् । मेयरमा जसपाका स्वतन्त्र उम्मेदवार उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपानले गठबन्धनको भोट काट्नेछन् ।

काङ्ग्रेसमा सभापति देउवा समूहका अमृत अर्याल र सिटौला समूहका भीम पराजुलीलाई पछि पार्दै नागेश कोइरालाले मेयरको टिकट पाएपछि दुई पक्ष असन्तुष्ट छन् ।
एकसाता याता विराटनगर केन्द्रीत भएका डा. शेखर कोइराला भने नागेशको चुनावी अभियानमा सक्रिय छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?