+
+

बुटवलमा एमालेको काउन्टर सभा कति सफल ?

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख २५ गते २२:२९

२५ वैशाख, बुटवल । सत्ता गठबन्धनलाई काउन्टर दिन नेकपा एमालेले पनि बुटवलमा चुनावी सभा गरेको छ । सभा गर्नुको उद्देश्य थियो, सत्ता गठबन्धनको आरोप खण्डन गर्नुका साथै शक्ति प्रदर्शन गरेर आफू बलियो छ भन्ने सन्देश दिनू ।

सत्तारुढ गठबन्धनको सभालाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ भोलि (आइतबार) हामी देखाउँछौं समेत भनेका थिए ।

पाँचदलीय गठबन्धनले शनिबार लुम्बिनी वाणिज्य क्याम्पस, परिसरमा चुनावी सभा गरेको थियो । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गरेको सभामा करिब ८ हजार जनाको उपस्थिति रहेको आयोजकको दाबी थियो ।

एमालेले सुरुमा एन्फा टेक्निकल सेन्टर, परिसरमा गर्ने भनेको थियो, तर अन्तिम समयमा गठबन्धनले गरेकै ठाउँमै सार्‍यो । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गरे । सभामा १० हजार हाराहारीमा उपस्थिति भएको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको दाबी छ ।

तर हतारमा सभा आयोजना गरेकाले सोचेअनुसार उपस्थिति नभएको स्वीकार उनले बताए । ‘हामीले बाहिरी जिल्लाबाट धेरै बस परिचालन गरेनौं, घामले पनि डिस्टर्ब गर्‍यो,’ केसीले अनलाइनखबरसँग भने, ‘बुटवल हामीले जित्दै आएको र रुपन्देहीमा पनि ७ वटा पालिका जितेको हुँदा विरासत कायम राख्न र ५ दलको विभिन्न आरोपको खण्डन गर्न हतारमा सभा गरेका हौं । उम्मेदवारहरु भोट माग्न ब्यस्त भएकाले पनि उपस्थिति कम भयो ।’

बुटवल उपहानगरपालिका एमालेकै स्थानीय सरकार छ । विगत २२ वर्षदेखि एमालेले स्थानीयदेखि प्रतिनिधिसभासम्मका चुनाव जित्दै आएको छ । तर अघिल्लो स्थानीय चुनावमा मेयर जितेका शिवराज सुवेदी नेतृत्वको आलोचना बढी हुनुका साथै पाँच दलको गठबन्धन भएकाले बुटवलमा एमाले दबावमा छ ।

त्यसलाई चिर्ने प्रयासमा गरिएको सभामा बुटवलबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उपाध्यक्ष विष्णु पौडेलले भने सम्बोधन गर्नै पाएनन् ।

चितवनको भरतपुरको सभामा जानुपर्ने भएकाले एमाले अध्यक्ष ओलीले पौडेल भन्दा अगाडि नै बोले ।

उनको सम्बोधन सकिएपछि कार्यकर्ता तथा समर्थन हिँड्न थाले । ‘१२ बजेबाट सुरु हुने भनेको केही ढिलो भयो, अध्यक्ष बोलिसकेपछि मान्छे हिँडे । मान्छे नै नभएपछि के भाषण गर्ने भनेर विष्णु कमरेड बोल्नुभएन,’ केसी भन्छन् ।

एमालेको शक्ति प्रदर्शन ‘असफल’ भएको भन्दै सत्तारुढ गठबन्धनका नेताहरु भने उत्साहित भएका छन् । ‘एमाले उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ हेर्न आउनुस् भनेका थिए, हामीले नजिकबाट नियाल्यौं,’ कांग्रेस रुपन्देही २ का सचिव प्रजापाल गिरीले अनलाइनखबरसँग भने, ‘यो सभाले एमाले कमजोर सावित भयो, गठबन्धन धेरै उत्साहित भएको छ ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?