+
+

भोट माग्न हरिकृष्णको घरदैलो : हात जोड्दै हिँड्दै

नाम घरदैलो भएपनि करिब दुई घण्टासम्म हरिकृष्ण ब्यञ्जनकारको टिमलाई पछ्याउदा उनीहरु कुनै पनि घरमा भने थिएनन् । सडक छेउमा भएका र हात मिलाउन मन गरेकाहरुलाई मुसुक्क हाँस्दै नमस्कार गरे र हात मिलाउँदै गए ।

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख २६ गते २०:१०

२६ वैशाख, ललितपुर । आइतबार अपरान्ह पाँच बजे ललितपुरको सुनाकोठीमा एउटा समूह नेकपा एमालेको चुनाव प्रचार प्रसारमा थियो । त्यही समूहको बीचतिर थिए ललितपुर महानगरपालिका मेयरका उम्मेदवार हरिकृण ब्यञ्जनकार ।

‘महानगरबासी के भन्छन्, ब्यञ्जनकारलाई ले भन्छन्’ भन्दै नारा घन्काउदै यो समूह अघि बढ्छ, उनी पनि सँगसँगै हिँड्छन् । स्थानीय नागरिकले बाजागाजासहितको टोलीको बीचमा रहेका ब्यञ्जनकार सडकछेउका सर्वसाधारणलाई हेर्छन् र नमस्ते गर्छन् ।

सडकमा चलिरहेका सवारी साधनमा रहेकाहरुलाई समेत उनी मुसुक्क हासेर नमस्ते टक्र्याउँछन् र मुसुक्क हाँस्दै अगाडि बढ्छन् । व्यञ्जनकारसंगै छिन् उपमेयरकी उम्मेदवार मञ्जली शाक्य ।

नाम घरदैलो भएपनि करिब दुई घण्टासम्म ब्यञ्जनकारको टिमलाई पछ्याउदा उनीहरु कुनै पनि घरमा भने थिएनन् ।

सडक छेउमा भएका र हात मिलाउन मन गरेकाहरुलाई मुसुक्क हाँस्दै नमस्कार गरे र हात मिलाउँदै गए ।

सुनाकोठी-२७ पुग्दा एक गल्लीमा लौरो टेकेर ८० वर्षीया चमेली महर्जन उभिइरहेकी थिइन् । बाजागाजासहितको नारा लागेको सुनेपछि उनी हाँस्दै आँगनमा आइन् । चमेलीले नेतालाई केही भन्छु भनेर सोचेकी थिइन् । तर उनीहरुले चमेलीलाई भेटेनन् । चमेलीका गुनासा उनीसँगै रहे ।

‘अस्ति बिरामी हुँदा कच्चीबाटो भएका कारण अस्पताल आउँदा जाँदा निकै दुःख भयो, चमेली भन्छिन्,‘जसले दुःख पिडा पर्दा हामीलाई साथ दिन्छ उसैलाई भोट दिने हो ।’

समाजमा राम्रो काम गर्नेलाई भोट दिने उनको भनाइ छ । ८० वर्षकी चमेली महर्जन बुढ्यौलीका कारण हिँड्न सक्दिनन् । वृद्ध भत्ता लिन जानसमेत मुश्किल हुन्छ । ‘म त जनताको सेवा सुविस्ताका लागि काम गर्ने नेतालाई भोट दिन्छु । नेताहरुले हिँड्न नसक्नेका लागि घरमै वृद्ध भत्ता पुर्‍याइदिने व्यवस्था गरे हुन्थ्यो’ चमेलीले सुनाइन् ।

खानेपानीको समस्या छ भनेर उनी ब्यञ्जनकारको टोलीलाई सुनाउन चाहन्थिन्, तर सुनाउन पाइनन् ।

‘कुरा सुनाउँछु भनेर आउँ त भनेको हुँ तर आएनन् । चमेली भन्छिन्, ‘अहिले पनि आकासको पानी थापेर काम चलाउनुपरेको छ । नेताले जनताका लागि काम गर्नुपर्छ ।’

घरदैलो कार्यक्रममा एक भ्यानभर झण्डा टाँगिएका थिए । स्कुटीमा साउन्ड बक्स थियो । टोलीले आइतबार ललितपुरको २७ वडाका साथै २६ वडालाई पनि फन्को मार्नु थियो ।

उनीहरु निकै तीब्र गतिमा नाराबाजी गर्दै दौडिरहेका थिए । ब्यञ्जनकारको समूहका एक दुई जना दुई घण्टाभित्र दुई वडा सक्नुपर्ने भएकाले छिटो हिँडिरहेको बताइरहेका थिए ।

समूहमा भएका कसैले घरमा झण्डा टाँगिरहेका थिए भने कसैले पर्चा बाँडिरहेका थिए । समूहका एक दुई जना बाहेकले कसरी भोट दिने ? किन दिने ? कसलाई दिने भनेको देखिएन । नाराबाजीमात्रै गरिरहे ।

सकुल थापा ब्यञ्जनकारको घरदैलो हेर्न सडक छेउमा उभिएका छन् । उनले ब्यञ्जनकारलाई नमस्कार गरे । ब्यञ्जनकारले नमस्ते फर्काए र मसुक्क हाँसे मात्रै । एक जनाले उनको हातमा उम्मेदवारका प्रतिवद्धता थमाइदिए । र भने ‘यसपालि हामीलाई ।’

धेरै ठूला सपना छैनन् सुनाकोठीबासीका । बस् पानी पर्दा सडक जलमग्न नहोस् । घाम पर्दा धुलाम्मे नहोस् । साताको दुई तीन दिन पानी आओस् र ढलको उचित व्यवस्थापन होस । यत्ति हो ।

वर्षौदेखि यही सामान्य माग पूरा हुन्छन् कि भन्ने आशमा छन् थापा । ६० वर्षीय थापा भन्छन्, ‘धुवाँधुलो हटाउने, बाटो पिच गर्ने, पानी पाउनुपर्ने र ढल निर्माण गर्ने बाहेक केही मागेका छैनौं यति भए हामीलाई पुग्छ । जसले यो काम गर्छन् त्यसैलाई भोट दिन्छु ।’

चुनावका बेला नेताले यस्तो गर्छु त्यस्तो गर्छु भनेर भोटका लागि गफ दिन्छन् । तर चुनाव जितिसकेपछि काम गर्दैनन् । उनलाई नेताले काम गर्छन् भन्ने कुराका थोरै भएपनि शंका छ । जुन कुरा उनी वर्षौदेखि भोग्दै र सुन्दैसमेत आइरहेका छन् ।

करिब दुई घण्टासम्म ब्यञ्जनकारले कुनै घरको दैलोमा टेकेनन् । कसैको आँगनमा गएनन् । हात हल्लाउदै हिँड्दै गरे ।

समूह नाराबाजी गर्दै आफ्नै रफ्तारमा हिँडिरहन्छ । कसैले घर बाहिर समूहलाई हेर्न उभिएकालाई प्रतिवद्धता पत्र थमाइदिन्छन् । यसपालि भोट एमालेलाई भनेर हिँड्छन् ।

हातमा पर्चा लिदएर बिनु थापा ब्यञ्जनकारको भिड हेर्न बाहिर उभिएकी थिइन् । उनलाई ‘ब्यञ्जनकारलाई भोट हाल्नु हुन्छ त ?’ भन्ने अनलाइनखबरको प्रश्नमा मुसुक्क हाँस्दै उनले ‘त्यो त कसरी भन्न सकिन्छ र कसैले पनि भन्दैन्’ भन्ने जवाफ दिइन् ।

‘जसले काम गर्छ उसैलाई भोट दिने हो, यहा खानेपानीको समस्या छ घरमा पानी आउदैन् पानी बोक्न धारा जानुपर्छ । धारा टाढा भएकाले बोक्न सक्दिन् उनी भन्छिन्, ‘नेताले नजितेसम्म सबै काम गर्ने जस्तो गर्छन् जितेपछि फर्केर हेर्दैनन् ।’

थापालाई अर्को पनि समस्या परेको रहेछ । उनको घर अगाडि–पछाडि दुवैतिर सडक छ । पछाडि र दायाँपट्टि भीर छ । अगाडि सडक विस्तार गर्दा पनि जग्गा मासिइरहेको छ भने पछाडिबाट सडक विस्तार गर्दा घर नै भत्केला भन्ने डर छ ।

‘पानीको व्यवस्था र घर बचाउन सहयोग गर्ने गरी पर्खाल लाउन थोरै भएपनि नगरपालिकाले सहयोग गर्नुपर्‍यो भन्ने हो । उनी भन्छिन्,‘जनताको पक्षमा काम गर्नेलाई भोट दिने हो ।’

सुनाकोठीका स्थानीय बालकृष्ण कार्की नेताले चुनावको बेला काम गर्छु भनेर रट लगाउने र जितिसकेपछि काम नगर्ने गरेको गुनासो गर्छन् ।

‘जनताले पानी र बाटोघाटो बाहेक के नै मागेको छ र ? आफैंले कमाएर खानु त छदै छ नि, उनी भन्छन्, ‘नेता सधै आश्वासन दिने र सपना बाँड्ने जनताका दुःख जहिल्यै उस्तै ।’

उनी घर नजिकै गाई चराइरहेका थिए । नारा घन्केपछि उनी माहोल बुझ्न सडकतिर आएका थिए । अब जनताले साँच्चिकै सोचेर भोट दिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

नेताका आश्वासन र सपनाबाट जनता आजित भइसकेको उनी बताउँछन् । ‘गर्छौं भनेर कहिल्यै काम नगर्ने नेताको विश्वासै लाग्न छाडिसक्यो । पानी, बाटो र ढल पनि जनताले मागिरहनुपर्ने कुरा हो र ?’ कार्की प्रश्न गर्छन् ।

मेयरका प्रत्यासी ब्यञ्जनकार आफ्नो जित सुनिश्चित भएको बताउँछन् । ‘जहाँ जान्छौं जनताले यो पालि तपाईलाई जिताउँछौं भनिरहेका छन् स्वागत गरिरहेका छन् माहोल हाम्रो पक्षमा छ’ उनले भने ।

उनले २०७४ सालको स्थानीय निर्वाचनमा झिनो मतान्तरले हार व्यहोर्नुपरेको बताउँदै अहिले आफूले जित्ने दावी गरे ।

२०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग ब्यञ्जनकार ३ सय २६ मतले पराजित भएका थिए । महर्जनले २४ हजार छ सय ४२ मत प्राप्त गरेका थिए भने ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए ।

‘पहिले झिनो मतले हारेको हुँ अहिलेको माहोल हेर्दा हामी शतप्रतिशत जित्छौं । जनता निकै हर्ष उल्लासका साथ हाम्रो पक्षमा छन्’ ब्यञ्जनकार भन्छन् ।

आफू मेयरमा बिजयी भए ललितपुर महानरलाई नमुना महानगर मात्रै नभई समृद्ध सांस्कृतिक महानगर बनाउने उनको भनाइ छ ।

यस्ता छन् ब्यञ्जनकारका योजना

पहिलो वर्ष : खानेपानी वर्ष : पदभार ग्रहण गरेको पहिलो वर्ष सम्पूर्ण ललितपुर महानगरबासीको घरघरमा खानेपानी पुर्‍याउने ।

पानीको व्यवस्थापनका लागि फर्पिङ र अन्य वैकल्पिक स्रोतको खोजी गर्ने र मेलम्चीको पानी वितरणलाई एकनास तरिकाले अगाडि बढाउने ।

दोस्रो वर्ष : ढल वर्ष : चुनाव जितेको दुई वर्षभित्र ललितपुरका सम्पूर्ण ढलहरु व्यवस्थापन गर्नुका साथै हरेक सडकमा ढल निर्माण गरिने ।

तेस्रो वर्ष २०८४ वैशाखभित्र : महानगरभित्रका हरेक बाटो पिच गर्ने । हरेक कच्ची बाटोलाई ढलान गरेर, इट्टा वा ढुङ्गा बिछ्याएर पिच बनाइने । र यो वर्षलाई बाटो वर्ष मनाउने ।

शिक्षामा आमूल परिवर्तन गरी व्यावसायिक शिक्षा दिइने ।

सरकारी स्कुलको गुणस्तर र भौतिक संरचनामा सुधार गरी सरकारी स्कूलमा आकर्षण बढाउने । सरकारी स्कूलमा सिट नपाएपछि मात्रै निजी स्कुल जानुपर्ने अवस्था निर्माण गर्ने ।

७० वर्ष पार गरेको ज्येष्ठ नागरिकको निःशुल्क उपचार गरेर स्वास्थ्य बिमा लागु गर्ने ।

हरेक वडाका ४ सय महिलालाई विभिन्न तालिम दिएर उनीहरुलाई उत्पादनमूलक क्षेत्रमा काम लगाउने । उनीहरुको उत्पादन महानगरले लिने र बिना ब्याज ऋण दिने ।

२०८४ सालमा वैशाखभित्र महानगरका आवश्यक सबै स्थानमा सीसीटीभी क्यामेरा जडान गरिसक्ने ।

महानगरको फोहोरमैला व्यवस्थापन गरेर त्यसलाई प्रशोधन गरी मल बनाउने, ग्यास निकाल्ने र बिजुली निकाल्ने ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?