
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाले बुधबार वडानं. २८ मा सार्वजनिक सुनुवाइ आयोजना गर्यो।
- सुनुवाइमा स्थानीयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, बाटो, खोलाको संरक्षण र ढल व्यवस्थापनका विषय उठाएका थिए।
- सुनुवाइमा वडाका जनताले पानी, ढल, सडक र सार्वजनिक सुविधा सुधारको पनि माग गरे।
७ जेठ,काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । महानगरले बुधबार हरिसिद्धीस्थित वडा नंं. २८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि पानी पर्दा हिलो हुने र घामलाग्दा धुलो उड्ने बाटो, कर्मनाशा खोलाले मच्चाउने ताण्डव, कमजोर पुललगायतका विषयमा कुरा उठेका छन् ।
त्यसैगरी ढल थुनिँदा भएको समस्या, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने विषय पनि उठाएका छन् । नगरस्तरीय बाल क्लबलाई जनप्रतिनिधिले प्राथमिकता दिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएका थिए । त्यसैगरी चक्रपथबाट बाहिर रहेको २८ र २९ नम्बर वडामा सार्वजनिक शौचालय नभएको विषयलाई पनि सहभागीले उठाएका थिए ।
वडा नं. २८ का रामेश्वर कर्माचार्यले २८ र २९ मा ढललाई व्यवस्थित गर्न अनुरोध गरे । वडा नं. २८ का राजेन्द्र महर्जनले दक्षिणबाट उत्तर बग्ने विश्वकै कर्मनाशा खोला र त्यस वरपरको जग्गाको संरक्षण गर्न विशेष पहल गर्न अनुरोध गरे ।
उनले भने, ‘खोला र खोला वरपरको जग्गालाई अतिक्रमण गर्नेलाई कारबाही गर्नपर्छ, त्यसको लागि सम्पदा र सार्वजनिक जग्गा संरक्षणमा लागि परेका अनुरोध गर्दछु,’ सामुदायिक कुकुरको वृद्धिले हिड्डुल गर्न निकै गाह्रो भएकाले त्यसको व्यवस्थापन अत्यावश्यक भएको बताए ।
महानगर बन्ने क्रममा जोडिन आएका वडाहरूको बासिन्दाको जनजीवन ट्रान्जिसन पिरियडमा रहेको बताउँदै आगामी बजेटले उनीहरूको जीवनलाई सहज बनाउन सम्बोधन गर्नुपर्ने बताए ।
२९ नम्बर वडाका शान्ति घिमिरेले आफ्नो वडामा खुल्ला ढल भएकोले बस्ती डुवानमा पर्ने गरेको दुःख व्यक्त गर्दै यसलाई छिट्टै सम्बोधन गर्न अनुरोध गरिन् । ललितपुर महानगरलाई स्मार्ट सिटी भने पनि बर्खामा हिलाम्य, हिउँदमा धुलाम्य बाटो हिड्न बाध्य भएको बताइन् ।
महानगर प्रमुख चिरीबाबु महर्जनले कर्मनाशा खोला र त्यस क्षेत्रको ढल व्यवस्थापनका सम्बन्धमा प्राविधिक टोलीसहित त्यस तर्फ जाने प्रतिबद्धता गरे । अभिलेखिकरणको दर रेट नेपाल सरकारले नै तय गरेको बताउँदै यसमा केही गर्न नसक्ने प्रष्ट पारे ।
उनले वडा नम्बर २८ र २९ मा पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा तयार पार्न अनुरोध गरे । मञ्जली शाक्य बज्राचार्यले सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यवहारिक प्रश्न उठाएकोमा धन्यवाद दिइन् ।
जग्गाको वर्गीकरण गर्दा महानगरको जग्गालाई कृषियोग्य जग्गाको रूपमा वर्गीकरण गरिएको छैन । कृषियोग्य जमिनको रुपमा वर्गीकरण हुँदा बेचबिखन गर्दा कम मूल्य प्राप्त हुने लगायतका अप्ठ्यारा हुने भएकाले कृषियोग्य भनी वर्गीकरण गरिएको थिइन । उनले भनिन्, ‘कृषियोग्य जमिन कम भएको रिपोर्ट गएकाले कम मल आएको हो ।’
उनले जनप्रतिनिधि भएर आउँदा नै घर घरमा पानी पुर्याउने लक्ष्यसहित आएको बताउँदै घर घरमा पानी पुर्याउँदा महिला दिदीबहिनीको समस्या धेरै हदसम्म हुने धारणा राखिन् ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले तालिमको प्रभावकारिता न्युन भएको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै सामुदायिक कुकुर व्यवस्थापनका लागि काम सुरु भइसकेको जानकारी दिइन् ।
वडा नम्बर २८ का अध्यक्ष वीरेन्द्र महर्जनले इँटाभट्टाको धुवाँ, धुलोले जनजीवनले प्रभावित भएको विषय समस्याको रूपमा रहेको बताए । वडा नम्बर २९ का अध्यक्ष गणेश महर्जनले अन्य वडामा जग्गा भाडामा दिएर बंगुर पालन गर्ने गरिएको समस्या स्थानीयले उठाइरहेको भन्दै २९ मा भने समस्या नरहेको बताए ।
प्रतिक्रिया 4