+
+
Shares

ललितपुरको बजेट तयारी : विज्ञदेखि जनप्रतिनिधिसम्मबाट सुझाव

महानगरले वडा पिच्छे वडा भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन समेत गरिरहेको छ । यसैगरी महानगरको विषयगत समितिले समेत नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि छलफल आयोजना गरेको हो।
  • सांसदहरूले बजेटमा विपद् व्यवस्थापन, विकास र पर्यावरण संरक्षणमा जोड दिनुपर्ने सुझाव दिए।
  • विज्ञहरूले दीर्घकालीन नीति, सम्पदा संरक्षण र वातावरणीय चुनौतीहरूमा ध्यानाकर्षण गराए।

२६ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनु अघि सरोकारवाला, विषय विज्ञ र ललितपुर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ ।

महानगरले आवश्यकता पहिचान र आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई सहभागितामूलक बनाउनका लागि फरक-फरक क्षेत्रसँग छलफल आयोजना गरेको हो ।

महानगरले वडा पिच्छे वडा भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन समेत गरिरहेको छ । यसैगरी महानगरको विषयगत समितिले समेत नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।

प्रमुख चिरीबाबु महर्जन भन्छन्, ‘सबैका कुरा सुन्न फरक फरक क्षेत्रका विज्ञसँग छलफल राखेका हौँ । ’ उप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले नीतिमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले भनिन्, ‘नीति राम्रो भयो भने बजेट र कार्यक्रम राम्रो आउँछ, त्यसैले चरणबद्ध रुपमा कार्यक्रम राखेका हौँ ।’ प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सहभागितामूलक नीति निर्माण गर्न विविधतापूर्ण समुदाय र क्षेत्रलाई समेटेर छलफल कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गरिन् ।

सेवा प्रवाहलाई डिजिटलाइजेसन गरेको बताउँदै त्यो प्रभावकारी भएको उनले बताइन् । चालु आर्थिक वर्षका ३ सय २४ मध्ये ८९ प्रतिशत नीति सम्बोधन गर्न सफल भएको महानगरका प्रमुख महर्जन बताउँछन् ।

सांसदको जोड : विपद् व्यवस्थापन र विकास

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले नख्खु करिडोर बनाउन केन्द्रको बजेट मात्रै पर्याप्त नभएको बताउँदै ललितपुर महानगरले पनि लगानी गर्नुपर्ने सुझाव दिए । चक्रपथमा बनाउनुपर्ने फ्लाई ओभरको सन्दर्भमा प्रदेश, संघ र स्थानीय तहबीच सहकार्य र छलफल हुनुपर्ने बताए ।

ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले नीति निर्माणका लागि सबै क्षेत्रबाट सुझाव संकलनका लागि चरणबद्ध रुपमा छलफल आयोजना गरिएको बताए ।

वातावरण संरक्षणलाई अझै प्राथमिकतामा राख्नुपर्ने बताए । महानगरले प्रवाह गर्ने सेवा जनताले महसुस गर्ने गरी प्रदान गर्न सके सकारात्मक सन्देश संचार हुने उनको भनाइ छ । शिक्षा,स्वास्थ्य, सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

राप्रपाका सांसद रोशन कार्कीले महानगरबाट भएको कामको प्रशंसा गरिन् । विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्दै कर प्रणालीलाई अझै व्यवस्थित बनाउनुपर्ने उनले बताइन् ।

बागमती प्रदेशका सांसद रघुनाथ महर्जन असोज दोस्रो साताको बाढीबाट प्रभावित र पुगेको क्षतिलाई सम्बोधन गर्नुपर्ने बताए । विकास निर्माणसँगसँगै युवालाई रोजगारी दिने विषयलाई नीतिगत रुपमा नै निर्णय गर्न सुझाव दिए ।

सल्लाहकारका सल्लाह : दीर्घकालिन नीति

ललितपुर महानगरको विकासलाई थप उचाईमा पुर्‍याउन दीर्घकालीन नीति कार्यक्रम ल्याउन महानगरका सल्लाहकारले सुझाव दिएका छन् । महानगरको शहरी विकास सल्लाहकार सुरेन्द्र गोविन्द जोशीले हाल जनताको आवश्यकतालाई महानगरले सम्बोधन गरेको बताउँदै दीर्घकालीन नीति निर्माणमा जोड दिनुपर्ने बताए । महानगरलाई व्यवस्थित बनाउन ल्याण्ड पुलिङसँग सम्बन्धित नीति ल्याउनुपर्ने धारणा राखे ।

शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने बताउँदै दीर्घकालीन नीति ल्याउन सल्लाह दिए । पाँच वर्षे शहर शिक्षा योजना ल्याउनु पर्नेमा जोड दिदैं उनले यो योजनाले सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्ने बताए ।

अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै अनुगमन र अभिलेखिकरणमा जोड दिनुपर्ने उनको भनाइ छ । स्वास्थ्य सल्लाहकार तारामान अमात्यले सडकमा बेच्न राखिएका खानेकुरा (स्ट्रिट फुड) को गुणस्तर परीक्षण हुनुपर्ने बताए ।

विज्ञहरु भन्छन्- ‘सम्पदा संरक्षण देखि वातावरणसम्मलाई बजेट आओस ’

परम्परागत पानी व्यवस्थापन विज्ञ पद्मसुन्दर जोशीले पानीको स्रोत संरक्षण महत्वपूर्ण भएको बताउँदै लोप हुने अवस्थामा पुगेका ढुंगेधाराको संरक्षणमा महानगरले काम गर्नुपर्ने राय दिए । सम्पदा संरक्षणको महत्व युवा पुस्तालाई बताउनुपर्ने धारणा राख्दै शिक्षा, सम्पदाको संरक्षण र सम्पदाको महत्व बुझाउने गरी कार्यक्रम ल्याउन अनुरोध गरे ।

वनस्पति विज्ञ प्रा.डा. पुष्पमान अमात्यले ग्लोबल वार्मिङको विद्यमान संकट न्यून गर्न बोटविरुवा रोप्नु अत्यावश्यक भएको बताए । भएका बोटविरुवाको ट्रिमिङ गर्नु अत्यावश्यक भएको उनको धारणा छ ।

अमूर्त सम्पदा विज्ञ वद्नलाल न्याछ्योले महानगरले मूर्त र अमूर्त सम्पदा संरक्षणमा धेरै काम गरेको बताउँदै नगरले गर्न मिल्ने र नमिल्ने विषयहरुको चेक लिष्ट तयार पार्नुपर्ने धारणा राखे ।

विपद् विज्ञ सुरेश चौधरीले विपद् व्यवस्थापनका लागि १० वर्षे विपद् व्यवस्थापन योजना ल्याउनुपर्ने धारणा राखे । प्रशासन विज्ञ भरत थापाले दीर्घकालीन योजना ल्याउन जोड दिनुपर्ने बताउँदै शुसासन र नागरिकको जीवनयापन सहज बनाउन सहयोग पुग्ने नीति ल्याउन राय दिए ।

ललितपुर महानगरले खेलकुदलाई प्राथमिकता दिएको बताउँदै ह्वीलचियर प्रयोगकर्ता भरत केसीले अपाङगता भएकाको लागिसमेत खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी नीति निर्माण गर्न आग्रह गरे ।

नेपाल भाषा मंकाखल ललितपुरका हिराकाजी महर्जनले महानगरले भाषा नीति तयार गर्नुपर्ने बताए । ललितपुर हस्तकला संघका प्रदीप बज्राचार्य , सिकर्मी समाज, शिल्पकार समाजलगायतका संघसंस्थाले हस्तकला, काष्ठकलाको प्रवद्र्धन र बजारिकरणलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?