+
+

स्वीडेनका हसलमार्कले जिते शाहसिक हिमालयन ट्रायथलन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:२८

२६ वैशाख,  पोखरा । स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्स्ट्रिम ट्रायथलनको उपाधि जितेका छन् ।

३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पूरा गर्नुपर्ने कठिन शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन् ।

उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भएका भने चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो भए ।

खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समय बाहेक उनीहरुले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ ।

उपाधि जिते पछि स्वीडिस हसलमार्कले भने, ‘यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो । यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाएँ ।’

बिहान ४ बजे पोखराको फेवातालबाट शुरु भएको प्रतियोगितामा खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए । त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो । साइकल रेस पोखरा भूपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्लेमा पुगेर टुंगिएको थियो ।

लुम्लेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो । दौड पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रेस्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए ।

नेपाली सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन् ।

‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलोन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्री’ नेपालमा पहिलो पटक शुरु गरिएको हो । अन्त्यन्त शाहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसँग सहयोगी समेत हुने गर्दछ ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए । उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरु प्रतियोगिताका लागि करिव एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए ।

विजेता र सहभागी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुरस्कार वितरण गरे । गुरुङले यस प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै नभई गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको बताए ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए ।

दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोरोना भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो ।

सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्रायथलोन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?