+
+

कतै बिर्सनु पो भयो कि ?

नेताहरूका चिप्ला भाषण अनि नेताहरूले दिने अस्थायी फाइदामा रमाएर पुराना कुरा बिर्सनाले नेपाली समाज सधैं पछि परिरहेको छ। विकास निर्माणमा कैयौं वर्ष पछाडि धकेलिएको छ।

केशरबहादुर दाहाल केशरबहादुर दाहाल
२०७९ वैशाख २७ गते ९:५८

१८ वर्षभन्दा माथिका सम्पूर्ण नागरिकले भोट गरी आफ्नो प्रतिनिधि चुन्न पाउनु नेपाली जनताको संवैधानिक अधिकार हो। अनेकौं संघर्ष, त्याग र बलिदानको फलस्वरूप आज नेपाली जनताका छोराछोरीले नै देशको शासन सत्ताको चाबी आफ्नो हातमा पाएका छन्।

जनताका माझमा नै बसेर नेपाली समाज र नेपाली जनताको समस्या र पीडा बुझेको सामान्य नागरिक नै शक्तिमा पुग्ने शासन प्रणाली स्थापित भएको छ। यस्ता नागरिक पक्कै पनि आफू शक्तिमा पुगेपछि तिनै जनताको भावना र इच्छाअनुरूप विकास निर्माणका कामहरूलाई सही तरिकाले अगाडि बढाउँछ भने नेपाली समाजको समस्यालाई हल गर्ने प्रयास गर्दछ भन्ने अपेक्षा गरिन्छ।

केन्द्रमा मात्र नभएर गाउँगाउँ, घरघरमा सिंहदरबार भएको अनुभव गराउने हेतुले संघीयताको कल्पना गरिएको हो। स्थानीय तहको नेतृत्वको जिम्मा स्थानीय जनतालाई नै दिने उद्देश्यका साथ यो अवधारणा अपनाइएको हो। यसै अनुरूप स्थानीय तहको दोस्रो कार्यकालका लागि प्रतिनिधि चयन गर्नका निमित्त यही वैशाख ३० गते एकै चरणमा निर्वाचन हुन गइरहेको छ।

चुनाव आउन अब केही दिन मात्र बाँकी रहेको छ। पूरै देश चुनावमय बनेको छ। चोक चोकमा, सडकका गल्ली गल्लीमा पार्टीका झण्डा फर्फराइरहेका छन्। आफ्ना आफ्ना पार्टीका चुनावी सभा लगालग भइरहेका छन्। भोट माग्न उम्मेदवारहरू घरघरमा दौडिरहेका छन्। पार्टीका कार्यकर्ताहरू चुनावी प्रचारप्रसारमा मरिमेटेर लागिपरेका छन्।

स्थानीय तहको विकास र समृद्धिका लागि स्थानीय नेतृत्वकर्ता कुशल र इमानदार हुन अत्यन्त आवश्यक हुन्छ। प्रतिनिधि कुन पार्टीका हुन् भनेर पार्टीगत रूपमा हेरेर भोट गर्नु भन्दा स्थानीय जनताले आफ्नो ठाउँका लागि कुन व्यक्ति उपयुक्त हुन्छ अथवा कसले उनीहरूका समस्याको समाधान गर्न सक्छ त्यो हेर्न जरुरी छ। स्थानीय जनतालाई कुनै पार्टीले जितेर अथवा कुनै पार्टीले हारेर फरक पर्ने भन्ने नै छैन। फरक पर्छ त केवल आफ्नो ठाउँको उच्चतम विकास र सामाजिक सुदृढीकरणको कुराले।

नेपाली जनमानसले पहिलो कार्यकालमा नेतृत्वकर्ताको व्यक्तिगत कुशलता हेरेर भन्दा पनि पार्टीगत सम्बन्धलाई आधार बनाएर भोट गरे। पछिल्लो कार्यकालमा विकास निर्माणका काममा ढिलासुस्ती देखियो। लोकप्रिय घोषणापत्र जारी गरियो, तर व्यवहारमा लागू नगराउने प्रवृत्ति बढ्यो। बढ्दो भ्रष्टाचार अनि आफू शक्तिमा पुगेपछि तिनै भोट दिने जनताका समस्यालाई बेवास्ता गर्ने क्रियाकलापले स्थानीय जनता वाक्कदिक्क भए। त्यसैले जनमानसमा एउटा क्रान्तिकारी सोचको विकास भएको थियो। अब पुराना अनुहारलाई भन्दा पनि जनताको सेवा गर्नका निमित्त दृढ इच्छाशक्ति, जोस, जाँगर र विकासको राम्रो दृष्टि भएका उम्मेदवारलाई जिताउने प्रण गरेका छन्।

तर जति जति चुनाव नजिकिन्छ, त्यही अनुपातमा जनताको त्यो परिवर्तनकारी सोच र ऊर्जा सेलाउँदै जान्छ। त्यही पुराना अनुहारका मिठा भाषण र झुटा बाचाकै पछि नेपाली जनता लागिरहेका छन्। बाहिरी रूपमा अबको नेतृत्व युवालाई दिनुपर्छ, अब पार्टीगत रूपमा नहेरेर व्यक्तिगत क्षमतालाई हेरेर भोट गर्नुपर्छ जस्ता रहरलाग्दा विचार प्रस्तुत गरे पनि नेपाली जनताको अन्तर्मनले सधैं पार्टी पार्टी भनिरहेको हुन्छ।

नेपाली समाजमा म यो पार्टीको, म त्यो पार्टीको भन्ने भावना पलाएको हुन्छ। अझ भनौं, कुनै पार्टीको झण्डा बोक्नै पर्छ भनेर नेपाली जनताको दिमाग धुलाई भइसकेको छ। समाजमा मात्रै नभएर आफ्नै घरघरमा पनि मेरो पार्टीले जित्छ भन्दै प्रतिस्पर्धाको भावना उजागर भएको हुन्छ। उनीहरू आफ्नो पार्टीलाई जिताउन मरिमेटेर लाग्छन्, चाहे त्यो पार्टीको उम्मेदवार जतिसुकै अक्षम किन नहोस्।

सुरुमा पार्टी हेर्ने, व्यक्तित्त्व नहेर्ने अनि पछि पश्चात्ताप गर्ने नेपाली जनताको पुरानो नै रोग हो। गलत व्यक्ति चुनेको महसुस त हुन्छ तर त्यतिबेला ढिला भइसकेको हुन्छ। अर्कोपटक चाहिं त्यो गल्ती नदोहोरिने बाचा गर्दछन्। तर जब अर्को निर्वाचन आउँछ तब फेरि उही पुरानै रोगले थला पार्दछ।

नेताहरूका चिप्ला भाषण अनि नेताहरूले दिने अस्थायी फाइदामा रमाएर पुराना कुरा बिर्सनाले नेपाली समाज सधैं पछि परिरहेको छ। विकास निर्माणमा कैयौं वर्ष पछाडि धकेलिएको छ। नेता र नेपाली जनता दुवैले आफ्ना बाचा र प्रण बिर्सिने शैलीले गर्दा यहाँ नेताहरूलाई मात्र दोष दिने ठाउँ नै छैन। जति हाम्रा नेताहरू दोषी छन्, त्यति नै मात्रामा नेपाली जनता पनि दोषी रहेका छन्।

यसकारण साँच्चै नै विकास र परिवर्तन चाहने हो भने यसपटक भने आफ्ना परिवर्तनकारी सोचलाई नबिर्सौं। पछिल्ला कार्यकालमा आफूले चुनेका नेतृत्वहरूको अक्षमता र स्वार्थको राजनीतिलाई थाती राखेर अब चाहिं साँच्चै नै हाम्रालाई भन्दा पनि राम्रालाई निर्वाचित गराएर स्थानीय तहमा विकास र समृद्धिको मूल फुटाउनुपर्नेछ। यसो गर्नाले सही नेतृत्व चयनले देश आफैं समृद्धिको बाटोतर्फ कसरी अग्रसर हुनेछ र नेपाली समाजको दिगो विकास हुनेछ भन्ने एउटा उदाहरण बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?