+
+

वीरगञ्जका मेयर उम्मेदवार सरावगीलाई मध्यरातमा गाउँलेले घेरा हाले, प्रहरीले उद्धार गर्‍यो

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख २७ गते १२:४०

२७ वैशाख, वीरगञ्ज । सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एकजना कांग्रेस नेताको घरमा पुगेका मेयर उम्मेदवार विजय सरावगीलाई स्थानीयले घरा हालेका छन् । प्रहरीले करिब अढाइ घण्टापछि उद्धार गरेर घरसम्म पुर्याएको छ ।

सरावगी एमाले-लोसपा गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि विजय चौरसियाको घरमा उनी गएराति ११ बजेतिर पुगेका थिए । भोट किन्न कांग्रेस नेताको घरमा आएको भन्दै स्थानीयले होहल्ला गर्दै घर घेरा हालेका थिए । त्यसपछि चौरसियाको घर छाडेर उनी छिमेकको अर्को घरमा पुगेका थिए । यसबारे साढे १२ बजेतिर खबर पाएको प्रहरीले मंगलबार बिहान ३ बजेतिर मात्रै निवर्तमान मेयर सरावगीलाई उद्धार गरेर घर पुर्‍याएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले नगवाबाट निवर्तमान नगर प्रमुख सरावगीको उद्धार गरिएको पुष्टि गरे । ‘निवर्तमान नगर प्रमुख सरावगी नगवामा एक जना कांग्रेस नेताको घरमा छिर्नु भएको रहेछ । स्थानीयले घेरेछन् । साढे १२ बजेतिर खबर आयो,’ उनले भने, ‘दुई-अढाइ सय मान्छेले घेरेका थिए । सम्झाई बुझाई गरेपछि भिड घट्यो, करिब अढाइ घण्टापछि उहाँलाई निकाल्यौं ।’

कांग्रेस नेता चौरसियाले राति निवर्तमान मेयर सरावगी आफ्नो घरमा आएको बताए । ‘म त सुतिसकेको थिएँ, छोराले दुई जना मान्छे भेट्न आउनुभएको छ भनेर उठायो । हेर्दा सरावगी र मामाको छोरा कृष्ण चौरसिया रहेछन् । बाहिर हेर्दा सय-डेढ सय मानिस जम्मा भइसकेका रहेछन्, होहल्ला गर्न थालिसकेका रहेछन् । खतरा देखेपछि हामीले जोगाएका हौं,’ उनले भने ।

उनले सरावगीलाई आफूले घरमा नबोलाएको बताए । ‘मैले बोलाएर आउनुभएको हैन, मलाई भेट्न आउनुभएको हो वा ज्यान जोगाउन आउनुभएको हो ? त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ ।’

हो-हल्ला गर्ने समूहले आफ्नो गेट तोडिदिएको उनले बताए । ‘गाउँका कम मान्छे थिए, छपकैया, मुर्ली, लक्ष्मणवा तिरबाट कहाँ-कहाँका मानिसहरु जम्मा भएका थिए,’ उनले भने ‘कसैले कसैको कुरा नसुन्ने स्थिति थियो ।’ आफू गठबन्धनकै पक्षमा लागेको बताउँदै उनले कोहि घरमा आउँदा हुलदंगा गर्नु गलत भएको बताए ।

राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरुले भने सरावगी मध्यरातमा कांग्रेस नेताको घरमा आउनु शंकास्पद भएको प्रतिक्रिया दिएका छन् । जसपाको महानगर युवा समितिका पूर्व कोषाध्यक्ष भुषाल चौरसियाले सरावगी कांग्रेस नेताको घरमा भोट किन्न छिरेपछि स्थानीयले विरोध गरेको बताए । ‘सरावगी मोटरसाइकलमा हुनुहुन्थो, नगवामा नेपाली कांग्रेसका एक जना नेताको घरमा छिर्नुभयो,’ उनले भने, ‘साथमा ब्याग थियो, त्यसमा पैसा थियो कि के थियो, त्यो त हामीले देखेनौं, पछि जनता आएर त्यो घर घेरे, प्रहरी आएर उहाँलाई लिएर गयो ।’

जसपाको तर्फबाट मेयरका उम्मेदवार राजेशमान सिंहले जनता सचेत भइसकेकाले गलत क्रियाकलापको विरोध गर्नु स्वाभाविक भएको बताए । उनले घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको भन्नु गलत भएको टिप्पणी गरे ।

‘मेरा कार्यकर्ता थिए कि १६ नम्बर वडावासी थिए ? राति चोर जस्तो भाग्नुपर्ने स्थिति किन आयो ? किन लुकेर बस्नुपर्ने स्थिति आयो ? हामी त घरदैलो गरेर थाकेर सुतेका थियौं,’ उनले भने, ‘जसपाका कार्यकर्ताको संलग्नता छ भन्नु गलत हो, मिथ्या कुरा प्रोपोगण्डा मात्रै हो ।’

मलाई अपराध गर्न गएजस्तो व्यवहार गरियो : सरावगी

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्ने उल्लेख छ ।

यसै विषयमा निवर्तमान नगर प्रमुख एवं एमाले लोसपा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार सरावगीलाई सोमबार राति के भएको हो ? भन्ने बारेमा संक्षिप्त कुराकानी गरेका छौं ।

राति नगवामा के भएको हो ?

खासै त केही भएको छैन, एक जना साथी छ त्यहाँ । पटक पटक भनेको थियो, आऊ नगवाको विषयमा सारा कुरा बताउँछु । त्यहि अनुसार प्लानिङ गर्नु भनेका थिए । हिजो साढे ११ बजेतिर उसैलाई भेट्न गएको थिएँ । त्यहाँ केटाहरुले घेरेर हंगामा गर्न थाले । हंगामा पनि यस्तो गरे कि म कुनै अपराध नै गर्न गएको थिएँजस्तो । त्यसपछि पुलिस आयो, मलाई रेस्क्यु गरेर घर लगिदिए । कुरा त्यति हो । २-३ सय मानिसहरु आएका थिए ।

राति-राति किन जानुभयो त ?

समय कहाँ मिल्छ र आजभोलि ? कोणसभा सकेर म उसकोमा गएको थिएँ । बोलाउन त १० बजे नै बोलाएको थियो, म आउँदैछु भनेको थिएँ । भोटको स्थिति के छ ? भनेर बुझ्न गएको थिएँ । उनीहरुले नौटंकी गरे ।

पैसाको झोला बोकेर मत किन्न जानुभएको थियो रे त ?

हैन, यो झुटो कुरा हो । परवानीपुरको सभा सकेर म सिधै त्यहाँ गएको थिएँ ।

सबलाई थाहा छ नि कसले पैसा बाँडिरहेको छ कि के गरिरहेको छ ? आजसम्म यस्तो धन्दामा हाम्रो पार्टीको कुनैपनि मानिस संलग्न छैन । एउटा विवाह थियो । विवाहमा केटाहरु थिए होला, उनीहरुले नबुझिकनै हो-हल्ला गर्न थाले । जसको घरमा गएको थिएँ उसलाई एकदमै दुःख भयो । त्यसपछि अर्को घरबाट निस्कनुपर्ने स्थिति बन्यो ।

तपाईं मेयर पदको उम्मेदवार राति-राति अरुको घरमा जानु आचारसंहिता विपरीत त भो नी ?

साढे ११ बजे बस्तुस्थिति बुझ्न मात्रै गएको हुँ । निर्वाचनको समयमा जो पनि जान्छ नी । राजेशमान सिंह पनि रातभरी वार्ड-वार्डमा घुमिरहेको हुन्छ त । आखिर ऊ किन घुम्छ त ? म त गएर मज्जाले बसेर कुराकानी गरिरहेको थिएँ । पछि हंगामा गर्न थाले । मैले घर देखेको थिएन । जसले मलाई घर चिनाउन लगेको थियो, उसलाई कुटपिट गर्नुको साथै मोटरसाइकल पनि तोडिदियो भन्ने खबर पाएको छु ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?