+
+
स्थानीय निर्वाचन :

गठबन्धन भत्किएको धुर्कोटमा रोचक प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:४६

२७ वैशाख, गुल्मी । सत्तारुढ गठबन्धनका दलहरू र नेकपा (एमाले) बीच चुनावी तालमेल भएका थोरै स्थानीय तहमध्ये गुल्मीको धुर्कोट गाउँपालिका एक हो । यहाँ एकातिर एमाले–नेकपा (माओवादी केन्द्र) र अर्कोतिर नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

धुर्कोटमा माओवादी केन्द्रबाट निवर्तमान अध्यक्ष भुपाल पोखरेल पुनः पालिका अध्यक्षमा उठेका छन् भने उपाध्यक्षमा एमालेकी सीता गिरी उम्मेदवार छिन् । कांग्रेस–एकीकृत समाजवादी तालमेलबाट अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाध्यक्षमा समाजवादीका चन्द्रबहादुर सुनारको उम्मेदवारी छ ।

अघिल्लो निर्वाचनमा प्राप्त मतको आधारमा यहाँ एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हो । त्यसबेला कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएर अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।

३० वैशाख नजिकिएसँगै मतदाताको घरदैलोमा उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ ।

कांग्रेसबाट मेयर प्रत्यासी भण्डारीका संकल्प

कांग्रेसबाट धुर्कोट गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्र भण्डारी पार्टीमा महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा छन् । २५ असार २०२५ मा जन्मेका उनी धुर्कोट–५ का बासिन्दा हुन् ।

२०३६ सालबाट नेपाल विद्यार्थी संघको राजनीति थालेका उनी नेविसंघ जिल्ला सदस्य, स्ववियू सभापति हुँदै नेविसंघ केन्द्रीय उपाध्यक्ष बने । उनले अध्यक्ष निर्वाचित भए गाउँपालिकामा न्याय, सुशासन र विकासको अनुभूति दिलाउने बताएका छन् ।

सुविधा र अवसर खोज्दै शहर पसेकाहरूलाई गाउँमै अवसर सिर्जना गर्ने भण्डारीको योजना छ । ढिलासुस्ती, भ्रष्टाचार अन्त्य र समानताको अनुभूति दिलाउने उनको अठोट छ ।

धुर्कोटलाई सुन्दर, शान्त र समृद्ध पालिका बनाउने, शैक्षिक केन्द्रको रूपमा विकास गर्ने उनको घोषणापत्रमा उल्लेख छ । शारीरिक रूपमा अशक्त र ७० वर्षभन्दा माथिका नागरिकलाई घरमै नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य केन्द्रहरूमा चिकित्सक, आवश्यक उपकरणसहित आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प भण्डारीले गरेका छन् ।

छल्दीखोला–विचित्र गुफालाई पर्यटकीय क्षेत्र बनाउने, लुम्बिनी–पाल्पा–रिडी–रेसुङ्गा–विचित्रगुफा–कंकेदेउराली–अस्कुना–स्वर्गद्वारी धार्मिक मार्गको प्रवद्र्धन गर्ने भण्डारीको योजना छ ।

त्यस्तै, लुम्बिनी–पाल्पा–रानीमहल–रिडी–रेसुङ्गा–विचित्रगुफा–सन्धिखर्क–सुपादेउराली–तिलौराकोट धार्मिक मार्गको प्रवर्धन गर्ने, नयाँ गाउँ–पिपलधारा–धनमुढा–हाडहाडेलाई सुन्तला/कागती क्षेत्रको रूपमा विकास, उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने घोषणा भण्डारीले गरेका छन् ।

किवी, एभोकाडो, ड्रागन फ्रुट, स्ट्रबेरी जस्ता नयाँ फलफूल उत्पादन र बजारीकरणमा जोड दिने, बाँदर आतङ्क हटाउने कार्यक्रम सञ्चालन गर्ने भण्डारीको चुनावी एजेन्डा छ ।
‘एक घर, एक धारा’ तथा ‘सफा र स्वच्छ गाउँ’ अभियान सञ्चालन, पालिका क्षेत्रका प्रमुख सडकहरू कालोपत्रे र अन्य सडकको स्तरोन्नति गर्ने उनका योजना रहेका छन् ।

माओवादी केन्द्रका पोखरेलको प्रतिबद्धता

धुर्कोट गाउँपालिकाको अध्यक्ष समेत बनिसकेका अध्यक्ष पदका उम्मेदवार भुपाल पोखरेलका चुनावी एजेन्डाहरू लिएर मतदाताकहाँ पुगेका छन् ।

धुर्कोट–४ निवासी भूपाल पोखरेल जनयुद्धकालबाटै माओवादी केन्द्रको राजनीतिमा छन् । पालिका अध्यक्षमा दोहोरिन उनले जनतालाई विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण, विपद् प्रतिकार्य योजना कार्यान्वयन, सबै घरघुरीको बीमालगायत प्रतिबद्धता जनाएका छन् ।

विकास पूर्वाधारमा सडक, पुल, सिंचाइका साथै गाउँपालिकाको केन्द्रबाट सबै वडा कार्यालय जोड्ने बाटो ग्राभेलिङ्ग गर्ने उनको चुनावी एजेन्डा छ ।

खुप खोलामा नमूना झोलुङ्गे पुल हाल्ने र सिंचाइका लागि साना, मझौला र ठूला सिंचाइ आयोजना सञ्चालन गर्ने संकल्प उनले गरेका छन् । पाँच वर्षभित्र ‘एक वडा, एक नमूना’ वा एकीकृत बस्तीको योजना कार्यान्वयन गर्ने, आवश्यक स्थानमा पक्की पुल निर्माण गर्ने उनको योजना छ ।

पालिकाको लागि आवश्यक ठानिएका भवनहरू बनाउनेदेखि ग्याँस र दाउरा अभावमा पर्ने समस्या हटाउन प्रत्येक घरपरिवारलाई इन्डक्सन चुल्हो वितरण गर्नेसम्मका योजना उनले अगाडि सारेका छन् । विद्युत् पुग्न नसकेको स्थानमा सबभन्दा छिटो विकल्पबाट विद्युत् पु¥याउने र महसुलमा अनुदान दिने उनको योजना छ ।

पोखरेलले मिर्गाैला पीडितलाई डायलाइसिसमा सहयोग गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समेटेका छन् ।

‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन गर्ने, लिफ्टिङ्ग खानेपानीका लागि विद्युत् महसुलमा सहयोग या अनुदानको व्यवस्था गर्ने उनको चुनावी एजेन्डा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?