+
+

धनगढीमा गोपाल हमाल : विद्रोही र स्वतन्त्र मतदाताको भर

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख २७ गते १८:२५

२७ वैशाख, धनगढी । सुदूरपश्चिम नेपालका चर्चित व्यवसायी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा दोस्रो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका नृपबहादुर वडसँग झिनो मतान्तरले पराजित भएका थिए ।

बीचमा केही समय हिन्दु राष्ट्र पक्षधर रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले त्यो जिम्मेवारी छाडेर दोस्रो पटक धनगढीको मेयरमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् ।

यो पटक उनले ‘भ्रष्ट राजनीतिलाई कल्याणकारी बनाउने’ नारामा मत मागिरहेका छन् ।

को हुन् गोपाल हमाल ?

सुदूरपश्चिममा गोपाल हमाल आफैंमा एउटा ‘ब्राण्ड नेम’ हो । उनी ‘गोपी दाइ’को रूपमा सुपरिचित छन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेपछि चलाएको ‘सुन्दर सुदूरपश्चिम’ अभियानको सफलताले उनलाई लोकप्रिय बनायो ।

महोत्सव आयोजना र सचित्र पुस्तक प्रकाशनबाट संसारलाई ‘सुदूरपश्चिम सुन्दर छ’ भन्ने सन्देश दिन उनी नेतृत्वको उद्योग वाणिज्य संघ सफल भयो ।

त्यसअघि सुदूरपश्चिमलाई अशिक्षा, गरिबी र देउकी, छाउपडी जस्ता कुप्रथा भएको क्षेत्रको रूपमा लिइन्थ्यो । सुदूरपश्चिमको त्यस्तो नकारात्मक छविलाई सुन्दरमा ब्रान्डिङ गरेर ‘गोपी दाइ’ लोकप्रिय भए । त्योसँगै उनमा राजनीतिक महत्वाकांक्षा पलायो ।

सामूहिक वा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री लगायत सरकारका उच्च अधिकारी र नेतालाई किलोको तौलमा माला लगाइदिने कुप्रथाको सुरुवात पनि सुदूरपश्चिमका यिनै ‘गोपी दाइ’बाट भयो ।

धनगढी विमानस्थलका लागि ‘एक पैसा अभियान’ पनि चलाएका हमालसँग विभिन्न सामाजिक संघ–संस्थामा आवद्ध भएर काम गरेको अनुभव पनि छ ।

हमालका अनुकूलता र प्रतिकूलता

कडा स्वभावका स्पष्ट वक्ता गोपाल हमाल व्यक्तिगत ख्याति, अघिल्लो चुनावमा पराजय भएको सहानुभूति र साझा विवेकशील पार्टीको अप्रत्यक्ष भरथेगमा धनगढीको मेयर बन्ने प्रयत्नमा देखिन्छन् ।

उपमहानगरपालिकामा दलीय नेतृत्व परिवर्तन गरेर नयाँ परीक्षण गर्ने नगरवासीको चाहना उनको लागि वरदान साबित हुनसक्छ । तर, अघिल्लो निर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा पनि पराजित भएका हमालका लागि यसपटक सत्तारुढ गठबन्धन ठूलो चुनौती बन्ने देखिन्छ ।

प्रतिनिधि सभामाथि पटक–पटक असंवैधानिक प्रहार गरेर सत्ताच्युत हुन पुगेको देशको सबभन्दा ठूलो दल नेकपा (एमाले)ले पनि धनगढीमा बलियो उम्मेदवार उठाएको छ । दलहरूभित्रको विद्रोही र स्वतन्त्र मत तान्न सके ‘गोपी दाइ’ ले इतिहास रच्न पनि सक्छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?