
२७ वैशाख, काठमाडौं । काठमाडौं–७ मा नेकपा एमालेबाट निर्वाचित सांसद रामवीर मानन्धर काठमाडौं महानगरपालिकामा मेयर पदका आकांक्षी थिए । तर टिकट नपाएपछि असन्तुष्ट छन्, चुनावी अभियानमा हिंडेका छैनन् ।
केशव स्थापित नेतृत्वको टिमका लागि भोट माग्न एमालेले अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा अन्तिम चुनावी सभा गरिरहँदा मानन्धर भने एमालेले नजित्ने हिसाब सुनाइरहेका थिए । ‘पपुलारिटी भएका, इमानदार र नैतिकवानलाई विस्तारै पार्टीले पाखा लगाइरहेको छ । यसकारण मलाई लाग्छ, काठमाडौंमा एमालेलाई गाह्रो छ’, मानन्धरले अनलाइनखबरसँग भनेका छन् ।
पार्टी विभाजन भएको र सत्ता गठबन्धनले साझा उम्मेदवार चयन गरेकाले पनि एमालेलाई काठमाडौंमा जित्न कठिन रहेको उनको दाबी छ । प्रस्तुत छ, एमाले सांसद मानन्धरसँग अनलाइनखबरले गरेको कुराकानी :
चुनावको सम्मुखमै आफ्नो पार्टीको उम्मेदवारले हार्दैछन् भन्ने सन्देश किन दिइरहनुभएको छ ?
भोट ‘प्याट्रन’ हेर्नुस् न ! त्यसअनुसार कुनै पनि हालतमा नजित्ने परिस्थिति छ भन्दा के गलत ? यथार्थ कुरा भन्नु कार्यकर्ताको धर्म हो । मैले सुरुदेखि नै सत्य कुरा भनिरहेको छु । आज मैले ठिक टाइममा बोलेँ र भोलिदेखि परिचालित हुनुपर्छ ।
तपाईं कार्यकर्ता मात्र होइन, सांसद पनि हो, चुनाव प्रचारको अगुवाई गर्नुपर्ने होइन र ?
म जनप्रतिनिधि पनि हो । मलाई नै पार्टीले वास्ता गरेको छैन । पार्टीका अरु नेताहरु पनि कहाँ हुनुहुन्छ त प्रचारमा ? म त प्रचारमा छैन, छैन । उहाँहरु कहाँ हुनुहुन्छ त ? एकछिन र्यालीमा गएर फोटो खिचाउँदैमा हुन्छ ?
एमालेको समस्या के हो त अहिले ?
नैतिकता र इमानदारिता भएको कार्यकर्तालाई कुनै पनि हालतमा एक पटक अवसर दिनुपर्छ भन्ने मान्यता हो, मेरो ।
त्यो भएन ?
भएन, हुँदैन भएन ।
तपाईं आफैं टिकटको आकांक्षी हुनुहुन्थ्यो । नपाएपछि असन्तुष्टि जनाउनुभएको हो ?
मेरो मात्रै कुरा सुन्नुभयो भने त्यो पनि हो भन्ने ठान्न सक्नुहुन्छ । मेरो मनको कुरा तपाईंले भनेको पनि हुनसक्छ । तर यो सही होइन । सिंगो पार्टी छ, पार्टीले निर्णय गर्ने कुरा हो । पार्टीमा कोही मान्छे नै नपाएर हो त ? मेयरको मात्रै किन ?
उपमेयरमा पनि हेर्नुस् । अनेमसंघ भनेको हाम्रो पार्टीको भातृ संगठन भन्दा माथिको मातृ संगठन हो । कमरेडहरु, दिदीबहिनीहरु, आमाहरु सबै अनेमसंघको झण्डामुनि गोलबन्ध भएर अनेम संघ अगाडि बढाएको हो नि । महिला कोही पनि छैन त एमालेमा अब ? यस्तै हो भने अब अनेमसंघ खारेज गर्नुपर्ने भयो ।
उपमेयरमा नयाँ मान्छेलाई उम्मेदवार बनाएकोमा पनि तपाईंको असन्तुष्टि हो ?
नयाँ पुरानो भन्दा पनि पार्टीमा योगदान के हो ? पार्टीमा लागेको आधार के हो ? पार्टी आन्दोलनमा लागेको आधार के हो ? आफ्नो नजिकको वा सेलिब्रेटी पायो भने सबै कार्यकर्ता ध्वस्त ?
चुनाव भनेको जित्नका लागि पनि हो भनिन्छ, पार्टीले त्यही हेर्यो होला नि ?
जित्नका लागि के हामी चानचुने मान्छे हो ? आन्दोलन जितेर, गोली थापेर हिंडेको कार्यकर्ताहरु होइनौं हामी ? हामीले नजित्ने ? अहिलेसम्म कुन इमानदार कार्यकर्ताले हारेको छ काठमाडौंमा । मेयरको पनि कुरा यही हो । २०७४ मा विद्यासुन्दर शाक्य जिल्ला पार्टी सचिव मात्रै हो । उहाँले जितेको जित होइन ?
उम्मेदवार छनोट गर्दा कहाँ घाटा लाग्यो त ?
केशव स्थापित प्रदेशको मन्त्री हुनुभएको छ । काठमाडौंबाट उहाँले जितेको क्षेत्रमा यति बजेट पारेर विकास गरेँ भन्ने देखाउन सक्नुहुन्छ ? मन्त्री हुँदा पार्टीबाट कारवाही परेको मान्छे सक्षम हुन्छ ?
तपाईंले यस्तो बोलिरहँदा पार्टीले कारवाही गर्न सक्छ नि ?
सत्य बोल्दा कारवाही हुन्छ भने आजै कारवाही गरिदियो भने राम्रो । मैले सत्य बोल्दा कारवाही हुन्छ भनेर पृथ्वी गोलो छ भन्दा कारबही परेको जस्तो हुन्छ ।
एमालेले कारवाही गरेपछि एकीकृत समाजवादीमा जाने हो ?
मेरो योजना चाहिँ अहिले नभनौं । म जुनसुकै पार्टीमा गए पनि सक्षम छु नि ! त्यसैले मलाई कारवाही गर्छ कि भन्ने चिन्ता छैन । पार्टी फेरेको फेर्यै गरेको मान्छेलाई अवसर दिइरहेको छ, म पनि पार्टी फेरेर आउँदा अबसर पाउँछु कि ! तर म केशव स्थापित जस्तो पार्टी फेर्दै हिंड्ने मान्छे होइन । म पार्टीको एउटा बफादार मान्छे हो । मलाई कुनै डर छैन, कसैसँग भर पनि होइन ।
पार्टीले आफ्नो सही मूल्यांकन गरेन भन्ने गुनासो हो ?
एउटा प्रणालीमा गएको भए चित्त दुखाइ नै हुँदैनथ्याे । विद्यासुन्दर शाक्य र रमेश डंगोलले के गल्ती गरेका थिए र दोहोर्याइएन । विद्यासुन्दरको के कमजोरी थियो महानगरमा ? पार्टीले भनेको एउटा मोनोरेल ल्याएन ।
अरु के–के गरेको छैन ? स्मार्ट सिटी भनेको के हो भन्ने हामीले जनतालाई बुझाउन सकेनौं । त्यो भएन भनेर हुन्छ ? पार्टी भनेको गणेश प्रवृत्तिलाई मात्रै वरपर जोड्ने हो र ? हामी जस्ता कार्यकर्ता पनि जिउँदैछौं भन्न खोजेको हो मैले ।
त्यसो भए काठमाडौंबारे तपाईंको मूल्यांकन के हो ?
काठमाडौं महानगरपालिकामा ३ लाख ४ हजार मतदाता छन् । ०७४ को चुनावभन्दा अहिले २० बढी बढेको छ ।
तर हाम्रो (एमाले) मा अहिले केही समस्या छन् । उम्मेदवारमै समस्या भयो । काठमाडौं महानगर र कीर्तिपुर नगरपालिकामा मात्रै नयाँ उम्मेदवार भए । अरु सबैमा दोहोरिएका छन् । यसको कारण मैले सोध्न पाउनुपर्छ नि होइन ? यो प्रश्न गर्दा कसैलाई अप्ठ्यारो पर्छ भने सबैभन्दा बेवकुफ काम यहींबाट हुन्छ ।
अहिले पार्टी ब्रेक भएर केही साथीहरु बाहिर हुनुहुन्छ । त्यो भनेको काठमाडौं महानगरपालिकामा ०७४ सालमा पाएको मत पनि सबै छैन् भन्ने हो । तैपनि मत परिणाम हेर्ने हो भने ०७४ मा १ देखि ३२ सम्मकै वडामा धेरै मतान्तरले एमालेले जितेको ३ नम्बर वडा हो । अरु वडामा सय, डेढ सय, तीन सयसम्म मात्र फरक छ । धेरै ठाउँमा कांग्रेस र एमाले बीच प्रतिस्पर्धा भएको थियो ।
अहिले पाँच दलीय गठबन्धन बनेको छ हाम्रो विरुद्ध । यो गठबन्धनलाई आधार मान्ने हो भने हामीलाई समस्या छ । हाम्रै पार्टीका मान्छेले हाम्रै पार्टीका उम्मेदवारलाई भोट दिँदैन, यसका पछाडि कारण छ । हाम्रै पार्टीका कतिपय कार्यकर्ता, विगतका चुनाव जितेकाहरु नै अर्को पार्टीमा गइसकेका छन् ।
एक नम्बर, दुई नम्बर वडाध्यक्षमा पहिले चुनाव जितेकाहरु नै उम्मेदवार हुनुहुन्छ । तीन नम्बर वडामा दीपक केसीले एमालेबाट चुनाव जित्नुभएको थियो । अहिले उहाँ नेकपा एकीकृत समाजवादीमा गइसक्नुभयो । उहाँको ठाउँमा अहिले एमालेबाट नयाँ व्यक्ति हुनुहुन्छ । चार नम्बर वडामा पपुलारिटी भएका मोहन बिस्टले टिकट पाउनुभएन, अर्कोले पाए । पपुलारिटी भएका, इमानदार र नैतिकवानलाई विस्तारै पार्टीले पाखा लगाइरहेको छ । यसकारण मलाई लाग्छ– काठमाडौंमा एमालेलाई गाह्रो छ ।
समाजवादीले काट्ने भोट त पूर्व माओवादीबाट आएकाहरुबाट पूर्ति हुन्छ भन्छन् नि एमाले नेताहरु ?
मैले भनेको होइन, तथ्याङ्क हेर्नुहोस् न । म डाटावेशमै भन्न सक्छु ३२ वटै वडाको ।
प्रतिक्रिया 4