+
+

विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ९:२८
एक सामुदायिक विद्यालयको कक्षा कोठा । फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।

सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । विद्यालयहरु बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको संख्या आजबाट बढेको छ

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सन्चालन भइरहेका छन् ।

काठमाडौं र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर २८ र २९ गते सेवा प्रभावित हुने जनाएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले भने सीमित कर्मचारीहरुको भरमा अत्यावश्यक सेवा दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?