+
+

दिल्लीका विपन्नको पीडा : ग्यास बचाउन दिनको एकपटक खाना पकाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १२:४६

दिल्लीको कल्याणपुरीस्थित घुम्तीमा चिया पसल चलाउने पप्पीदेवीले एलपीजी सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको थाहा पाउने बित्तिकै लामो सास फेरिन् ।

भाडाको कोठामा एक्लै बस्ने पप्पीदेवी भन्छिन्, ‘खुद्रामा ग्यास किन्छु, एक किलोमा १०० रुपैयाँ तिर्नुपर्थ्यो, अहिले अझै धेरै तिर्नुपर्छ । तर चियाको मूल्य बढाउन सकिंदैन ।’

नजिकै बस्ने शान्तिदेवीका छोराहरूले मासिक १२ हजार रुपैयाँमा काम गर्छन् । शान्तिदेवी भन्छिन्, ‘घरको आम्दानी बढेको छैन, तर सबै कुरा महंगो हुँदै गएको छ, अरू कुरामा सम्झौता हुनसक्छ तर ग्यास सिलिन्डर नभई कसरी चल्छ ?’

उनी भन्छिन्, ‘महंगीको यो झट्का यस्तो छ कि यसको अगाडि करेन्ट पनि सामान्य लाग्छ, सरकारले हामीलाई करेन्ट लगाइरहेको छ र हामी रोइरहेका छौं ।’

पप्पीदेवी र शान्तिदेवी जस्ता महिलालालाई यो बढ्दो महंगीलाई कसरी सामना गर्ने थाहा छैन । शनिबार ग्यास कम्पनीले घरेलु ग्यास सिलिन्डरको मूल्य ५० भारतीय रुपैयाँ बढाएको छ । दिल्लीमा अब घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्य ९९९ रुपैयाँ भएको छ ।

घरेलु एलपीजी सिलिन्डर

यसअघि गत वैशाख १ गते ग्यास कम्पनीहरूले व्यावसायिक ग्यास सिलिन्डरमा एक सय रुपैयाँ बढाएका थिए । १९ किलोको सिलिन्डरको मूल्य अहिले दिल्लीमा २ हजार ३५५ रुपैयाँ छ । पछिल्लो ४५ दिनमा नै १४ किलोको घरेलु ग्यास सिलिन्डरमा १०० रुपैयाँ बढेको छ । जनवरी २०२१ मा ग्यास सिलिन्डरको मूल्य ६९४ रुपैयाँ थियो । फेब्रुअरी २०२१ मा मूल्य बढेर ७६९ रुपैयाँ भयो ।

त्यसपछि चैतमा भाउ बढेर सिलिन्डर ८१९ रुपैयाँ पुग्यो । अर्को महिना अप्रिलमा सिलिन्डरको मूल्य १० रुपैयाँले घटेर ८०९ रुपैयाँ पुगेको थियो । भारतका ग्यास कम्पनीहरूले हरेक महिना सिलिन्डरको मूल्य समीक्षा गर्छन् र आवश्यक पर्दा मूल्य बढाउँछन् ।

चुनावमा…

वैशाख ७ गते मूल्यवृद्धि हुनुअघि चैत २ गते ग्यास सिलिन्डरको मूल्य बढेको थियो । त्यसपछि सिलिन्डरको मूल्य बढेर ९४९ रुपैयाँ पुगेको थियो । तर त्यसअघि चुनावी माहोल थियो र पाँच राज्यमा चुनाव भइरहेको थियो ।

मार्च २०२० पछि ग्यासको मूल्यमा अन्तिम पटक ६ अक्टोबर २०२१ मा वृद्धि भएको थियो, जबकि सिलिन्डरमा ५० रुपैयाँ बढाइएको थियो ।

चुनावी माहोलमा कम्पनीहरूले ग्यासको मूल्य बढाउन हिच्किचाएका थिए । पछिल्लो समय एलपी ग्यासको मूल्य बढेको मात्रै होइन, भारतका अधिकांश स्थानमा पेट्रोल पनि प्रतिलिटर १०० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । अहिले दिल्लीमा एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ छ ।

मनभरीको पीडा

इन्धन र तेलको मूल्यवृद्धिले खाद्यवस्तुमा पनि असर परेको छ । आटा, चामल, दालदेखि भान्सामा प्रयोग हुने सबै वस्तुको मूल्य बढेको छ । महंगीले सबैभन्दा बढी आर्थिक प्रणालीको अन्तिम चरणमा रहेका मानिसहरूलाई असर गरेको छ ।

५० वर्षीय मानभरी कल्याणपुरीमा कुखुराको मासु पसल चलाउँछन् । मानभरी भन्छिन्, ‘सिलिन्डर यति महंगो भइसकेको छ कि किन्न हाम्रो बजेटभन्दा बाहिर छ, तर ग्यास नभई खाना बनाउन सकिंदैन, खाना नबनाए बालबालिका भोकै सुत्छन्, त्यसैले अन्य आवश्यक खर्च काटेर ग्यास किन्छौं ।’

मानभरी भन्छिन्, ‘आटा, दालको खर्च घटाउन सकिन्छ, तर ग्यासको मूल्य घट्दैन । ग्यास नभई घर चल्न सक्दैन । यही खर्च धान्नका लागि छोराछोरीको खर्च घटाउँदै छौं ।’

त्यहाँ बस्ने एक महिलाले नाम नखुलाउँदै अहिले दिनमा एकपटक मात्रै खाना पकाउने गरेको र महंगीका कारण परिवारका सदस्यले खाना कम गरेको बताइन् ।

कमजोर जीवनस्तर

मानभरी भन्छिन्, ‘हामीले एकै पटक खाना बनाउँछौं र त्यसैलाई दुई पटक खान्छौं । पहिले दिनमा धेरै पटक चिया बनाइदिन्थ्यौ, अहिले धेरैमा दुई पटक बनाउँछौं । कहिलेकाहीं दिनमा एक पटक मात्र बनाउँछौं ।’

उनी भन्छिन्, ‘जति पटक ग्यास बाले पनि कम ग्यास खर्च गर्नुपर्छ भन्ने सोचाइ राख्छौं ।  दुई महिनासम्म सिलिन्डर चलाउने प्रयास गर्छौं ।  दुई महिनासम्म सिलिन्डर चलाएनौं भने किन्न नै गाह्रो पर्छ ।’

महंगीले जनताको जीवनस्तर घटाउन बाध्य बनाएको छ । कुनै समय गुरुग्रामको फ्ल्याटमा बस्ने विजय (नाम परिवर्तन) अहिले सस्तो कोठा लिएर कल्याणपुरीमा बस्छन् ।

विजय भन्छन्, ‘ग्यास सिलिन्डरमा मात्रै नभएर सबै कुरामा महंगी बढेको छ । जनवरी २०२१ पछि ग्यास सिलिन्डरको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । तर यो अनुपातमा तलब बढेको छैन । कोभिड भन्दा पहिले म जति तलबमा काम गर्थें, अहिले त्यो तलब आधा भएको छ ।’

विजय भन्छन्, ‘कोभिड पछि २५ प्रतिशत कम तलबमा जागिर सुरु गरेको छु । आवश्यकताको खर्च पनि धान्न सकिरहेको छैन । पहिले गुरुग्राममा फ्ल्याट लिएर बस्ने गर्थें, अहिले सानो कोठा लिएर बस्दै छु । पहिले बचत थिएन, तर जीवनशैली राम्रो थियो, अहिले यस्तो अवस्थामा पनि पटक-पटक ऋण लिनुपर्छ ।’

महबुब अली तरकारी बेचेर आफ्नो गुजारा गर्छन् । ‘घरेलु ग्यास यति महँगो भएको छ कि खान पनि गाह्रो भएको छ । जनताले तरकारी किन्न सक्ने अवस्था नै छैन । पहिले आधा किलो तरकारी किन्नेहरूले अहिले एक पाउ मात्रै किन्छन् । महंगीले मेरो बिक्रीलाई पनि असर गरेको छ, आम्दानी घटेको छ,’ उनी भन्छन् ।

त्यहाँबाट निस्किरहेकी एक सेवाग्राही महिला भन्छिन्, ‘पेन्सन पाइनँ, आम्दानीको अर्को स्रोत छैन । सिलिन्डर किन्न मुस्किलले पुगेका थियौं, अहिले सरकारले मूल्य बढाएको छ । सरकारले हामीजस्ता जनताको बारेमा सोचेकै छैन । यो महंगीले गर्दा भगवानले हामीलाई बरु उठाए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।’

सरकारले आफूहरुको अवस्था बुझेको भए ग्यासको मूल्य बढाउनुको सट्टा घटाउँथ्यो भनेर उनी भन्छिन् । ‘तर हाम्रो अवस्था सरकारले देखिरहेको छैन,’ उनी गुनासो पोख्छिन् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?