+
+
दुईपटक स्वतन्त्रबाट वडाध्यक्ष जितेका नरेन्द्र बस्नेत :

पार्टीले पत्याएन, मतदाताले पत्याए  

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ १ गते १४:३५

१ जेठ, बुटवल । ‘धेरैजसो मान्छे कुनै न कुनै पार्टीको सदस्य छन् यस्तो अवस्थामा पार्टीबिना एक्लै चुनाव लड्नु फलामको चिउरा चपाउनु जस्तै हो,’ ६२ वर्षीय नरेन्द्र बस्नेतले भने ।

तर उनै बस्नेत बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भएर दोस्रो पटक निर्वाचित भए । ‘चुनावमा उठ्छु भनेर पार्टीमा नाम दिएको थिएँ, तर टिकट नदिने देखेपछि वैशाख ११ गते नेपाली कांग्रेसबाट राजीनामा दिएर १२ गते नोमिनेसन गरेको हुँ,’ वडाध्यक्षमा निर्वाचित भएपछि बस्नेतले भने, ‘पार्टीले पत्याएन, तर मतदाताले पत्याए र जिताए पनि ।’

२०५४ सालमा पनि पार्टीले टिकट नदिएपछि बस्नेतले स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका थिए । त्यतिबेला उनलाई ‘डेरावाल’ वडाध्यक्ष भनिन्थ्यो । किनकि उनको आफ्नो घर थिएन । दाङको हेकुली दंगीशरणबाट बसाइँ सरेर २०४० सालदेखि बुटवलमा बस्दै आएका बस्नेतले वडावासीको समस्या र सुखदुःखमा दिनरात नभनी निरन्तर खटेको हुनाले मतदाताले विश्वास गरेर जिताएको बताए ।

‘म सधैं फिल्डमा खटिने र जनतामा समर्पित मान्छे हुँ, त्यही भएर एक्लै लड्दा पनि दुईपटक जितें,’ बस्नेतले भने, ‘कांग्रेस मात्रै हैन, सबै दलले राम्रो भन्दा हाम्रोलाई काखी च्याप्ने परिपाटी छ, तर जनताले सधैं राम्रो उम्मेदवार रोज्छन्, यो कुरामा नेताहरु सिरियस बन्न जरुरी छ ।’

छोरी प्रतिमाको दुर्घटनामा मृत्युपछि इन्स्योरेन्स कम्पनीले एक दशकअघि दिएको ९ लाख रुपैयाँबाट अक्षयकोष बनाएर बस्नेतले हरेक वर्ष वडाका तीनवटा सरकारी विद्यालय र एउटा मदरसाका ३८ जना विद्यार्थीलाई जनही ५०० रुपैयाँका दरले छात्रवृत्ति रकम बाँड्दै आएका छन् । बस्नेतले वडाका सरकारी विद्यालयका उत्कृष्ट शिक्षकलाई तीन हजार नगद पुरस्कारबाट हरेक वर्ष सम्मान गर्दै आएका छन् । घर बहाल र छोराको कमाइको केही हिस्सा सामाजिक काममा खर्च गर्ने गरेको उनले बताए ।

‘सधैं वडाबासीको सुखदुःखमा साथ दिने र समाजसेवामा रमाउने सरल स्वभावका कारण उहाँले जित्नुभएको हो,’ स्थानीय अशोक श्रेष्ठले भने, ‘चुनावका बेला मात्र होइन, अरु बेला पनि वडाका सबै मतदाताको घरमा गएर समस्या भए समाधान खोज्नुहुन्छ, बिरामीलाई बोकेरै अस्पताल पुर्‍याउनुहुुन्छ राजनीति गर्नेले उहाँबाट सिक्नुपर्छ ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट वडाध्यक्ष लडेका बस्नेत एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । अघिल्लोपटक पार्टीभित्रकै अन्तरघातले चुनाव हारेको बताउने बस्नेतले यसपटक जित्छु भनेर टिकट मागेका थिए, तर पार्टीले माधव प्रधानलाई टिकट दियो ।

बस्नेतले पार्टीका आधिकारिक उम्मेदवार प्रधान र निवर्तमान वडाध्यक्ष एवं एमालेका उम्मेदवारलाई पछि पार्दै विजयी भए । २०३६ सालको जनमत संग्रहको बेलादेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएका बस्नेत नेपाली कांग्रेसको दुई कार्यकाल क्षेत्रीय सदस्य भएका थिए ।

जनमत संग्रहको आन्दोलनमा काठमाडौंको माइतीघरबाट पक्राउ परेको बेला पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले प्रहरीलाई फोन गरिदिएर छुटेको उनी स्मरण गर्छन् । पार्टीले आफूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पनि आफूले चारदशक बिताएको पार्टीप्रति कुनै बैरभाव नभएको बस्नेतले बताए ।

वडामा चार जना सदस्य नेपाली कांग्रेसकै उम्मेदवार निर्वाचित भएकाले उनीहरुसँग मिलेर वडाको विकासमा लाग्ने बस्नेतले बताए । ‘तिनाउ तटबन्ध, जितगढीको विकास र वडामा प्राविधिक शिक्षासहित सरकारी विद्यालयको स्तरोन्नति नै मेरा प्राथमिकता हुन्,’ बस्नेतले भने ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?