+
+

काठमाडौं महानगरको नेतृत्वमा ४३ हजार मत निर्णायक !

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ २ गते १:१०

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना जारी छ । पाँचवटै वडाको आधा मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) दोब्बर मतले अघि छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई स्वतन्त्र उम्मेदवार बालेनले दोब्बरले पछि पारेपछि मत परिणामबारे अनेकन् अड्कलबाजी भइरहेको छ । तर, चुनावी परिणामलाई यी पाँच वटा वडाले मात्रै निर्णय दिन सक्दैन ।

काठमाडौं महानगरका ३२ वटा वडा छन् । जहाँ ३ लाख २४२ मतदाता रहेकोमा १ लाख ९१ हजार १८६ जनाले मतदान गरेका छन् । बालेनले दोब्बरले लिड गरेको ५ वटा वडाको आधा भन्दा कम मतगणना हुँदै गर्दा हो ।

बालेनले काठमाडौंको बाहिरी शहरका मतगणना हुँदा अझै निरन्तर बढ्न सक्ने र भित्री शहर (कोर सिटी) को मत गणनामा दलीय उम्मेदवारले लिड गर्ने स्थानीय नेता/कार्यकर्ता र समर्थकहरु दाबी गर्छन् । तथ्याङ्कगत रुपमा हेर्दा खसेको मतमा काठमाडौंको भित्री शहरको ४३ हजार ६७ छ भने काठमाडौं बाहिरी शहरको मत १ लाख ४१ हजार ४७६ देखिन्छ ।

स्वयं बालेनले आफूलाई बाहिरी शहरको मत बढी आउने बताउने गरेकाले पनि रैथाने मत कसको पक्षमा खसेको छ भन्नेले काठमाडौं महानगरपालिकाको नेतृत्व चयन गर्ने तर्क गर्नेहरु तथ्य नजिक रहेको पाउन सकिन्छ ।

कोर सिटीमा पर्ने वडाहरु
वडा जम्मा मतदाता खसेको मत प्रतिशत
१२ ५,६९९ ४,०१६ ७०.४७
१८ ३,९३९ २,७४० ६९.५६
१९ ५,०७४ ३,४८३ ६८.६४
२० ४,६१४ ३,०१० ६५.२४
२१ ६,६१५ ४,४१४ ६६.७३
२२ ६,३०२ ४,२५० ६७.४४
२३ ४,४७७ ३,०३६ ६७.८१
२४ ५,१४९ ३,४७४ ६७.४७
२५ ६,६७२ ४,४४१ ६६.५६
२७ ४,५२० ३,५६१ ६५.६९
जम्मा मत ५३,०६१ ३६,४२५ ६८.६४

बाहिरी शहरका मतदाताले बढी मत खसाल्ने र भित्री शहरको मत कम खस्ने मतदानपूर्वको आंकलनलाई मतदानपछिको तथ्याङ्कले गलत सावित गरिदिएको छ । मतदानको प्रतिशत हेर्दा भित्री शहरबाट ६८.६४ मत खसेको देखिन्छ भने बाहिरी क्षेत्रबाट ६२.६२ मात्रै प्रतिशत खसेको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वटामध्ये १२ वटा वडा भित्री शहरमा पर्छन् । जस अन्तर्गत १० वटा वडा पुरै भित्री शहरमा र दुई वटा वडाको आधा भाग भित्री शहरमा पर्छ । पुरै भित्री शहरमा पर्ने वडाहरु हुन्– १२ टेकु, १८ नरदेवी, १९ दमाइटोल, २० भीमसेनस्थान, २१ ज्यावहाल, २२ टेवबहाल, २३ ओमवहाल, २४ मखन, २५ जनवहाल र २७ महाबौद्ध क्षेत्र । यी १० वटा वडामा ५३ हजार ०६१ मतदाता थिए । जसमध्ये ३६ हजार ४२५ ले मतदान गरेका छन् । यो ६८.६४ प्रतिशत हो ।

वडा जम्मा मतदाता खसेको मत प्रतिशत
१३ १२,१५९ ७,६५८ ६२.९८
१७ ८,१९९ ५,६२७ ६८.६३
जम्मा मतदाता २०३५८ १३२८५ ६५.२५
आधा १०१७९ ६६४२.५

काठमाडौं महानगरपालिका १३ र १७ नम्बर वडाको आधा भाग भित्री शहरमा पर्छ । १३ नम्बर वडा कालिमाटी क्षेत्रमा १२ हजार १५९ मत र १७ नम्बर वडा क्षेत्रपाटी क्षेत्रमा ८ हजार १९९ मत थियो । जसमध्ये १३ नम्बर वडाबाट ७ हजार ६५८ र १७ नम्बर वडाबाट ५ हजार ६२७ मत खसेको छ । यो ६५.२५ प्रतिशत हो ।

यी दुई वडाबाट खसेको जम्मा मत १३ हजार २८५ हो । यसमध्ये आधा मत भित्री शहरको र आधा मत बाहिरी शहरको मतका रुपमा विभाजन गर्दा भित्री शहरबाट ६ हजार ६४२ मत खसेको देखिन्छ । यसरी केलाउँदा भित्री शहरबाट ४३ हजार ६७ मत खसेको देखिन्छ भने बाहिरी शहरबाट १ लाख ४१ हजार ४७६ मत खसेको देखिन्छ ।

बाहिरी शहरकै मत गन्न बाँकी

काठमाडौंको बाहिरी शहरको ठूलो मत गन्नै बाँकी छ । गणना भैरहेको ५ वटा वडामा स्वतन्त्र उम्मेदवारले दोब्बले लिड गरेका छन् । बाहिरी शहरको मतमा स्वतन्त्र उम्मेदवारले अझै बढीले लिड गर्न सक्ने स्थानीय नेता/कार्यकर्ता र समर्थकहरु स्वीकार्छन । स्वयमं दलीय उम्मेदवारहरु भने अब विस्तारै स्वतन्त्र उम्मेदवार मत गणनामा पछि पर्दै जाने जिकिर गर्छन ।

गणना भैरहेको एक नम्बर वडा नक्साल क्षेत्रमा ३ हजार ७२९ मतदाता थिए । त्यसमध्ये २ हजार ३१८ ले मतदान गरेका थिए । वडा नम्बर २ लाजिम्पाट क्षेत्रमा मा ५ हजार ३८२ मतदाता थिए । ३ हजार ३९७ जनाले मात्रै मतदान गरे । वडा नम्बर ३ महाराजगञ्ज क्षेत्रमा १० हजार १५३ मध्ये ६ हजार २३६ जनाले मतदान गरे भने वडा नम्बर ४ बालुवाटार क्षेत्रमा १५ हजार ५५३ मध्ये ९ हजार ४४१ जनाले मतदान गरेका छन् । वडा नम्बर ३२ कोटेश्वर क्षेत्रका १८ हजार ९१३ मध्ये १२ हजार १५ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

यसबाहेक वडा नम्बर ५ हाँडीगाउँ, ६ बौद्ध, ७ मित्रपार्क, ८ पशुपति क्षेत्र, ९ गौशाला, १० बानेश्वर, ११ त्रिपुरेश्वर, १४ कलंकी, १५ डल्लु, १६ सोह्रखुट्टे, २६ लैनचौर, २८ पुरानो बसपार्क, २९ डिल्लीबजार, ३० ज्ञानेश्वर, ३१ भीमसेनगोला शान्तिनगर क्षेत्रको मत गन्नै बाँकी छ ।

बाहिरी शहरको मत

बाहिरी शहरको मत
वडा जम्मा मतदाता खसेको मत प्रतिशत
३,७२९ २,३१८ ६२.१६
५,३८२ ३,३९७ ६३.१२
१०,१५३ ६,२३६ ६१.४१
१५,५५३ ९,४४१ ६०.७
५,९९९ ४,०७९ ६७.९९
१४,९६६ ९५६७ ६३.९२
१४,५३७ ९,३४३ ६८.३२
५,३५८ ३,७५४ ७०.०६
१२,१३२ ७,५८० ६२.४३
१० ११,५०३ ७,११० ६७.६९
११ ५,९५१ ३,७४९ ६३
१४ १७,७१९ १०५६२ ५९.६१
१५ १३,०७१ ८,७२० ६६.७१
१६ २०,१७५ १२,३३६ ६१.६१
२६ ११,७५४ ७,३७३ ६८.४
२८ ४,५२० २,९९७ ६६.३१
२९ ८,२६१ ५,००८ ६०.६२
३० ८,१३९ ४,९०१ ६०.२२
३१ १८,१०७ १०,९९० ६०.६९
३२ १८,९१३ १२,०१५ ६५.०४
जम्मा मतदाता २,२५,९२२ १,४१,४७६ ६२.६२

आशावादी कांग्रेस र एमाले

मत गणना भइरहेको १,२,३,४ र ३२ वडा एमालेको राम्रो पकड भएको क्षेत्र मानिन्छ । ३२ नम्बर वडालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रभाव क्षेत्रका रुपमा लिइन्छ । तर, यी वडाहरुबाट एमाले र एकीकृत समाजवादीका उम्मेदवारले अपेक्षित मत पाएका छैनन् ।

एमालेका मेयर उम्मेदवार केशव स्थापित यी चार वटै वडामा स्वतन्त्र उम्मेदवार बालेनसँग दोब्बर मतले पछाडि छन् भने नेकपा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोलसँग तेब्बर मतले पछाडि परेका छन् ।

चार वटा वडामा एमाले मतदाताले मेयरमा बालेन र उपमेयरमा सुनितालाई रोजेको देखिन्छ । परिणाममा कांग्रेस सहितको पाँच दलीय सत्तागठबन्धनका तर्फबाट उपमेयरका साझा उम्मेदवार श्रेष्ठ पछाडि परेका छन् ।

तर, एमाले आफ्नो पडक रहेको चार वटा वडामा पछि परे पनि अन्य वडामा आशावादी देखिन्छ । एमालेका नेताहरु सबैभन्दा बढी मतदाता रहेको वडा नं. १६ मा, वडा नं. ३१ मा आशावादी छ । यसबाहेक मतगणना हुन बाँकी ५, ६, ७, १३, १५, १८, २०, २१, २२, २४, २७ मा पार्टीले बलियो मत प्राप्त गर्ने दाबी गरेको छ । वडा नम्बर ८, १२, १४, २३, २५ र ३० मा भने कडा प्रतिस्पर्धा हुने एमालेको पूर्वानुमान छ ।

यस्तै, पाँच दलीय सत्तागठबन्धनबाट साझा उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पनि एमालेले जित्ने दाबी गरेका वडाहरुसहित थप वडामा पार्टीको र गठबन्धनको मत रहेको दाबी गरेको छ । कांग्रेस नेताहरु एमाले भन्दा आफुहरुको जितको संभावना निकै धेरै रहेको जिकिर गर्छन् ।

कांग्रेस नेताहरुका अनुसार गठबन्धनले सबैभन्दा धेरै आश गरेका वडाहरु हुन्– ७, ८, १३, १४, १६, २३, २६ लगायत । वडा नम्बर १६ सबैभन्दा बढी मतदाता भएको वडा हो । जहाँ २० हजार १७५ मतदाता थिए । त्यसमध्ये १२ हजार ३३६ जनाले मतदान गरेका छन् ।

दोस्रो बढी मतदात रहेको वडा ३२ का १८ हजार ९१३ मध्ये १२ हजार १५ जनाले मतदान गरेका छन् । यो वडाको मतगणनामा स्वतन्त्र उम्मेदवारले नै दलीय उम्मेदवारलाई निकै पछाडि पारेको देखिन्छ । वडा ३१ तेस्रो बढी मतदाता रहेको वडा हो । जहाँका १८ हजार १०७ मध्ये १० हजार ९९० जनाले मतदान गरेका छन् ।

वडा १४ मतदाताको संख्यामा चौथो नम्बरमा पर्दछ । १४ नम्बर वडाका १७ हजार ७१९ मध्ये १० हजार ५६२ जनाले मतदान गरेका छन् ।

पाँचौ वढि मतदाता संख्या भएको वडा नम्बर ४ का १५ हजार ५५३ मध्ये ९ हजार ४४१ जनाले मतदान गरेका छन् ।

वडा नम्बर ६ छैटौं बढी मतदाता भएको वडा हो । जहाँका १४ हजार ९६६ मध्ये ९ हजार ५६७ जनाले मतदान गरेका छन् । मतदानको संख्या हिसावले वडा नम्बर १५ आठौं नम्बरमा पर्छ ।

९ वडा मतदाताको संख्याको हिसावले १० औं स्थानमा छ । वडा २६ मतदाता संख्याको हिसाले ११ औं स्थानमा पर्छ । १५ नम्बर वडाका १३ हजार ०७१ मध्ये ८ हजार ७२० जनाले मतदान गरेका छन् ।

वडा नम्बर ३ मतदाता संख्याको हिसाबले १३ औं स्थानमा छ । जहाँका १० हजार १५३ मध्ये ६ हजार २३६ जनाले मतदान गरेका छन् । वडा नम्बर २९, ३०, १७ मा ८ हजार बढी मतदाता छन् । ६ हजार बढी मतदाता भएको वडाहरु हुन– २५, २१ र २२ । ५ हजार बढी मतदाता भएका ८ वटा वडाहरु छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?