+
+
Shares

बालेन र सुदनविरुद्ध दोस्रो जाहेरी पनि प्रहरीमा पुग्यो, आयोग पठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १२:३१

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध अर्को जाहेरी पनि परेको छ ।

युवराज सफल नाम गरेका व्यक्तिले साह र गुरुङविरुद्ध जाहेरी लिएर आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।

परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जाहेरी आएको पुष्टि गरे ।

‘उहाँहरूविरुद्ध आज पनि जाहेरी आएको छ । योसँगै दुई वटा जाहेरी प्राप्त भएको छ,’ एसपी भट्टराईले भने ।

मंगलबारमात्रै साह र हामी नेपालका संयोजक तथा जेनजी अगुवा गुरुङविरुद्ध एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समीक बडालले जाहेरी लिएर पुगेका थिए ।

यी दुवै जाहेरी अहिलेसम्म दर्ता गरिएको छैन ।

२३ र २४ भदौमा भएका घटनाहरू छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा उच्चस्तरीय आयोग बनाइएको छ । अहिले जाहेरी परेका विषय पनि आयोगकै क्षेत्राधिकारभित्र पर्ने भन्दै प्रहरीले आयोगमा पठाउने तयारी गरेको छ ।

‘अहिले प्राप्त भएका जाहेरीहरू हाम्रो भन्दा पनि आयोगको क्षेत्राधिकारमा पर्छन् । हामी आयोगमै पठाउँछौं,’ परिसर स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसअघि सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।

२३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?