+
+

स्थानीय निर्वाचनको फरक नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २१:०८

देशभरका ७५३ स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा सम्पन्न भएको छ । केही मतदानस्थलमा छिटपुट घटना घटेकाले पुनः मतदान गर्नुपर्ने अवस्था सिर्जना भयो । यता, निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूको प्रारम्भिक नतिजा सार्वजनिक हुन सुरु भएको छ । यो स्थानीय निर्वाचन उम्मेदवारीको हिसाबले कस्तो रह्यो ? दलगत र स्वतन्त्र रूपमा कति र कस्ता उम्मेदवारी परे ? अघिल्लो निर्वाचनको तुलनामा दलगत र स्वतन्त्र उम्मेदवारी घट्यो वा बढ्यो ? महिला र युवाहरूको प्रतिनिधित्व समग्र र दलगत रूपमा कस्तो रह्यो ?

यस्ता प्रश्नको उत्तर खोज्ने क्रममा ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ले अनलाइनखबर डटकम सँगको सहकार्यमा उम्मेदवारहरूको समग्र तथ्यांकलाई केलाउने कोसिस गरेको थियो ।

यो लेख उक्त तथ्यांकको विश्लेषणमा आधारित छ ।

पार्टीगत उम्मेदवारीको अवस्था

स्थानीय निर्वाचन–२०७९ मा नेकपा एमालेले कुल ७५३ मध्ये ७३० स्थानीय तहमा अध्यक्ष/प्रमुख पदमा उम्मेदवारी दिएको छ । यसरी सबैभन्दा बढी उम्मेदवारी दिनेमा एमाले पहिलो स्थानमा रहन सफल भएको छ । एमालेले स्थानीय निर्वाचन २०७४ को निर्वाचनमा भन्दा अहिले थप पाँच स्थानीय तहमा अध्यक्ष/प्रमुखको उम्मेदवारी दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गत निर्वाचनमा भन्दा यसपालि अध्यक्ष/प्रमुखको उम्मेदवार संख्या बढायो । गत निर्वाचनमा ५०४ तहमा अध्यक्ष/प्रमुखको उम्मेदवारी दिएको राप्रपाले यसपालि यो संख्या बढाएर ५२७ पुर्‍याउन सफल भयो ।

उम्मेदवारको संख्यामा सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र नेपाल कम्प्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष/प्रमुखमा उम्मेदवारी अघिल्लो निर्वाचनको तुलनामा घट्यो । गत निर्वाचनमा भन्दा यसपालि कांग्रेसबाट अध्यक्ष/प्रमुखको उम्मेदवारी संख्या १३ प्रतिशतले घट्दा माओवादी केन्द्रको २९ प्रतिशतले घट्यो । सम्भवतः गठबन्धन वा अन्य कारणले माओवादी केन्द्रको अध्यक्ष/प्रमुखमा उम्मेदवारी संख्या अन्य दलहरूको तुलनामा सबभन्दा बढी खुम्चिन पुग्यो । गठबन्धनका अन्य घटक जनता समाजवादी पार्टीले भने पहिलेभन्दा केही उम्मेदवार संख्या बढाउन सकेको देखिन्छ ।

यसपालिको स्थानीय निर्वाचनमा सबैभन्दा धेरै संख्यामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा खडा भए । गत निर्वाचनमा यो संख्या १ हजार ५१७ रहेकोमा यसपटक बढेर २ हजार १०७ पुग्यो ।

अध्यक्ष/प्रमुखमा जस्तै उपाध्यक्ष/उपप्रमुखमा पनि एमाले, कांग्रेस र माओवादीको उम्मेदवारी संख्या गत निर्वाचनमा भन्दा घट्यो । राप्रपाले अध्यक्ष/प्रमुखमा जसरी गत निर्वाचनमा भन्दा थप उम्मेदवार यो निर्वाचनमा उपाध्यक्ष/उपप्रमुखमा भने खडा गर्न सकेन ।

त्यसो त, अध्यक्ष/प्रमुखमा स्वतन्त्रहरूको उम्मेदवारीको लहर नै देखिए पनि उपाध्यक्ष/उपप्रमुखमा खासै आकर्षण देखिएन । तथापि गत निर्वाचनको तुलनामा धेरै स्वतन्त्र व्यक्तिहरूले उपाध्यक्ष/उपप्रमुखमा उम्मेदवारी दिए ।

वडा अध्यक्षको हकमा पनि प्रमुख दलहरूको अवस्था उस्तै देखियो । गठबन्धनका कारण एमाले, कांग्रेस, माओवादीको उम्मेदवारी संख्या गत चुनावमा भन्दा घटेको देखिन्छ । यद्यपि, सबैभन्दा धेरै वडा अध्यक्षको उम्मेदवार घट्नेमा माओवादी केन्द्र नै अगाडि देखियो । उक्त पार्टीले अघिल्लो स्थानीय निर्वाचनमा भन्दा करिब दुई हजार (१ हजार ९५९) कम उम्मेदवार वडा अध्यक्षको रूपमा मैदानमा उतार्‍यो । समग्रमा माओवादीले २० हजार ७६९ उम्मेदवारहरूलाई चुनावी मैदानमा अगाडि सार्‍यो । यो संख्या कांग्रेसको ३० हजार ७५० र एमालेको ३३ हजार १८६ छ ।

महिलाका लागि खुम्चिएको स्थानीय तह

संविधानको धारा ३८ (४) ले भनेको छ– ‘राज्यका सबै तहमा महिलालाई समानुपातिक समावेशी सिद्घान्तको आधारमा सहभागी हुने हक छ ।’ तर पनि यो निर्वाचनमा महिला उम्मेदवारीको अवस्था हेर्दा संविधानको उक्त धारा आकर्षित नभएको देखिन्छ । २०७९ को स्थानीय निर्वाचनमा अध्यक्ष/प्रमुख पदको कुल उम्मेदवारीमा महिला उम्मेदवारको प्रतिनिधित्व ६.७ प्रतिशत, उपाध्यक्ष/उपप्रमुखमा ७३.२ प्रतिशत र वडा अध्यक्षको उम्मेदवारीमा मात्र २.९ प्रतिशतमा सीमित रह्यो ।

पार्टीगत रूपमा सबैभन्दा धेरै महिला उम्मेदवार अध्यक्ष/प्रमुखमा उठाउनेमा नेकपा एकीकृत समाजवादी (८ प्रतिशत) रह्यो भने नेकपा एमाले र राप्रपाले ७ प्रतिशत महिला उम्मेदवार उठाए । जसपा, जनमत पार्टी र माओवादी केन्द्रले ६ प्रतिशत महिला उम्मेदवार अध्यक्ष/प्रमुखमा उठाए । केवल ४ प्रतिशत महिला उम्मेदवारलाई अध्यक्ष/प्रमुखमा उठाएर कांग्रेस समावेशिताको सवालमा सबैभन्दा अनुदार देखियो ।

जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी उपाध्यक्ष/उपप्रमुखमा सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने दलमा दर्ज भयो । उनीहरूले क्रमशः ९५ र ९३ प्रतिशत महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारे । सत्ता गठबन्धन घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले प्रमुख प्रतिद्वन्दी एमालेको तुलनामा कम महिलालाई उम्मेदवारहरूको रूपमा उपाध्यक्ष/उपप्रमुखको टिकट दिए ।

महिलाहरूलाई वडाको जिम्मेवारी अर्थात् वडा अध्यक्षको उम्मेदवारी दिनेमा सबैभन्दा अनुदार दल कांग्रेस नै देखियो भने राप्रपा, लोसपा, जसपा जस्ता दलहरू सबैभन्दा उदार देखिए । एमाले र माओवादीबाट महिला वडा अध्यक्षको उम्मेदवारी दिनेको संख्या राष्ट्रिय औसतभन्दा पनि घटी देखियो ।

यसपटकको स्थानीय निर्वाचनमा उपाध्यक्ष/उपप्रमुखमा महिला प्रतिनिधित्व तुलनात्मक रूपमा पहिलेभन्दा केही बढेको देखिन्छ । तर, अध्यक्ष/प्रमुख र वडा अध्यक्षमा महिला उम्मेदवारको प्रतिनिधित्व उल्लेख्य रूपमा घटेको देखिन्छ । स्थानीय तहका प्रमुख पदहरू (अध्यक्ष/प्रमुख र वडा अध्यक्ष) मा महिलाको प्रतिनिधित्व घट्नु समावेशी सिद्घान्तको बर्खिलापमा मात्रै होइन, सुशासनको हिसाबले पनि सोचनीय सवाल हो ।

महिलाहरूको प्रतिनिधित्व ग्रामीण क्षेत्र (गाउँपालिकामा) मा भन्दा शहरी क्षेत्र (नगरपालिकामा) मा अध्यक्ष/प्रमुख पदमा केही बढी भएतापनि यो उल्लेख्य छैन ।

स्थानीय तहमा युवा आकर्षण

गत निर्वाचनको तुलनामा यसपटक २१ देखि ४० वर्ष उमेर समूहका युवाको उम्मेदवारी दुई प्रमुख पदहरू अध्यक्ष/प्रमुख र वडा अध्यक्षमा बढे पनि उपाध्यक्ष/उपप्रमुखमा भने घट्यो । समग्रमा यसपालि अध्यक्ष/प्रमुखमा ३५.३ प्रतिशत, उपाध्यक्ष/उपप्रमुख ४८ प्रतिशत र वडा अध्यक्षमा ३६.२ प्रतिशत युवा उम्मेदवारी परेको छ । गत स्थानीय निर्वाचनमा भन्दा अध्यक्ष/प्रमुखमा यो २.९ प्रतिशतले बढेको देखिन्छ । यता, उपाध्यक्ष/उपप्रमुख भने गत निर्वाचनको तुलनामा २.४ प्रतिशतले घट्दा वडा अध्यक्षमा भने ४.२ प्रतिशतले बढेको छ ।

 

समग्रमा अघिल्लो निर्वाचनमा भन्दा उपाध्यक्ष/उपप्रमुखमा महिला बढ्नु तर युवाको संख्या घट्नुको अर्थ युवा महिलाहरूको उम्मेदवारी खस्केको भन्न सकिन्छ । यो निष्कर्षलाई माथिको तथ्यांकले थप पुष्टि गर्दछ । समग्रमा युवाहरूको उम्मेदवारी बढे पनि तथ्यांकहरूलाई लैंगिक रूपमा छुट्याएर हेर्दा पुरुष युवाको संख्या मात्रै गत निर्वाचनको तुलनामा बढे पनि महिला युवाहरूको संख्या भने घटेको देखिन्छ । तर, समग्रमा युवाको उम्मेदवारी बढ्दा ४१ देखि ६० वर्ष समूहका र ६० वर्षभन्दा बढी उमेर समूहबाट उम्मेदवारी गत स्थानीय निर्वाचनको तुलनामा यसपालि घटेको देखिएको छ ।

युवा उम्मेदवारी प्रतिनिधित्वलाई दलगत र स्वतन्त्र रूपमा हेर्दा युवा उम्मेदवारले स्वतन्त्र रूपमा बढी अध्यक्ष/प्रमुखमा उम्मेदवारी (५० प्रतिशत) दिए । त्यसपछि क्रमशः जनमत पार्टी (४९ प्रतिशत), जसपा (३३ प्रतिशत), माओवादी केन्द्र (३० प्रतिशत) र राप्रपा (२९ प्रतिशत) ले युवालाई अध्यक्ष/प्रमुखको उम्मेदवारको रूपमा चुनावी मैदानमा उतारे । कांग्रेस र एमाले युवालाई अध्यक्ष/प्रमुखको उम्मेदवार बनाउने सवालमा अन्य दलहरूको तुलनामा अनुदार देखियो । दलहरूमा सबैभन्दा कम युवा उम्मेदवार अध्यक्ष/प्रमुखको रूपमा उठाउने दल पनि कांग्रेस नै बन्यो । स्मरणीय छ, कांग्रेसले सबैभन्दा कम महिलालाई अध्यक्ष/प्रमुखको उम्मेदवार बनाएको थियो ।

उपाध्यक्षमा सबैभन्दा धेरै युवालाई उम्मेदवार बनाउने दल राप्रपा (८२ प्रतिशत) बन्यो भने त्यसपछि जनमत पार्टी (६९ प्रतिशत) रहेको छ । जसपा र माओवादी केन्द्रले क्रमशः ५१ र ५० प्रतिशत युवा उम्मेदवारलाई उपाध्यक्ष/उपप्रमुखको टिकट दिए । जनमत पार्टी अध्यक्ष/प्रमुखमा जस्तै वडा अध्यक्षमा पनि अत्यधिक युवा उम्मेदवारहरू बनाउनेमा अग्रंपक्तिमा देखियो । यसले जनमत पार्टीप्रति युवा आकर्षण अत्यधिक रहेको देखाउँछ । उक्त पार्टीले ५८ प्रतिशत युवा उम्मेदवारहरूलाई वडा अध्यक्षको रूपमा खडा गरेको छ । त्यसपछि माओवादी केन्द्रले ४० प्रतिशत युवा उम्मेदवारलाई वडा अध्यक्षको रूपमा अघि सार्‍यो । अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख जस्तै कांग्रेस र एमालेले युवा उम्मेदवारीमा पनि राष्ट्रिय औसत भन्दा कम युवाहरूलाई चुनावी मैदानमा उतारे ।

शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा युवा उम्मेदवारीको अवस्था हेर्दा ग्रामीण क्षेत्रमा युवाहरूको उम्मेदवारी शहरी क्षेत्रमा भन्दा ज्यादा देखिन्छ । गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सबैमा नगरपालिकाको तुलनामा युवा उम्मेदवारको संख्या धेरै छ ।

(यो लेख तयार पार्ने, तथ्यांक विश्लेषण गर्ने र रेखाचित्रहरू बनाउने टिममा उत्तमबाबु श्रेष्ठ, दोभान राई, निशान शाह, करिष्मा कुँवर, आरती ढुंगेल, गौरव पौडेल र सौरभ श्रेष्ठ संलग्न थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?