+
+

लुम्बिनीबाट फर्किए मोदी, भने : बुद्धको जन्मभूमि आउँदा खुशी भएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:३४
तस्वीर : रासस

२ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणमा आउन पाउँदा खुशी अनुभूत भएको धारणा व्यक्त गरेका छन् । २५६६औं बुद्धजयन्तीका अवसरमा सोमबार लुम्बिनी आइपुगेका मोदी आफ्नो भ्रमण सकाएर साँझ भारत फर्किएका छन् ।

सोमबार बिहान भारतीय वायुसेनाको हेलिकप्टरमार्फत लुम्बिनी आइपुगेका मोदीले विभिन्न कार्यक्रममा ६ घण्टा बिताए । भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी आएका उनी भ्रमण सकाएर उतै फर्किएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीहरूले मोदीलाई बिदाई गरे ।

भ्रमणका क्रममा मोदीले बुद्धजयन्तीका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गौतम बुद्धको जीवन यात्रा संयोग मात्रै नभएको भन्दै उनी लुम्बिनीमा जन्मेको बताए ।

‘भगवान बुद्धको जीवन यात्राका चरणहरू एउटै तिथिमा हुनु केवल संयोग मात्रै थिएन । यसमा जीवन, ज्ञान र निर्वाण भएको बुद्धत्वको दार्शनिक सन्देश पनि छ,’ उनले भने, ‘वैशाख पूर्णीमाका दिन लुम्बिनीमा सिद्धार्थका रूपमा बुद्धको जन्म भएको थियो । यसै दिन बोधगयामा बोध प्राप्त गरेर भगवान बुद्ध बने र यही दिन कुशीनगरमा उनको महापरिनिर्वाण भयो ।’

उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए । उनले नेपाल भारतबीचको सम्बन्ध हिमालजस्तै अटल रहेको भन्दै दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताए ।

‘जनकपुरमा मैले भनेको थिएँ, नेपाल विना हाम्रा राम पनि अधुरै हुन्छन्,’ उनले भने, ‘आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’

मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताए । नेपालबाट आफूले अध्यात्मिक आशिर्वाद पाउने गरेको उनको भनाइ थियो ।

प्रधानमम्न्त्री देउवाले मोदीको यस भ्रमणबाट बुद्धको जन्मभूमि नेपाललाई विश्वभर थप परिचित गराउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘मोदीजीको यस भ्रमणले भगवान बुद्धको जन्मस्तल लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउन योगदान पुर्‍याउने विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘यस पूर्व उहाँबाट भएको जनकपुर, मुक्तिनाथ, पशुपतिनाथलगायत नेपालका पवित्र तीर्थस्तलहरूको भ्रमणबाट दुई देशका जनता–जनताबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै ती क्षेत्रहरूमा भारतीय पर्यटकहरूको संख्या उल्लेख्य रूपमा वृद्धि हुन मद्दत पुगेके छ । यसका लागि म प्रधानमन्त्री मोदीजी प्रति आभार व्यक्त गर्न चाहन्छु ।’

उनले बुद्धको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकहरूलाई नजिकबाट प्रभावित गरेको बताए । उनले बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एक आपसमा जोड्ने बुद्धिष्ट सर्किटको विकास गर्न समकक्षी मोदी र आफू प्रतिबद्ध रहेको जानकारी समेत गराए ।

मोदीले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री खड्कासहतिको टोलीसँग भेटवार्ता गरे । उनले प्रधानमन्त्री देउवासँगै मायादेवी मन्दिरमा पुजाआजा गरेका थिए भने भारतले लुम्बिनी विकास क्षेत्र परिसरमा निर्माण हुने बिहारको संयुक्त रूपमा शिलान्यास गरे ।

प्रधानमन्त्री देउवा र मोदीबीच भएको भेटमा गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘लुम्बिनी र कुशिनगरबी भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन्,’ परराष्ट्र मनत्रालयले जानकारी दिएको छ, ‘आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरूमार्फत समयैमा नै अघि बढाइनेछ ।’

साथै, दुई देशबीच विभिन्न ६ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । देउवा र मोदीको उपस्थितिमा हस्ताक्षर भएका सम्झौतापत्र शिक्षा र जलस्रोतसँग सम्बन्धित रहेका छन् ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सहमति भएको छ । यस्तै आईसीसीआर र नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सहमति भएको छ ।

साथै, आईसीसीआर र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोग सम्झौतामा पनि हस्ताक्षर भयो ।

काठमाडौं विश्वविद्यालय र भारतको आईआईटीएमबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने सहमतिमा समेत हस्ताक्षर भएको छ ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको सतजल जलविद्युत् लिमिटेडबीच अरुण–४ आयोजनाको विकास र कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?