
कर्णाली ३ जेठ, सुर्खेत । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका वोधविक्रम जिसी र उपाध्यक्षमा मिनाकुमारी रोकाया निर्वाचित भएका हुन् । जिसीले ३५९१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका डोरप्रसाद शर्माले ३५३० मत ल्याए । ६१ मतान्तरले एमालेका जिसीले कांग्रेसका शर्मालाई पराजित गरेका हुन् ।
उपाध्यक्षमा निर्वाचित एमालेकी मिनाकुमारी रोकायाले ३५८१ मत ल्याउँदा नेपाली कांग्रेसकी मनमाया आचार्यले ३४६९ मत ल्याएकी छिन् । आचार्य निवर्तमान उपाध्यक्ष हुन् ।
नेपाली कांग्रेसका पार्टी उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्रसमेत रहेको चिंगाडमा यसअघि ०७४ मा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । तर यसपटक माओवादीको सहयोगमा एमालेले जितेको हो ।
एमालेबाट अध्यक्षमा निर्वाचित भएका जिसी ०७४ मा माओवादी केन्द्रबाट पालिकाको अध्यक्षमा पराजित भएका थिए । माओवादी छाडेर एमालेमा गएका जिसीले यो पटक भने ६१ झिनो मताअन्तरले जित हात पारेका छन् ।
प्रतिक्रिया 4