+
+
समयान्तर :

युवाको पक्षमा खसेको मतको अर्थ

युवाहरू अहिले राजनीतिमा सक्रिय हुनु वास्तवमै सकारात्मक पक्ष हो । कतिले मिडिया र सामाजिक सञ्जालमा स्थान पाएका छन् तर, कति आ–आफ्नै क्षेत्रमा सीमित छन् । हजारौं युवा चुनावी मैदानमा उत्रिएका पनि छन् ।

मनिकर कार्की मनिकर कार्की
२०७९ जेठ ४ गते १०:०५

गएको वैशाख ३० गते संविधान कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचन सम्पन्न भयो । निर्वाचन छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सम्पन्न भयो ।

निर्वाचनबाट ७५३ स्थानीय तहमा ३५ हजार बढी जनप्रतिनिधि आगामी पाँचवर्षे कार्यकालका लागि चुनिनेछन् । नेपालको संविधान अनुसार यी स्थानीय तहहरू स्थानीय सरकार हुन्, जोसँग आफ्ना गतिविधि संचालनका लागि कानुन निर्माण गरी लागु गर्नेसम्मको अधिकार रहेको छ ।

यस पटकको निर्वाचन आवधिक हो । आवधिक निर्वाचन लोकतन्त्रको आधार हो । पहिलो निर्वाचनले राज्यको पुनर्संरचनालाई चिनाउने काम गर्‍यो । त्यस निर्वाचनले स्थानीय तह, प्रदेश र संघीय संरचनाबारे आम जनतामा व्यावहारिक ज्ञान दिलाएको थियो ।

गएको स्थानीय तह निर्वाचनसँगै चुनिएका ३५ हजार बढी प्रतिनिधिले स्थानीयस्तरमा शासनसत्ताको अभ्यास गरे । अबको निर्वाचनले त्यो इकाईलाई जनपक्षीय बनाउने, राज्यमा जनसहभागितालाई सुनिश्चित तथा स्थानीय तवरमा राजकीय अभ्यासलाई संस्थागत गर्ने काम गर्दछ ।

आवधिक निर्वाचनसँगै एकपटक पुनः जनादेशको महत्व उजागर भएको छ । यो निर्वाचनमा पनि थुप्रै नयाँ पुस्ताका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिए । नयाँ पुस्ताले आफूलाई कुनै न कुनै रूपमा राजनीतिक रूपले सक्रिय बनाएको देखियो । युवा पुस्ताले निर्वाचनमा दलीय वा स्वतन्त्र रूपमा उम्मेदवारी मनोनयन गरी राजनीतिक सक्रियता देखायो ।

काठमाडौं महानगरपालिकामा मधेशी मूलका एक युवा इन्जिनियर बालेन्द्र (बालेन) साहले मेयर पदमा उम्मेदवारी दिए र उनी अहिले चौतर्फी चर्चामा रहेका छन् । उनको चर्चाले काठमाडौंको पर्वतीय मनोविज्ञान पनि क्रमशः भत्किंदै गएको आभास हुन्छ ।

आखिर एक मधेशी मूलको युवाको अनुहारलाई मुलुककै प्रशासनिक एवं राजनीतिक केन्द्रले स्वीकार गर्नु भनेको समावेशी लोकतन्त्रको आधार निर्माण हुनु हो । यो वास्तवमै खुसीको कुरा हो ।

तथापि उनी एक प्रतिनिधि पात्र मात्र हुन्, जो काठमाडौंमा जन्मियो, हुर्कियो र शहरिया मध्यम वर्गका लागि एक आइकन बन्यो । अनि त्यही कारण उनले मिडियाहरूमा राम्रो कभरेज पाए । चुनावी मैदानमा उत्रिएका तर, बालेनले जस्तै चर्चा भने नकमाएका थुप्रै नवयुवा यसपटक देखापरेका छन् ।

यी पंक्तिहरू लेख्दै गर्दा सर्लाही जिल्लास्थित रामनगर गाउँपालिकाको अध्यक्ष पदमा २२ वर्षीय युवा राजबाबु यादव निर्वाचित भएका छन् । सम्भवतः उनी नै अहिलेसम्मका कान्छा गाउँपालिका प्रमुख हुन् । त्यसैगरी सर्लाहीकै बलरा नगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट ३५ वर्षीय रामाशंकर प्रसाद कुशवाह प्रमुख पदमा निर्वाचित भएका छन् ।

यसरी युवाहरू अहिले राजनीतिमा सक्रिय हुनु वास्तवमै सकारात्मक पक्ष हो । कतिले मिडिया र सामाजिक सञ्जालमा स्थान पाएका छन् तर, कति आ–आफ्नै क्षेत्रमा सीमित छन् । हजारौं युवा चुनावी मैदानमा उत्रिएका पनि छन् ।

दलभित्रको जीर्ण हुँदै गएको लोकतन्त्र र दलीय अहंकार अनि दिशा र दृष्टिकोणविहीन बन्दै गएका दलहरूको रवैया देखेर दिक्क भएका काठमाडौंवासीहरूले स्वतन्त्र सक्रियताको रूपमा बालेन पाए । मिडियाले उनलाई आइकन बनाइदियो र काठमाडौंका मतदाताले उल्लेख्य मत दिएर दलहरूप्रतिको असन्तुष्टि जाहेर गरिदिए ।

गएको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलबाट रञ्जु दर्शना उसैगरी चर्चित थिइन् । आज उनी संलग्न विवेकशील साझा पार्टीको वैकल्पिक राजनीतिको गति मात्र हैन, पार्टी नै छिन्नभिन्नको अवस्थामा पुगेको छ ।

यो निर्वाचनमा विवेकशील साझाले पाएको मत निराशाजनक छ । किनकि वैकल्पिक राजनीतिको कुरा गर्ने सो पार्टीले अँगालेको बाटो भने पश्चगामी थियो, जसको अभिमत राजेन्द्र लिङ्देनको राप्रपाले पाइरहेको छ ।

यसपटक बालेनले पाएको मत पनि त्यही प्रकृतिको हो । जनता परिवर्तन चाहन्छन्, मौजुदा राजनीतिक दलहरूले सुन्दर र सुरक्षित भविष्यप्रति दिशाबोध गर्न सकेका छैनन् । त्यसैले मानिस विकल्प खोज्दैछन् । तर, लोकतन्त्रमा दलको विकल्प पनि दल नै हो ।

अझ राम्रो दल । अझ लोकतान्त्रिक दल । अझ उन्नत र प्रगतिशील दल । बालेन साहले चुनाव जित्लान् वा हार्लान् त्यो चुनावी परिणामले देखाउने नै छ । तर, उनले काठमाडौंको चिसो मनोविज्ञानमा तातो ऊर्जा भरिदिएका छन् ।

सुरुआती चरणदेखि नै अग्रता कायम गरेर सबैको ध्यान काठमाडौंको परिणामतर्फ केन्द्रित गरेका छन् । यो आलेख तयार गर्दैगर्दा काठमाडौंको मेयर पदमा उनले सबैलाई पछाडि पारी अग्रता हासिल गरिरहेका छन् ।

बालेनले प्राप्त गरेको मत दलहरूप्रतिको असन्तुष्टि र आक्रोशको हो । असन्तुष्टिको गैरदलीय मत दिगो हुँदैन, पटके हुन्छ । दिगो हुनका लागि दलीय स्वरूप ग्रहण गर्नैपर्छ ।

उनले जे–जस्तो लोकप्रियता आर्जन गरेका छन्, त्यसबाट भने नेपाली समाजले विकल्पको खोजी गरिरहेको प्रतीत हुन्छ । यद्यपि बालेनले प्राप्त गरेको मत दलहरूप्रतिको असन्तुष्टि र आक्रोशको हो । त्यसैले असन्तुष्टिको मत दिगो हुँदैन । दिगो हुनका लागि दलीय स्वरूप ग्रहण गर्नैपर्छ । गैरदलीय मत दिगो हुँदैन, पटके हुन्छ ।

परिणाम जेसुकै आओस् अहिलेको निर्वाचनमा युवाहरूले देखाएको जागरण र सक्रियतालाई सकारात्मक रूपमा ग्रहण गर्दै नेपालको राजनीतिमा युवा सक्रियता बढ्दै गएको अनुभव गर्न सकिन्छ । तथापि राजनीतिमा युवाको जागरण र सक्रियता पर्याप्त एवं दिगो भने छैन ।

अझै पनि राजनीतिक दलमा आवद्ध युवाहरूले आफ्नो स्वविवेकको प्रयोग गरी राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । स्वतन्त्र रूपमा क्रियाशील युवा शक्ति केवल राजनीतिक दलहरूप्रतिको वितृष्णाका कारण खडा भएका छन् । राजनीति पक्कै पनि पटके कार्यभार हैन, यो निरन्तरको जवाफदेहिता र खबरदारी हो ।

जनअपेक्षासँग निरन्तर पौंठेजोरी खेल्दै आफ्ना एजेण्डाहरू स्थापित गरी समाजलाई गतिशील बनाउने कार्य राजनीतिको हो । त्यसैले कुनै कालखण्डमा स्वतन्त्र रूपमा उदाउने केही पात्रकेन्द्रित जनमतले राजनीतिको डाइनामिक्सलाई नै बदल्छ भनेर कल्पना गर्न सकिंदैन । किनकि समाज बदल्ने प्रक्रिया भनेको निरन्तरतामा हुने उपक्रम हो ।

निरन्तरताको सक्रियता (कहिलेकाहीं देखिने उपलब्धिरहित पनि हुनसक्छ) जरूरी हुन्छ । यसका लागि नियमित सांगठनिक पहल, सामूहिक क्रियाशीलता, जवाफदेहिता र सक्रियता जरूरी हुन्छ । जुन स्वतन्त्र रूपमा उदाएका पपुलर अनुहारहरूले आर्जन गर्न सक्दैनन् । त्यसैले कुनै स्वतन्त्र रूपमा उदाउने व्यक्तिको लोकप्रियता क्षणिक हुन्छ ।

युवा शक्ति त्यस्तो अक्षुण्ण शक्ति हो, जसले वर्तमानको कार्यभारलाई काँधमा बोकेर हिंडेको हुन्छ । विगतमा युवालाई भविष्यको कर्णधारको रूपमा मात्रै व्याख्या गरियो । तर, वास्तवमै युवा भविष्यको कर्णधार हैन, वर्तमानकै साझेदार हो ।

यो पुस्ता आफैंमा वर्तमानको विकल्प हो । यो त्यस्तो शक्ति हो जसले बदलिएको राजनीतिक गन्तव्यलाई निष्कर्षमा पुर्‍याउन सक्छ । यो पुस्ताले नै अबको राजनीतिक कार्यभार सम्हाल्न सक्छ । समाज र देशलाई सही दिशानिर्देश गर्न सक्छ ।

युवा शक्तिको कुरा गर्दा अहिले हामी राष्ट्रिय रूपमै जनसांख्यिकीय लाभको अवस्थामा छौं । जनसांख्यिकीय बनावट अनुसार अहिले प्रत्येक घरमा दुई या तीन जना युवा जनशक्ति छ, जसको जन्मान्तर ५ देखि ७ वर्ष मात्र छ । यसर्थ अहिले हामी युवाशक्ति अधिकतम बचतको अवस्थामा छौं । तर, आगामी तीन दशकमा यो जनसांख्यिकीय अनुपात निकै कम हुने देखिन्छ ।

किनकि अबको परिवारको आकार निकै सानो भइसकेको छ । यसर्थ, युवा शक्ति जसलाई अझै पनि हाम्रो समाजमा भविष्यको कर्णधारकै रूपमा हेर्ने गरिन्छ, यो शक्तिलाई वर्तमानका साझेदार अनि भविष्य निर्माणका आधारको रूपमा परिभाषित गरेर यो युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने आवश्यकता हो । यहींनेर नीति–निर्माता चुकेका छन् । दलको नेतृत्व चुकेको छ । समग्रमा हाम्रो राज्य चुकेको छ ।

अहिले करिब ७० लाख नेपाली कामको खोजीमा विदेशिएका छन् । यसरी विदेशिएको जनशक्ति साँच्चिकै काम गर्ने उमेर समूहको शक्ति हो । यसो कल्पना गरौं त, ७० लाख श्रमशक्ति विदेशिएको नेपाल जस्तो सानो मुलुकको आर्थिक समृद्धिको सपना कसरी पूरा होला ?

अलिकति अतिततिर फर्केर हेर्दा विगतमा युवापुस्ता बन्द, हड्ताल, सभा, जुलुसतिरै बढी केन्द्रित भएको थियो । फेरि त्यो राजनीतिक व्यवस्था फेर्ने अभियानको समय थियो र आवश्यकता पनि । अनि विगतमा युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन ।

अहिले युवाको अपेक्षा र वर्तमान आवश्यकताबीच जटिल प्रकारको अन्तरविरोध पैदा भइरहेको छ । यदि साँच्चिकै हामीले सोचेजस्तो विकास, समृद्धि, प्रगति र उन्नतिको मार्ग समात्ने हो भने युवा सक्रियता र परिचालनको विरोधाभास अन्त्य गर्नुपर्छ ।

हामीले खोजेको जस्तो समृद्धिका लागि सबैभन्दा पहिले जोश, जाँगर भएको अनि हरेक काममा सक्रियतापूर्वक खटिन सक्ने त्यो युवा शक्तिलाई विदेशिनबाट रोक्न सक्नुपर्छ । उनीहरूलाई रोक्ने एउटै मात्र उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीका अवसरहरूको सिर्जना गर्ने हो । औद्योगिक उत्पादन बढाउने हो । उत्पादन बढाउनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने हो । उद्यमशील सोचको विकास गर्ने हो । यसको पहलकदमी राज्यबाटै हुनु आवश्यक छ ।

निश्चित रूपमा सन् २०१५ मा देशमा जारी भएको नयाँ संविधानसँगै मुलुक एउटा कालखण्डबाट अर्को कालखण्डमा प्रवेश गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै यो मुलुकको राजनीतिक परिवर्तनको एउटा चरण पूरा भएकै हो । अब अहिले प्राप्त राजनीतिक उपलब्धिहरूलाई विकास र समृद्धिमार्फत संस्थागत गर्नु नै बदलिएको राजनीतिक कार्यभार हो ।

राजनीतिक परिवर्तनको बेला हामी विभिन्न वाद, विचार र पार्टीहरूमा संगठित भयौं, जुन स्वाभाविक पनि थियो । तर, त्यो शृंखलाले एउटा उपलब्धि हासिल भइसकेपछि अब समृद्धिका लागि सहकार्य आवश्यक छ । मन साँघुरो बनाएर हामी समृद्धिसम्म पुग्न सक्दैनौं । यसका लागि सबैले छाती चौडा र समृद्धिका लागि सहकार्यलाई जोड दिनैपर्छ ।

आजको हाम्रो लडाईं गरिबी र विपन्नता विरुद्धको हो । यसका लागि हामीले आफूसँग भएको सुनको थाल चिन्नुछ र त्यसैबाट उद्यमशीलताको विकास गर्नुछ । कृषिको आधुनिकीकरण, वैज्ञानिक र जीवनोपयोगी शिक्षा, आम नागरिकमा स्वास्थ्यको पहुँच, व्यवस्थित र वैज्ञानिक पूर्वाधारहरूको निर्माण, पर्यटन, घरेलु र ठूला उद्योगहरूको विकास, खानेपानी र सिंचाइको सुविधा, स्वरोजगार लगायत परियोजनाहरू युद्धस्तरमा सञ्चालन गर्न अब राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक छ । यसका लागि नयाँ पुस्ता राजनीतिक रूपले सचेत बन्नु त पर्छ नै अब यो पुस्ताले आफ्नो र अर्को उदाउँदै गरेको चौथो पुस्ताका लागि पनि राजनीतिक सक्रियता देखाउनु जरूरी छ ।

देशमा राजनीतिक परिवर्तन त भयो तर, सत्ताको मूलभूत चरित्रमा कुनै बदलाव आउन सकेन । अनि त्यो परिवर्तनले जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन सकेन । त्यसैले अब अहिलेसम्मको राजनीतिक कार्यदिशा र नाराको उपादेयता समाप्त भएको संकेत गर्दछ । अनि प्रश्न स्वाभाविक रूपले उठ्छ त्यो परिवर्तनले किन जनताको जीवनमा बहार ल्याउन सकेन ? किन राजनीतिक परिवर्तनको लाभांश जनस्तरसम्म पुग्न सकेन ? किन जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकेनन् ?

उत्तर सरल छ– संविधान जारी भएयताको सात वर्षमध्ये पहिलो दुई वर्ष संविधान कार्यान्वयनकै वर्षको रूपमा व्यतित भयो भने पछिल्ला पाँच वर्ष खेर गए । यो अवधिमा हाम्रो राजनीति जनमुखी हुन सकेन । यो पार्टी र नेतृत्वमुखी भयो । अनि पार्टीहरूको अपारदर्शी कार्यशैली, अदूरदर्शिता, भ्रष्टाचार एवं खराब शासनको दुष्चक्रमा राजनीति फस्न पुग्यो । त्यसैले भ्रष्टाचार र खराब शासनको दलदलमा डुबेको राजनीतिलाई उतार्नकै लागि अब नयाँ पुस्ता राजनीतिक विकल्प बनेर अघि बढ्नुपर्छ ।

निःसन्देह अघिल्लो पुस्ताले राजनीतिक परिवर्तन र व्यवस्था बदल्ने कार्यमा योगदान गर्‍यो । त्यसलाई सम्मान गर्दै अब जनताको अवस्था फेर्ने विकास र समृद्धिमुखी राजनीतिका लागि नयाँ युवा पुस्ता सक्रिय हुनुको विकल्प छैन । बालेन जस्ता केही युवाको राजनीतिक यात्रा स्वतन्त्रको हैसियतमा हैन, दलीय हैसियतमै निरन्तर हुनुपर्छ । किनकि लोकतन्त्रमा दलको विकल्प छैन, खोज्नु पनि हुँदैन ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?