+
+

बुढीगंगा नगरपालिकामा महान्यायाधिवक्ताका दाजु उम्मेदवार, खस्यो ९९ प्रतिशत मत

महान्यायाधिवक्ताका सहोदर दाजु उम्मेदवार बन्नु, सिडिओ र डीएसपीको अस्वाभाविक व्यवहार देखिनु अनि मतदान केन्द्र कब्जा हुँदा थप बल पुग्नुको साटो सुरक्षाकर्मी भाग्नुले बाजुराको बुढीगंगामा केही गडबड भएको देखिन्छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ जेठ ३ गते २१:३५
महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाजु रंगबहादुर खाती ।

३ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका– ४ थुमा मावि मतदान केन्द्रमा कुल १ हजार ७०९ मतदाता छन् । त्यहाँ १ हजार ६९९ मत खसेको प्रारम्भिक आँकडाबाट देखिएको छ । विवरण अनुसार, १० जना मतदाताले मात्रै मतदान गरेनन् ।

वडा नं. ४ मा मात्रै होइन, बुढीगंगाका १० मध्ये ६ वटा वडामा कांग्रेस र एमालेले एक अर्कामाथि ‘बुथ कब्जा’को आरोप लगाएका छन् । जिल्लाबाट नै ‘बुथ क्याप्चर’ भएको आशयमा रिपोर्टिङ भएपछि निर्वाचन आयोगले आयुक्त सगुनशम्सेर जबराको नेतृत्वमा टोली नै पठाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

मंगलबार दिनभर प्रतिवेदन तयारीमा जुटेको आयोगको टोलीले अपरान्हसम्म प्रतिवेदन पेश गरेको थिएन । ‘त्यहाँ सुरक्षाकर्मीले अत्यन्त गैरजिम्मेवार व्यवहार देखाए । उनीहरुको भूमिकामा पर्याप्त शंका गर्नुपर्ने ठाँउ छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘दिउँसो ३ नबज्दै उनीहरु मतदानस्थलबाट हिँडिदिएपछि जहाँ जुन दलको पकड थियो, त्यहाँ मतदान अधिकृतलाई नियन्त्रणमा लिएर मत खसाउन थाले ।’ त्यसक्रममा नै थुमा माविमा ९९ प्रतिशतभन्दा बढी मत खसेको हो ।

बुढीगंगाको मेयर पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रंगबहादुर खाती (६५ वर्ष) महान्यायाधिवक्ता खम्मबहादुर खातीका सहोदर दाजु हुन् । उनी एमालेका राम बहादुर बानियाँ (४१ वर्ष) सँग प्रतिस्पर्धामा थिए । रंगबहादुर कांग्रेसको प्रदेशसभा स्तरीय समितिका सभापति र श्री भानोदय उच्च माविका पूर्वप्राचार्य समेत हुन् ।

एकातिर महान्यायाधिवक्ताका दाजु, अर्कोतिर एमाले नेता कर्णबहादुर थापाको समर्थन पाएका बानियाँबीचको प्रतिस्पर्धाले बुढीगंगामा बुथ कब्जासम्मको घटना भयो । ४ र ७ नम्बर वडामा कांग्रेसमाथि बुथ कब्जाको आरोप छ भने कांग्रेसले २, ३ र ५ नम्बर वडामा बुथ कब्जा गरेको र ९ नम्बर वडामा ‘पेलेर भोट हालेको’ आरोप लगाएको छ ।

कांग्रेसको दाबी

घटनाबारे कांग्रेस र एमालेको आ–आफ्नै दावी छ । कांग्रेस बाजुराका जिल्ला सभापति रामसिंह रावलले बुढीगंगाको २ र ३ नम्बर वडाबाट एमालेका कारणले विवाद सुरु भएको आरोप लगाए । उनका अनुसार दुईवटा वडाका मतदान केन्द्र करिव १० मिनेटको पैदल दुरीमा छन् । त्यहाँ आपसमा भनाभन भएपछि अवरोध भएको उनी बताउँछन् ।

मतदानकै दिन निर्वाचन आयोगले मतदानस्थलबाट सुरक्षाकर्मी हिँडेको विषयमा चर्को असन्तुष्टि जनाउँदै आन्तरिक रुपमा ‘सुरक्षा लापरवाहीको चरम रुप’ भनी निष्कर्ष निकालेको थियो ।

‘एमाले समर्थकको संख्या बढी भएको ठाउँमा कांग्रेसलाई अवरोध भयो, झडपपछि कांग्रेस कार्यकर्ता भागे’ उनी भन्छन्, ‘मतदान केन्द्रको सुरक्षा गर्न सकेनौं भनेर प्रहरी पनि भागे । सुरक्षाकर्मी हिँडेपछि एमालेका साथीहरुले पनि धमाधम मत हाल्न थाले ।’ अति नै भएपनि मतदान अधिकृतले केहीबेर मतदान स्थगित गरेर फेरि चालु गरेको उनले दावी गरे । उनको भनाइमा २, ३, ५ र ९ वडामा झडप भयो ।

उनले ४ र ७ नम्बर वडाको प्रसंग कोट्याएनन् । हामीले एमालेले लगाएको आरोपबारे उनको प्रतिक्रिया माग्यौं । जिल्ला सभापति रावलले ४ नम्बर वडामा बुथ क्याप्चर नभएको, तर कतैबाट अवरोध नभएपछि कांग्रेस समर्थकहरुले धमाधम मत हालेको बताए ।

‘अर्को दलले अवरोध गरेर त्यसमा झडप गरेर क्याप्चर गरेको होइन’ उनले भने, ‘१७०९ भोटर रहेकोमा १६९९ भोट खसेको भनेका छन् । १० वटा बाँकी रहेपछि जसो माने पनि हुने हो । तर त्यसरी भोट हाल्दा अवरोध भएन । थुनछेक गरेको पनि होइन ।’

एमाले नेताहरुले ‘तपाईंहरुले हालेपछि हामीले हालेको (भोट) पनि स्वीकार्नुस्’ भनेर आग्रह गरेको उनको दाबी छ । ४ र ७ बाहेक एमालेले चारवटा वडामा क्याप्चर गरेकाले कांग्रेसले फेरि मतदानको माग राखेको बताए । ‘अस्ति निर्वाचन आयुक्त आउनुभएको थियो, हामीले यिनै कुरा राखेको हो’ उनले भने, ‘सबै सुनेपछि उहाँले तपाईहरुका तीनथरि कुरा आए, जे हो त्यही टिपेर आयोगमा प्रतिवेदन दिन्छु भनेर जानुभयो ।’

एमालेको दाबी अर्कैै

एमाले नेता कर्ण थापा कांग्रेसको आरोप स्वीकार्न तयार छैनन् । उनका अनुसार, मतदानका दिन कांग्रेसले आफ्नो पकड भएको ४ नम्बर वडा कब्जा गर्ने र एमाले समर्थकको बाहुल्य रहेको अरु मतदान केन्द्रमा विथोल्ने रणनीति बनाएको थियो ।

‘वडा नं. ४ त कब्जा गरेर आफू अनुकुल गरिहाले,’ उनले भने, ‘हाम्रा शुभचिन्तकहरुको बाहुल्य रहेको अन्यत्र पनि ढुंगामुढा गर्ने, विथोल्ने र आफ्नो मत खसाल्न खोजे । हामीले त्यसको विरोध गरेपछि स्थिति थप विथोलिन सकेन ।’ उनका अनुसार, कांग्रेसले एमाले पकड रहेका सबै वडामा मतदान विथोल्ने प्रयास गरेको थियो ।

त्यो असफल भएपछि दोस्रो रणनीतिका रुपमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले राज्य संयन्त्र दुरुपयोग गरेर प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतलाई निर्देशन दिएर प्रहरी फिर्ता गर्न लगाएको आरोप लगाए ।

‘कुनैपनि मतदान केन्द्रमा हुलदंगा हुँदा थप प्रहरी मगाइन्छ, कहि पनि प्रहरी फिर्ता जाँदैन’ उनले भने, ‘बाजुरामा सिडिओ र डीएसपीले सुरक्षाकर्मी फिर्ता बोलाएर निर्वाचन विथोल्न खोजे ।’

बुढीगंगाको सबै मतदान केन्द्रमा सुविधाजनक रुपमा मत खसेको निष्कर्षका साथ एमालेले वडा नं. ४ को मतदान समेत स्थगित नगरी मतगणना सुरु गर्नुपर्ने माग गरेको छ । एमाले नेता थापाले वडा नं. ४ बाहेक अन्यत्र शान्तिपूर्ण रुपमा निर्वाचन भएकाले फेरि मतदान आवश्यक नभएको दाबी गरे ।

‘फेरि मतदान गर्नुका आफ्नै प्रक्रिया र सीमा हुन्छन्,’ उनले भने, ‘निर्वाचन कानूनले नै नचिन्ने सुरक्षा समितिको निर्णय गराएर फेरि मतदान हुनुपर्छ भन्नु गलत हो ।’ प्रमुख जिल्ला अधिकारीले पदको दुरुपयोग गरेर स्थिति बिग्रिएको सन्देश दिन भोलिपल्ट कर्फ्यू आदेश जारी गरेको उनको आरोप छ । आफ्नो जनाधार नभएको क्षेत्रमा कांग्रेसले फेरि मतदानका नाममा चलखेल गर्न खोजेको उनको आरोप छ ।

पद र शक्तिको प्रभाव

निर्वाचन आयोग स्रोतको भनाइमा बुढीगंगाका छ वडाका मतदान केन्द्रमा दिउँसो ३ देखि सवा ३ बजेसम्म एकाएक सुरक्षाकर्मीहरु पछि हट्नु अस्वभाविक थियो । मतदानकै दिन निर्वाचन आयोगले मतदानस्थलबाट सुरक्षाकर्मी हिँडेको विषयमा चर्को असन्तुष्टि जनाउँदै आन्तरिक रुपमा ‘सुरक्षा लापरवाहीको चरम रुप’ भनी निष्कर्ष निकालेको थियो ।

‘त्यहाँ किन त्यसरी सुरक्षा खाडल देखियो, के स्वार्थ हो भनी बुझ्दै जाँदा महान्यायाधिवक्ताको दाइ मेयरमा उम्मेदवार रहेको थाहा भयो’ आयोग स्रोतले भन्यो, ‘त्यसपछि हामीले सुरक्षा संयन्त्रभित्र अलि बढी नै सोधखोज गर्न थालेपछि सुरक्षाकर्मीहरु दबाव र प्रभावमा परेको थाहा भयो ।’

दिउँसो मतदानस्थलबाट हिँडेका कतिपय सुरक्षाकर्मीहरु बेलुका मतपेटिकामा सिल लगाउन साक्षी बस्न समेत आएका थिएनन् । मतदान केन्द्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली हिँडेपछि बाहिर नेपाली सेनाको टोली घुमेको थियो ।

सुरक्षाकर्मीको असहयोग अनि आँखै अगाडि धमाधम अरुको नाममा समेत मत खस्न थालेपछि मतदान अधिकृतहरु समेत निरीह भए । उनीहरुको ‘ब्रिफिङ’का आधारमा निर्वाचन अधिकृतले फेरि मतदान हुनुपर्ने भनी निर्वाचन आयोगमा राय सहित पत्राचार गरे । उनले निर्वाचन अधिकृत पदबाट राजीनामा दिएर जिल्ला छाडिसकेका छन् । जिल्ला सुरक्षा समितिले पनि फेरि मतदानको निर्णय गर्‍यो । जिल्लाबाट पत्राचार आएपछि आयोगले स्थलगत अध्ययन गरेको हो ।

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनका दौरान झडप र मुठभेट भएको यो पहिलो घटना होइन । २०५४ सालको स्थानीय निर्वाचनमा अहिलेका महान्यायाधिवक्ता खम्मबहादुर गाविस अध्यक्षमा उम्मेदवार थिए । निर्वाचनका क्रममा झडप हुदा २ जनाको मृत्यु भयो ।

एमाले उम्मेदवार निर्वाचित भएपनि विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतको फैसलापछि फेरि निर्वाचन भएको र त्यहाँ निर्वाचित भएर खातीले करिव साढे २ वर्ष गाविस अध्यक्ष भएर काम गरेको जिल्ला सभापति रावल बताउँछन् । उनका अनुसार अघिल्ला निर्वाचनहरुमा पनि बारम्बार झडप र बुथ क्याप्चरका घटना हुने गरेका थिए ।

हामीले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई उनीमाथिको आरोपबारे सोध्यौं । उनले सरकारी स्रोत साधनको प्रयोग हुन्छ भनेर आफ्नै दाजु उम्मेदवार हुँदा समेत मतदान गर्न जान नपाएको बताए । ‘सरकारी गाडी, पिएसओ लिएर गए प्रश्न उठ्ला, सबै छाडेर एक्लै जान सक्ने अवस्था पनि नभएपछि अन्तिम समयमा गइन,’ उनले भने, ‘यहाँ बसेको महान्यायाधिवक्ताका कारणले प्रहरी प्रशासनलाई प्रभावित हुने हो ? महान्यायाधिवक्ताले प्रहरी प्रशासनलाई प्रभावित पार्न सक्छ र ?’

बाजुराका डीएसपी चतुर्भुज ओझाले प्रहरी मतदानस्थलबाट हिँडेको भन्ने आरोप सही नभएको बताए । ‘निर्वाचन अधिकृतले नै मतदान स्वच्छ र प्रक्रियासम्मत हुन नसकेको देखेपछि रद्द हुनुपर्छ भनेर राय लेख्नुभएको हो । यसमा सुरक्षा संयन्त्रको त्रुटि छैन,’ उनले भने, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी अनुसार काम गर्छ । चेन अफ कमाण्डमा चल्ने निकायलाई कसैले प्रभावित पार्‍यो वा चलखेल गर्‍यो भन्ने विषय आरोपमात्रै हो । त्यो सही होइन ।’

३० वैशाखमा मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका संकलन गरेर मतगणनास्थल बनाइएको एउटा स्कूलमा मतपेटिका राखेको छ । तर बुथ क्याप्चरको आरोपपछि त्यही मतपेटिकाबाट मत गणना गर्ने कि फेरि मतदान गर्ने भन्ने विवाद टुंगिएको छैन ।

निर्वाचन आयोगले यथार्थ पत्ता लगाउन आयुक्त जबराको नेतृत्वमा पठाएको टोली घटनास्थल पुगेर फर्किएको छ । टोलीले बाजुराका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, दलका स्थानिय प्रतिनिधी लगायत घटनास्थलको अवलोकन समेत गरेर फर्केको छ ।

मंगलबार अपरान्हसम्म टोलीले आयोगमा प्रतिवेदन पेश गरेको थिएन । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले भने, ‘प्रतिवेदनका आधारमा आयोगले गर्ने निर्णयबाट मतगणना थाल्ने कि फेरि मतदान गर्ने भन्ने टुंगो लाग्नेछ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?