+
+

यो सिजनको पर्वतारोहण अन्तिम चरणमा, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:२६

४ जेठ, काठमाडौं । यस वर्ष हिमाल आरोहणका क्रममा ४ जनाको मृत्यु भएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार सगरमाथामा एक नेपाली सहयोगी र एक विदशी आरोहीको मृत्यु भएको छ ।

त्यस्तै कञ्चनजंघामा एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको मृत्यु भएको छ । उनीहरुको मृत्युबारे विस्तृत विवरण आइनसकेको उपाध्यायले बताए । यद्यपि संख्यात्मक हिसाबले यसवर्ष विगतमा भन्दा कम मानवीय क्षति भएको हो ।

‘यो वर्ष हिमालमा तुलनात्मक रुपमा कम मानवीय क्षति भएको छ,’ उनले भने, ‘यसो हुनुमा फटाफट आरोहण हुनु र मौसमले पनि साथ दिनु हो ।’ यस वर्ष आरोहीहरुका लागि मौसम अनुकुल नै देखिएको उपाध्यायले बताए ।

उनका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ । केही टोली काठमाडौं फर्किएर पर्यटन विभागमा ब्रिफिङसमेत सकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् ।

आरोहण दर बढी छ

यो वर्ष अनुकुल मौसम र ठूलो अप्रिय घटना नभएका कारण आरोहीको सफलता दर पनि बढी छ । यसको विस्तृत विवरण भने सबै आरोही काठमाडौं फर्किएर सम्पर्क अधिकृतले दिने विवरणपछि निश्चित हुने उपाध्यायले बताए ।

यो वर्ष कुल १२३ समूहका ९६८ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए । यसमध्ये ७५८ जना पुरुष र २१० जना महिला थिए । यो वर्ष कुल २७ वटा हिमालमा आरोहण अनुमति जारी भएको थियो । यसमध्ये सगरमाथामा मात्र ४२ समूहका ३१९ जनाले अनुमति लिएका थिए ।

पर्यटन विभागका अनुसार यो सिजनमा सरकारले ४८ करोड रुपैयाँ रोयल्टी संकलन गर्न सफल भएको छ । जसमध्ये सबैभन्दा धेरै ३९ करोड ९५ लाख रुपैयाँ रोयल्टी सगरमाथाबाट उठेको छ । ल्होत्से हिमालबाट दुई करोड ८४ लाख र कंचनजंगा हिमालबाट एक करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?