+
+
अन्तर्वार्ता :

‘जनताले अवज्ञा सुरु गरे, तर दलहरू सच्चिने मनस्थितिमा छैनन्’

जनताको स्वतन्त्रताको आकांक्षा प्रस्फुटन भएरै छाड्छ । हामी चाहन्छौं, कम्युनिष्ट पार्टीभित्रैबाट नयाँ विचार र नेतृत्व जन्मिएहुन्थ्यो, तर त्यसो भएन । हामीले नसोचेको कुनाबाट विद्रोहले घच्घचाउँदैछ ।

राम कार्की, नेता (नेकपा (माओवादी केन्द्र) राम कार्की, नेता (नेकपा (माओवादी केन्द्र)
२०७९ जेठ ६ गते १६:५५

६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भइरहँदा यसले गरेका संकेतका बारेमा विभिन्न थरी अड्कलबाजी र टीकाटिप्पणी भइरहेका छन् । खासगरी स्वतन्त्र उम्मेदवारले प्राप्त गरिरहेको लोकप्रिय मत र यसले गर्ने संकेतबारे छलफल सुरु भइरहेको छ ।

यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’सँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश-

स्थानीय तहमा गठबन्धन गर्दै केन्द्रबाट निर्णय थोपर्ने अभ्यास सिद्धान्ततः सही हो कि गलत ? 

सिद्धान्त भनेको अन्ततः अभ्यासहरूको समुच्चय हो । सिद्धान्त कुनै आकाशबाट खस्ने कुरा नभएर व्यवहारहरूकै सामान्यीकरण हो । नेपालमा समुदायहरू असाध्यै कमजोर भएका छन् ।

यहाँको वन, खानेपानी, सामुदायिक विद्यालय लगायतमा पार्टीले हैकम जमाएको छ, जुन नेपालको मूल समस्या हो । त्यस्तै, नेपालका पार्टीहरू सिद्धान्तबाट मुक्त भएका छन् । जसले बढी सिट दिन्छ, त्यहीसँग एकता हुन्छ । सिद्धान्तको रेखांकन अथवा सीमा च्यातचुत भइरहेको छ । 

यस्तो किन भयो ? सिद्धान्तको राजनीति सकिइसकेपछि त राजनीति आफैंमा कहाँ बाँकी रहन्छ होला र ? 

अत्यधिक ठूलो त्याग गरेको समाज त्यसअनुसारको प्रतिफल पाएन भने समाज थाक्छ, क्लान्त हुन्छ, बेचैन बन्छ । अहिले नेपाल त्यही अवस्थामा छ । 

जसरी भए पनि चुनाव सम्पन्न भइसक्यो । यो चुनावको प्रारम्भिक मत परिणामको प्रवृत्ति विश्लेषण गरौं न । यो नतिजालाई कसरी लिने ? 

जनतासँग अरू विकल्प थिएन । यो अवस्थामा भएकै विकल्पलाई छान्ने हो । तर, जनताले ठाउँठाउँमा केही संकेतहरू गरेका छन् । 

कस्तो संकेत भन्नुभएको ? 

जस्तो, पार्टीहरूले यो देशमा त हामी नै हौं, ऊ नभए म, म नभए ऊ भन्ने स्थिति थियो । त्यसको विकल्प पनि हुन सक्छ है भन्ने सन्देश ठाउँठाउँबाट प्राप्त भएको छ ।

तपाईंले स्वतन्त्र उम्मेदवारतर्फ संकेत गर्न खोज्नुभएको ? 

उदाहरणको लागि, नेपालमा सभ्यताको सुरुवात भएको ठाउँ जुम्लाको चन्दननाथ गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले जिते । पछौटे भनिएको कर्णालीको केन्द्रदेखि लिएर एकदमै ‘एड्भान्स’ भनिएको ठाउँमा पनि जनताको आकर्षण यता (स्वतन्त्रतिर) देखिन्छ ।

यसले दलहरू सच्चिएन भने दलीय व्यवस्थाप्रति नै जनताले प्रश्न गर्दै विकल्प खोज्न सक्छन् भन्ने सन्देश दिन खोजेको हो ? 

दलीय व्यवस्थाभित्र भएको अधिकारलाई उपयोग गरेर नै स्वतन्त्र उम्मेदवारहरू आएका हुन् । त्यसैले दलीय व्यवस्थाकै विकल्प भन्ने कुरा त नगरौं । कोही नयाँ विचार र नेतृत्व लिएर आउनुपर्ने जरूरी थियो ।

दलहरूमा उदासिनता, आफूलाई नवीकरण र पुनर्संगठित गर्न नसक्ने कमजोरी देखियो । यो दलहरूले आफूलाई पुनर्संगठित गरेर नयाँ शक्ति र ऊर्जासहित आउन नसक्दाको परिणति हो ।

यो निर्वाचनमा अभिव्यक्त जनमतले दलहरुलाई पुनर्संगठित हुँदै नवीकरण गरेर आउन दबाव सिर्जना गरेको हो ? 

स्वभाविक रूपमा हो । यो त शान्त खालको अवज्ञा भयो । दलहरूले हाम्रो प्रतिनिधिलाई चुन भनेर गरेको आह्वानको शान्त ढंगले अवज्ञा भयो । एकछिन कल्पना गर्नुहोस् त, यो हिंसात्मक भएको भए के हुन्थ्यो होला ? यस्तो अवज्ञा हिंसात्मक रूपमा प्रकट हुने हो भने हामी दलका नेतालाई कहिँ बसिसक्नु/बाँचिसक्नु हुँदैनथ्यो । नेपालमा राजनीति गर्नेहरूले यो कुरालाई अझै पनि बुझ्दैनन् भने त्यसको मूल्य राजनीतिक दल, नेतृत्व र समाजले पनि चुकाउनुपर्ने हुन्छ ।

हामी छिट्टै संघ र प्रदेशसभाको निर्वाचनमा जाँदैछौं । यो बीचको समयमा दलहरूलाई सच्चिनका लागि दबाव सिर्जना भइरहेको छ भनेर बुझौं ?

तर, दल र नेताहरूको मनस्थिति बुझ्दा त्यो स्थितिमा पुगेको देखिंदैन । आआफ्नो जित र प्राप्त परिणामबाट सबै मुग्ध छन् । सबैले आआफ्नो ढंगले यसलाई अर्थ्याउँछन् ।

जम्मैले गठबन्धन गर्दा पनि मैले यत्रो सिट ल्याएँ भनेर एमालेले अर्थ्याउला । हामी माओवादीको पनि सिट बढेकै छ । कांग्रेसले त संगठनात्मक रूपमा नवजीवन नै पाएजस्तो छ । त्यो स्थितिमा सबै मुग्ध होलान् । के सच्चिएलान् र ?

तर, स्थानीय तहको निर्वाचन परिणाममा अलि खुम्चिएपछि एमालेले लामो समयदेखि अवरुद्ध गर्दै आएको संसद अवरोध खोल्ने निर्णय गर्‍यो । यसलाई सच्चिएको भन्ने कि संयोग मात्रै मान्ने ?  

एमाले भनौं वा अन्य पार्टी तत्कालको राजनीतिमा केन्द्रित छन् । कुनै दीर्घकालीन सोच र योजना छैन । नेपाललाई सम्पूर्ण रूपमा साक्षर कहिलेसम्म बनाइसक्ने ? जनस्वास्थ्यको नेटवर्क कति वर्षपछि सबै ठाउँमा पुर्‍याउने ? पिउने राम्रो पानी सबै जनसंख्याको पहुँचमा कहिलेसम्म पुर्‍याउने ?

यसको कुनै योजना कुनै पार्टीसँग छैन । जे आउँदै जान्छ, त्यो गर्दै जाने ! एमालेलाई पनि योभन्दा कटु शब्दमा नभनौं । हिजो बन्द गर्दा पनि कुनै राजनीतिक तर्क थिएन र अहिले खोल्दा पनि छैन ।

त्यसो भए दलहरू सच्चिएनन् भने आगामी निर्वाचनमा यो अवज्ञा थप शक्तिशाली हुनसक्छ ?

केवल निर्वाचनमा मात्रै अभिव्यक्त नहोला ।

अरू के होलान् अवज्ञा प्रकट हुने क्षेत्रहरू ?

मैले बारम्बार उठाउँदै आइरहेको छु, अब नयाँ विचारसहित नयाँ नेतृत्व आउनुपर्छ । मैले यो उमेर समूहको आधारमा भनेको होइन । ०३६-०३८ सालको वैचारिक ऊर्जाले हामीलाई गणतन्त्रसम्म पुर्‍यायो ।

गणतन्त्रपछि नेपाललाई अगाडि लैजान देशका लागि दीर्घकालीन विकासको रणनीति र राष्ट्रिय कार्यक्रम बनाउने, अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई पुनर्व्याख्या गर्ने जस्ता तमाम कामहरूको आवश्यकता छ । हामीलाई चाहिएको नयाँ विचार अगाडि आउन पुराना विचारहरूको ‘रिभिजिट’ पनि हुनुपर्छ । सँगै एउटा ठूलो बहस हुनुपर्छ ।

बुद्धकै ज्ञान पनि तत्कालीन उत्तर भारत र दक्षिण नेपालका मठमन्दिर लगायतका सबै ठाउँमा गएर बहस छलफल गरेर लामो विमर्श र वादविवादपछि प्राप्त भएको हो । तब मात्र बुद्ध एउटा निष्कर्षमा पुगेका थिए । पीपलको बोटमुनि बस्दा बस्दै ज्ञान आएको होइन, उनले त त्यहाँ संश्लेषण मात्रै गरेका हुन् ।

नेपालमा राजनीति गर्नेहरूले यो कुरालाई अझै पनि बुझ्दैनन् भने त्यसको मूल्य राजनीतिक दल, नेतृत्व र समाजले पनि चुकाउनुपर्ने हुन्छ ।

यहाँनेर हामी गलत सावित भए पनि मार्क्सवाद गलत सावित भएन । मार्क्सवादले भनेको छ- विद्रोह जनताको अधिकार हो र जनताले कुनै न कुनै रूपमा विद्रोह गर्छन्, कसैको पनि एकाधिकारलाई जनताले मान्दैनन् । जनताको स्वतन्त्रताको आकांक्षा प्रस्फुटन भएरै छाड्छ । हामी चाहन्छौं, कम्युनिष्ट पार्टीभित्रैबाट नयाँ विचार र नेतृत्व जन्मिए हुन्थ्यो, तर त्यसो भएन । हामीले नसोचेको कुनाबाट विद्रोहले घच्घचाउँदैछ ।

यसपटक धेरै स्वतन्त्र उम्मेदवारले जितिरहेका छन् । काठमाडौंमा बालेन आइरहेका छन् । पोखरामा अटेरी अभियान जन्मिएको छ । तपाईंले अवज्ञा भन्नुभएको छ । दलभन्दा बाहिरबाट त्यस्तो विद्रोहको झिल्का देखिन थालेको हो ? 

निश्चित रूपमा त्यस्तो एउटा सन्देश आयो । कदाचित् बालेनहरूले चुनाव जिते भने शिक्षा, स्वास्थ्य इत्यादिमा राम्रो राम्रो गर्छु भन्ने सपना देख्नुभएको छ । माफिया र अरुबाट यति डरलाग्दो प्रतिरोध हुनेछ ।

यदि आफ्नो उद्देश्यमा इमान्दार छ उनी एकदिन मार्क्सवादतिर जानैपर्छ । उनलाई त्यो हतियारको जरूरी परिहाल्छ । यदि अहिलेकै पुँजीवादमा समाहित हुने अवस्था बन्यो भने नयाँ दिल्लीको आम आदमीजस्तै हुनुपर्छ । त्यहाँ विद्रोहलाई पुँजीवादले आफ्नो भेन्टिलेसन बनाइदियो ।

आम आदमीले पुँजीवादी व्यवस्थाको हतियार बनेर काम गरिरहेको छ भन्नुखोज्नुभएको ? 

नाईं, त्यो एउटा विद्रोहजस्तो बनेर आएको थियो । तर, बिस्तारै त्यसले त्यो (विद्रोह) छोड्यो । ‘यदि तिमी बिजेपीसँग गएर धार्मिक उन्मादमा रमाउन चाहँदैनौं भने तिमीलाई यहाँ एउटा झ्याल छ है …’ भनेजस्तै भयो ।

हाम्रो स्थानीय चुनावको प्रसंगतिरै जाऔं । सत्तापक्ष र प्रतिपक्ष दुवैले आआफ्नो गठबन्धनको अभ्यास गरेर चुनावमा गए । यसबाट आएको परिणामबाट को बढी लाभान्वित भए ? 

मलाई यस्तो विषयमा खासै रुचि रहँदैन । तर, यो नतिजाबाट हामीलाई एउटा प्रयत्न गर्ने ढोका खुलेको छ । दुई चारवटा पालिकामा अध्यक्ष जितेका हाम्रा साथीहरूले नयाँ ढंगले जनमैत्री तर केही फरक काम उनीहरूले सुरु गरिदिए भने त्यसले नयाँ क्षितिज अगाडि देखा पर्नेछ ।

शिक्षा, स्वास्थ्य लगायतका विषयमा १० प्रतिशतभन्दा बढी बजेट छुट्याइनुपर्छ भनेर हामीले लगातार भन्दै आएका थियौं । शिक्षामा कहिले पनि पाँच प्रतिशतभन्दा माथि गएन । स्वास्थ्यमा त झन् कम बजेट छ । त्यही बजेटको पनि सही सदुपयोग भएन । हामीले कम्तीमा दुई अंकमा जानुपर्छ भन्दै आयौं । स्थानीय सरकारले यो काम गर्नुपर्छ भनेर यसपटक धेरै ठाउँमा नारा बन्यो ।

केही उम्मेदवारहरूले नै हामी शिक्षा र स्वास्थ्यमा यति लगानी गर्छौं भने । उदाहरणको लागि, एउटा पालिकाले एउटा विद्यालयलाई ५ लाख लगानी गर्‍यो, नजिकै विज्ञान वा स्वास्थ्य सचेतना कार्यक्रमलाई एक लाख रुपैयाँ बजेट पर्‍यो । यी दुवै कार्यक्रमले एकले अर्कालाई सहयोग पुग्छ ।

यहाँ पनि स्वतन्त्रहरू आफ्ना उद्देश्यमा इमान्दार भएर आफ्ना कार्यक्रम लागु गर्न लागिपरे भने यी अवरोधको सामना गर्नैपर्छ । त्यतिबेला उनीहरूले पनि हामीले भन्दा थप र्‍याडिकल मार्क्सिज्म (आमूल परिवर्तनकारी मार्क्सवाद) खोज्नुपर्ने हुन्छ ।

त्यस्तै, नेपालमा गैरसरकारी संस्थाहरूको डिजाइनमा केही पार्टीहरू त्यसको साधन (टुल्स) बने । यसबाट सामुदायिक वन, स्कुल, कुलो, पैनी, सिंचाई, नहर, स्वास्थ्यचौकी लगायत पार्टीको अधिनमा पुगेको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिमा पार्टीका बोसहरू अध्यक्ष भएका छन् । त्यो समितिको चुनाव प्रतिनिधिसभा चुनावभन्दा पनि बढी भड्किलो हुन्छ । यस्तो अवस्थामा जनता त एकभारी घाँस र एउटा हलो काट्न पनि वन समितिको अध्यक्षकोमा जानुपर्छ । एमालेकै नीति भएकाले त्यहाँ अधिकांश एमाले नै छन् ।

भएजति सबै संस्थालाई निजीकरण गर्ने कांग्रेसको र समुदायको स्वामित्वमा रहेका संस्थाहरूलाई पार्टीको कब्जामा ल्याउने काम चाहिँ एमालेको रह्यो । एमालेको पार्टी सदस्यता लिएन भने त्यो मान्छेलाई पानीको धारा जोड्न, नानीबाबुलाई विद्यालय भर्ना गराउन पनि गाह्रो पर्छ । यो स्थितिको अन्त्यका निम्ति स्थानीय तहमा चुनाव जितेका युवाले काम सुरु गरे भने त्यो एउटा नयाँ अध्याय हुनेछ ।

०६४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्यो, एमाले खुम्चियो । दोस्रो संविधानसभाको चुनावमा एमाले ठूलो पार्टी बन्दा माओवादी खुम्चियो । पछि दुवै मिलेर चुनाव लडे । अहिलेको मत परिणामले आउँदो निर्वाचन परिणामबारे केही संकेत गर्छ ?   

माओवादीभित्र उत्पादन सम्बन्धले सबै कुरालाई फेर्छ भन्नेजस्ता निर्धारणवादी सोच गहिरो गरी व्याप्त छ । समाज केवल बलद्वारा मात्रै होइन, सम्झाएर बुझाएर पनि चलिरहेको हुन्छ । अहिलेको पुँजीवादी राज्यमा एकातिर प्रहरी, आर्मीजस्ता शक्ति छन् भने अर्कोतिर मन्दिर, चर्च, गुम्बा, पुराण र प्रवचनहरू अहिलेको व्यवस्थालाई जोगाउने बलियो कारगर शक्ति छन् ।

बन्दुकको बलमा केही कुरा प्राप्त गरेपछि त्यसलाई टिकाउन नागरिकको चित्त बुझाउनुपर्छ भन्ने कुरा माओवादीले बुझेन । शिक्षा, स्वास्थ्य सेवालाई परिवर्तन गर्नुपर्छ भन्ने बुझेन । समाजवाद टिकेका ठाउँमा शिक्षामा काम भएको छ । चुनावबाट शक्तिमा आएको कम्युनिष्ट शक्ति केरलमा यसरी नै टिकिरहेको छ । 

तपाईंले भनिरहनु भएजस्तो माओवादीलाई गुनासो गरेर बसिरहने सुविधा छैन नि । माओवादी पटकपटक सरकारमा रह्यो । अहिले पनि सरकारमा छ । अर्थमन्त्रालय आफैंसँग छ । नीति तथा कार्यक्रम बनाउँदै हुनुहुन्छ । पार्टीभित्रै तपाईंहरू कति सुनिनुहुन्छ ? 

एक प्रकारले तपाईंले हामीलाई लाछी भन्न नि सक्नुहुन्छ । केही साथीहरू विकल्प भनेर उभिनुभयो, तर केही पनि भएन । फेरि सबैजना फर्केर यहीँ आउनुभयो । फर्केर आउनुको अर्थ मैले यो सही छ भनेको होइन । तर, त्योभन्दा प्रभावकारी विरोध त मैले यहीँ बसेर गरिरहेको छु ।

म आफ्नो पार्टीभित्र आलोचनात्मक सोचका साथ बसेको छु । आलोचनात्मक काम कारबाहीका साथ म बाँचेको छु । त्यो नभएको निसास्सिने दिन म बस्दिनँ । तर माओवादी छोड्ने र फर्किनेहरूले गरेको विरोध र मैले आफ्नै आन्दोलनप्रति राखिरहेको आलोचनात्मक सोच, कुनमा स्थिरता छ ? त्यो हेर्नपर्छ ।

हो, हामीले विकल्प भने दिन सकेनौं । मार्क्सवादले विकल्पबारे कुरा गरेको छ, तर हामीले निर्धारण गरेअनुसार, कुनै मार्क्सवादी वा माओवादीले लेखिदिए, घोषणा गरिदिएअनुसार इतिहास हिंड्दैन । यो आफ्नै गतिमा हिंड्छ । तर विद्रोह अधिकार हो भनेर मार्क्सले भनेको कुरा यहाँ आएर पनि सत्य सावित भएको छ । 

पार्टीभित्र र बाहिरबाट सुरु भएको अवज्ञाको कुरा भयो । तपाईंले चिनेको माओवादीले आफूलाई पुनर्संगठित गर्दै नवीकरण गर्ला, सच्चिएला भन्नेमा तपाईंलाई कत्तिको विश्वास छ ?

ग्राम्सीलाई सम्झन मन लाग्यो । उनी भन्छन्, ‘एउटा वुद्धिजीवीको रूपमा म निराश छु, तर एउटा क्रान्तिकारीको रूपमा म आशावादी छु ।’ कहीँ अर्को एउटा लडाईंको मोर्चा खुलेको भए सायद म त्यहाँ जान्थें होला । मैले आफैंले मोर्चा खोल्न सकिनँ । तर, सत्य स्थापित हुन समय लाग्छ ।

पार्टीमा कुनै लाइन शक्तिशाली हुन पनि समय लाग्छ । लेनिनदेखि माओसम्मका विचार उनीहरूकै पार्टीले बोक्न समय लागेको थियो । यो जरूरी छैन कि म बाँच्दै वा यति वर्षको हुँदा भइहाल्छ । तर, यदि मैले सत्य कुरा गरिरहेको छु भने क्रान्ति सत्यसँगै रहने भएकोले यो स्थापित भएरै छाड्छ ।  

यो प्रश्नको थप स्पष्ट जवाफ खोजौं । स्थानीय निर्वाचनमा माओवादीले नतिजामा केही सुधार गर्‍यो । यो माओवादी सुध्रन खोजेको परिणाम हो कि गठबन्धन वा अन्य सांयोगिक नतिजा हो ?

भर्खरै विदेश गएको मानिसले विदेशी मुद्रामा कमाए पनि कुनै सामान किन्दा नेपालीमा विनिमय गरेर कति पर्‍यो भनेर तुलना गर्छ । तर, विदेशमै हुर्किएको दोस्रो पुस्ताले यसो गर्दैन । हिजो राजतन्त्र देखेको पुस्ताको लागि लोकतन्त्रको महत्व छ ।

गणतन्त्रमै जन्मिएका नयाँ पुस्ताको लागि राजतन्त्र त दन्त्यकथा भइसक्यो । त्यो नयाँ पुस्तालाई यो गणतन्त्रसँग रिस उठिसक्यो । यही बहुरूपी गणतन्त्र मात्रै देखेको मानिसलाई राजतन्त्रमा कसरी निसास्सिनुपर्थ्यो भनेर बुझाउन मुश्किल हुन्छ । पुरानो पुस्तालाई राजतन्त्रभन्दा गणतन्त्र ठीक छ भन्न सजिलो हुन्छ । 

पार्टीलाई पुनर्संरचना गर्दै नवीकरण गर्ने नयाँ विचार र कार्यक्रमले हो । यस्तो राजनीतिक कार्यक्रम आउनुपर्‍यो जहाँ लाखौं लाख युवाहरू संगठित हुन सकून् । जस्तो, संयुक्त राष्ट्रसंघमा फिडेल क्यास्ट्रोले एक वर्षभित्र १० लाख नागरिकलाई साक्षर बनाउँछौं भनेर बोले ।

यो साक्षरता अभियान सफल बनाउन चे ग्वेभारा, फिडेल क्यास्ट्रो र राहुल क्यास्ट्रो लगायत मिलेर कार्यक्रम बनाए । लाखौं स्वयं सेवक बनाएर उनीहरूले देशलाई पूर्ण साक्षर देश बनाउन सके । शिक्षा, जनस्वास्थ्य लगायतका विषयमा त्यस्तै विचार र कार्यक्रम लिएर आउने हो भने नेताको उमेर र रंग मान्छेले हेर्दैन । 

तपाईं सांकेतिक रूपमा प्रस्तुत हुनुभयो नि ?

०६४ को निर्वाचनमा माओवादीलाई कसैलाई हराउनु थिएन । माओवादीलाई विजयी हुनु थियो । मजदुर किसान वर्गलाई विजयी बनाउनु थियो । ०७५ तिर माओवादीमा लाग्नेका लागि यो सुध्रिएको परिणामले खुसी देला किनकि त्यतिबेला त माओवादी योभन्दा कमजोर थियो ।

म त पुरानो माओवादी । यो पार्टी कसरी हुर्किएर यहाँ आयो र सही विचार लिन नसक्दा कसरी डामाडोल भयो भन्ने देखेको छु । त्यसैले म यो गणितको बारेमा केही भन्न सक्दिनँ ।

यो चुनावमा प्राप्त प्रारम्भिक परिणामको विश्लेषण गर्दा आउँदो चुनावमा यही गठबन्धनले निरन्तरता पाउँछ कि केही नयाँ खिचडी पाक्ला ? 

मैले सुरुमै भनिसकेँ कि दलहरूमा कुनै सिद्धान्तको राजनीति बाँकी रहेन । कुनै निर्दिष्ट कार्यक्रम लागु गर्नुछ भने पो तदनुरूपको सहकर्मी खोजिन्छ, जसले त्यो कार्यक्रमसँग सहमति जनाओस् ।

यसो नहुँदा जसले बढी सिट दिन्छ, त्यही खोज्ने होला । अहिलेको दुःखद यथार्थ नै यही हो । हिजो आन्दोलनका निम्ति सिद्धान्तबाट निश्रृत राजनीति गरिन्थ्यो । तर तिनै पार्टीहरू अहिले यस्तो फुक्काफाल भए, सम्भवतः उनीहरूको अगाडि कुनै मूर्त लक्ष्य नभएर पनि होला । नेपालमा ज्ञान, दर्शन, इतिहास र परम्परा अति गरिब भएर पनि होला ।

अगाडिको बाटो चाहिँ के होला ? के हामी विचारको राजनीति गर्न योग्य मानिस होइनौं, हाम्रा नेता त्यस्ता होइनन् ?

होइन, हामी ठक्कर खाएर पुनः त्यहीँ पुग्छौं । बुद्धिमान मानिस ठूलो दुर्घटना हुनुभन्दा अगाडि नै सचेत बन्दछ । विचार, सिद्धान्त र ज्ञानलाई मार्गनिर्देशक बनाउन थाल्छ । मुर्खताको परिणाम पहिला पहाडमा ठोक्किने र चेत्ने हो । उसले धेरै मूल्य चुकाउनुपर्ने हुन्छ । यदि सिद्धान्तनिष्ठ राजनीति गर्न सकिएन भने जनताको शान्त अवज्ञा भोलि अर्को प्रकारको विद्रोहको रूपमा पनि अभिव्यक्त हुनसक्छ ।

डार्बिनले स्वतःस्फूर्त परिवर्तनको कुरा गर्थे । मार्क्सवादीहरूले सचेत प्रयत्नको कुरा गरे । पहरामा ठोक्किएपछि मात्रै चेत आउनेहरू कसरी मार्क्सवादी हुनुभयो र ?  

हामी को कति मार्क्सवादी, कति प्रतिशत मार्क्सवादी ? माओले २०, ३०, ४० प्रतिशत भन्थे । हाम्रो पार्टी र आन्दोलनमा कति प्रतिशत बाँकी छ ? कतै ऋणात्मक पो भइसक्यो कि ? अहिले जुम्लाको चन्दननाथमा चुनाव जित्ने स्वतन्त्र मान्छे हुन् या अरु कुनै ठाउँ ।

काठमाडौंको परिणाम आइसकेको छैन । मानौं काठमाडौंबाटै स्वतन्त्रले जिते भने बागमती र यहाँको बाटाघाटा सफा बनाउने, पिउनेपानीको पहुँच पुर्‍याउने, यहाँका सामुदायिक विद्यालय र अस्पतालको स्थिति फेर्नेतिर जान खोजे भने उनीमाथि स्वभाविकरूपमा हमला सुरु हुन्छ । ब्रेख्तले भनेका छन्, ‘विचार जब विचार नै रहन्छ, त्यो सबैका लागि प्रिय हुन्छ, तर विचार जब कार्यक्रममा ढल्न थाल्छ, त्यसपछि औंला उठ्न थाल्छ ।’

क्युबामा सुधारका कार्यक्रम सुरु भएपछि हो अमेरिकाले नाकाबन्दी गरेको । यहाँ पनि स्वतन्त्रहरू आफ्ना उद्देश्यमा इमान्दार भएर आफ्ना कार्यक्रम लागु गर्न लागिपरे भने यी अवरोधको सामना गर्नैपर्छ ।

त्यतिबेला उनीहरूले पनि हामीले भन्दा थप आमूल परिवर्तनकारी मार्क्सवाद (र्‍याडिकल मार्क्सिज्म) खोज्नुपर्ने हुन्छ । उनीहरू पनि समाहित भए भने अर्को विद्रोह हुन्छ । फेरि अर्को विकल्प अगाडि आउँछ ।

यसबीचमा पनि काठमाडौंमा विकल्पको पसल धेरै खुले । विकल्प दिनेहरूमा यस्तो सोच आयो कि नेता तपाईंहरूले दुःखै गर्नुपरेन, म छँदैछु । तपाईंहरू सबै जम्मा भएर आउनुस् र कार्यक्रम बनाउनुस् । यो कुनै लोकतान्त्रिक तरिका नै भएन ।

सँगै बसौं, कार्यक्रम बनाऔं र त्यसलाई लागू गर्नेक्रममा कोही नेता जन्मिएला भन्ने पो लोकतान्त्रिक हुन्छ । त्यस्ता विकल्पहरूलाई जनताले पाखा लगाइदिए । अहिले जनताले पुनः अर्को विकल्प खोज्ने प्रयत्न गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?