+
+

युगान्डासँग लगातार तेस्राे हार, घरेलु मैदानमै गुमायो नेपालले श्रृङ्खला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १६:११

५ जेठ, काठमाडौं । पहिलाे पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेकाे नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्राे हार व्यहोरेको छ ।

बिहीबार भएकाे खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयाे । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै  आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलाे खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएकाे थियाे । दाेस्राे खेलमा नेपाल १ रनले पराजित भएकाे थियाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएकाे थियाे । १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनाेले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनकाे साझेदारी नै युगान्डाकाे जितकाे आधार बन्याे ।

नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक-एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बल खेलेकी उनले ५ चाैका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १५ बल खेल्दै २ चाैका मद्दतमा अविजित १८ रन जाेडिन् ।

अर्की ओपनर बिन्दु रावल ४ रनमा बोल्ड भइन् । तेस्रो क्रममा आएकी सीता राना मगरले १२ रन बनाइन् । युगान्डाको लागि फिनोमा कुलुमी, कोन्की ओन्के र सारा अकितेङले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?