+
+

मकवानपुरमा कमजोर देखियो एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:५५

५ जेठ, हेटौंडा । २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै तथा थप दुई वटा पालिकामा उपप्रमुख जितेको नेकपा एमाले यसपटक कमजोर देखिएको छ ।

८ वटा पालिकाको अन्तिम नतिजा आउँदा उसले इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै र भिमफेदी गाउँपालिकामा अध्यक्ष मात्र जितेको छ ।

मत परिणाम आउन बाँकी हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा यो समाचार तयार पार्दासम्म एमाले उम्मेदवार पछि पारेका छन् ।

नतिजा सार्वजनिक भएका पालिका मध्य ५ वटाान नेपाली कांग्रेसको नेतृत्व छ भने एउटामा माओवादीले प्रमुख जितेको छ ।

२०७४ को निर्वाचनमा आफ्नो पक्षमा पारेको मनहरि, कैलाश, मकवानपुरगढी एमालेले गुमाएको छ । एमालेले गुमाएका ठाउँमा कांग्रेले नेतृत्व पाएको छ ।

मकवानपुरमा पहिलो शक्तिका रुपमा २०४९ सालदेखि नै लगातार नेतृत्व गर्दै आएको एमालेबाट २०७४ मा कांग्रेसले राक्सिराङ र बकैया खोसेको थियो । बागमती र थाहा नगर माओवादीले लिएको थियो ।

हेटौंडा उपमहानगरमा बलियो उपस्थिथि देखाएको एमालेले केही वडा गुमाएको छ । एमालेले हेटौंडा उपमहानगरको ३, ७, १७, गुमाएको छ भने ४, ५, १४, १५, १८, १९ मा अध्यक्ष जितेको छ । बाँकी वडाको मतगणना हुँदै छ ।

स्थानीय तह निर्वाचनको परिणामका आधारमा आफूहरु कमजोर देखिएको स्वीकार्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले यसको कारण बुझ्नेतिर लाग्ने बताए ।

सत्तारुढ गठबन्धनका संयोजक तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले २०४९ देखि एकलौटी ढंगबाट जिल्लामा नेतृत्व पाए पनि जनताले विकासको अनुभूति गर्न नपाउँदा अहिलेको अवस्था आएको बताए ।

कार्यकर्ताको ठाउँमा मात्रै विकास र सेवा सुविधा दिने आम जनतालाई वेवास्ता गर्ने एमालेको नीतिका कारण आफूहरुलाई चुनाव जित्न सजिलो भएको उनको ठम्याईँ छ ।

‘गठबन्धनले नयाँ र लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउँदा सफलता हात परेको छ,’ उनले भने, ‘जनताले नयाँ अनुहार र शासक परिवर्तन गर्न खोजिरहेका बेला हामीले सोही अनुसारको रणनीति बनाउँदा सफल भयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?