+
+

कांग्रेसले ‘चुनावी क्याम्पेनर’ बनाउन चाहेका दिलीप खाँणकै हार

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ ५ गते २०:१२

५ जेठ, काठमाडौं । स्थानीय चुनावको प्रचार प्रसारका क्रममा नेपाली कांग्रेसका नेताहरु भन्थे, ‘उत्कृष्ट १० मध्ये ६ वटा हाम्रा प्रतिनिधिहरुले नेतृत्व गरेको पालिका छ ।’

२६ वैशाखमा कांग्रेसका प्रवक्ता डा‍. प्रकाशशरण महतले आफ्ना स्थानीय तहका सरकारको बयान गर्दै यही भनेका थिए । नाम नलिए पनि उनले गरेको संकेत स्याङ्जाको वालिङ नगरपालिका हो, जसले गत वर्ष संस्थागत विकास सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ उत्कष्ट नगरपालिकाको अवार्ड समेत पायो ।

फोहोर व्यवस्थापन लगायतका कामका कारण चर्चामा आएका वालिङका मेयर दिलिपप्रकाश खाँणलाई कांग्रेसले पार्टीको केन्द्रीय चुनावी घोषणापत्र तयारी समितिमा पनि राखेको थियो र चुनावी क्याम्पेनर बनाउने तयारी गरेको थियो । तर ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा खाँण आफैं पराजित हुन पुगेका छन् । उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारी निर्वाचित हुँदा मेयरमा खाँण हार्न पुगे ।

एमालेका कृष्ण खाँण १३ हजार ७७६ मतका साथ निर्वाचित हुँदा दिलिपले भने ११ हजार ५९६ मत पाए । उपमेयरमा निर्वाचित कविताले दिलिपले भन्दा बढी अर्थात १२ हजार ८३३ मत ल्याएकी छन् । १४ मध्ये ६ वटा वडा कांग्रेसले जितेको छ ।

किन हारे खाँण ?

२०७४ मा खाँण १० हजार ६०० मतले निर्वाचित हुँदा एमालेका पूण्यप्रसाद अर्यालले ८ हजार ७४९ मत पाएका थिए । यो पटक खाँणले अघिल्लो पटकभन्दा बढी मत पाएका छन्, तैपनि एमाले उम्मेदवार कृष्णभन्दा २ हजार १८० मतले पछि परे ।

एक पटक मेयर चुनिएको व्यक्ति फेरि जित्न सहज छैन । किनकी नगरपालिकाको नेतृत्व गर्दा जति समर्थक जुटाएको हुन्छ, त्यति नै असन्तुष्टहरु पनि बढ्छन् । तर खाँणको हारमा यो भन्दा आन्तरिक गुटबन्दी प्रमुख कारण भएको नेताहरु बताउँछन्, जुन मंसिरमा भएको कांग्रेसको १४औं महाधिवेशनसँग जोडिन्छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठ निकट खाँण स्याङ्जा क्षेत्र नम्बर–२ को सभापति हुन चाहेका थिए । त्यसका लागि उनले खुलेर गुटगत गतिविधि गरे, त्यसको प्रत्यक्ष असर स्थानीय चुनावमा देखिएको छ । एक नेता भन्छन्, ‘क्षेत्रीय सभापति हुन एक पक्षलाई पुरै वेवास्ता गर्नुभयो । रुष्ट एक पक्षले दिलीपलाई मेयर बनाउन असहयोग गरिदियो ।’

संस्थापनइतरका कतिपय नेताहरु खाँणको चुनावी प्रचारमा सक्रिय भएर लागेका थिएनन् । नगरपालिकाको नेतृत्व गर्दा भए गरेका कामको जस आफूले मात्र लिएकोमा पनि स्थानीय तहका कतिपय नेताहरु असन्तुष्ट थिए । ‘दिलीपले टिकट पाएपछि स्थानीय केही नेता निष्क्रिय बसे । प्रचारमै हिँडेकाले पनि उनले गरेका कामको चर्चा गरिदिएनन्,’ कांग्रेसका शुभेच्छुक एक स्थानीय भन्छन्, ‘पार्टीभित्रकै अर्को समूहले आफ्नो तर्फबाट निर्वाचित गराउन सहयोग गरेन । स्मार्ट सिटी बनाउने कार्यले उ मात्रै हाइलाइट भयो, हामी ओझेल पर्‍यौं भन्ने अर्को पक्षलाई पर्‍यो । खुलेर एक पक्ष प्रचारमा लागेन ।’

खाँण पक्षका नेताहरुका अनुसार स्मार्ट सिटीका लागि १०६ वटा विषयमा उनले विधागत योजना बनाएका थिए । सुशासनका लागि गरेको काम र स्मार्ट सिटीको अवधारणा बुझ्न ५५० बढी पालिकाका जनप्रतिनिधि वालिङको अवलोकन भ्रमण गर्न पुगेका थिए । आफूले अघि सारेका साना ठूला दर्जनौं योजनालाई दोस्रो कार्यकालमा पूरा गर्नका लागि फेरि मेयरमा उम्मेदवार बनेको खाँणले बताएका थिए । फोहोरमैला व्यवस्थापन र त्यसको पुनः प्रयोग, सिद्धार्थ राजमार्ग रहेका घुम्तीमा बाटो विस्तार गरी दुघर्टना न्युनिकरण जस्ता काम गरेका उनले बसपार्क निर्माण प्रारम्भ, आँधीखोला बहुउपयोग परियोजना, आँधीखोला करिडोर लगायतका योजनालाई आधार बनाएर मत मागेका थिए ।

तर बाहिर ‘वाहवाही’ कमाएका उनलाई वालिङकै मतदाता, त्यसमा पनि कांग्रेस कार्यकर्ताले भने अनुमोदन गरिदिएनन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले पाएको बराबर मत पनि केही वडामा उनले पाउन सकेनन् । त्यसका लागि वडा नम्बर १ हेरे पुग्छ । कांग्रेसका पदमराज गुरुङले ८५० मत ल्याएर वडा नम्बर १ को अध्यक्ष चुनिए । तर त्यही वडामा खाँणले कम मत पाए ।

आन्तरिकसँगै एमाले उम्मेदवारप्रति मतदाताको सहानुभूति पनि खाँणको हारको कारण भएको कतिपय बताउँछन् । ‘एमालेका कृष्ण खाँण पहिले पटकपटक हारेका मान्छे हुन् । एकपटक जिताएर हेरौं भन्ने सहानुभूति नगरवासीमा देखियो,’ जिल्ला तहका कांग्रेस नेता भन्छन्, ‘यो पटक जसरी पनि जित्नुपर्छ भनेर एमाले लागेको थियो । अहिले पनि नजिते त बर्बाद हुन्छ भन्ने तरिकाले प्रचार भएको थियो । त्यसमा मतदाताको सेन्टिमेन्ट पनि थपियो ।’

कांग्रेस उम्मेदवार खाँण पनि पार्टीभित्रको विवादले आफ्नो पराजय भएको आंशिक रुपमा स्वीकार गर्छन् । ‘पराजयको आन्तरिक कारण होलान्, बाह्य कारण होलान्, सार्वजनिक रुपमा भन्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘नतिजा जे आउँछ, त्यसलाई सहर्ष स्वीकार गर्ने हो । कतिपय काम गर्दा कमी कमजोरी भएका होलान् । नागरिकले कतिपय कुरालाई पर्सनल्ली लिनुभयो होला । केही कुरालाई राजनीतिक रुपमा पनि लिनुभयो होला ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?