+
+

नयाँ शैक्षिक सत्र : विद्यालय खुले, पाठ्यपुस्तक पुगेन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते २०:२३
फाइल तस्वीर

५ जेठ, काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो भएको जानकारी पाएको बताए । ‘किताब आएको छैन । किन ढिलाइ भन्दा नछापिएर भन्छन्,’ उनले भने ।

धादिङको नीलकण्ठ नगरपालिकामा कक्षा १ र ३ को मात्रै पुस्तक पुगेको छ । बाँकी कक्षाको पुस्तक जेठ १३ गते धादिङले पाउने पालो रहेको जनक शिक्षा सामग्री लिमिटेडले बिक्रेतालाई सूचना दिएको शिक्षा शाखा स्रोत व्यक्ति मेघनाथ कोइरालाले बताए ।

‘जनक शिक्षा सामग्रीले धादिङका बिक्रेतालाई १३ गते दिने पालो रहेको सूचना दिएको रहेछ । त्यसपछि मात्रै विद्यार्थीको हातमा पुस्तक पुग्ने भयो,’ कोइरालाले भने, ‘अहिले चुनावको कारण पठनपाठन रोकिए पनि भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ । पुरानै पाठ्यक्रम भएका कक्षाको पठनपाठन गर्न समस्या हुँदैन । नयाँ पाठ्यक्रम लागु हुने कक्षामा भने केही उपाय खोज्छौं ।’

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको थियो । सोही अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागु हुँदैछ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा विद्यालय सञ्चालनमा आइसकेका छन्, तर त्यहाँ पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पालिकाको शिक्षा शाखा प्रमुख ज्ञानु गुरुङले पाठ्यपुस्तक कहिले आउने भन्ने स्पष्ट नभएको बताए ।

‘एजेन्टहरु मार्फत हामीले किताब ल्याउने हो । जनक शिक्षाले नै किताब नपठाएकाले ल्याउन नसकेको भनिरहेका छन् । जनक शिक्षाले बिक्रेता कहाँ पठाउन साथ ल्याउँछौं भनेका छन्,’ उनले भने । नयाँ पाठ्यपुस्तक नभएपछि पुरानै पाठ्यपुस्तक बालबालिकालाई पढाइरहेको उनले बताए ।

पाठ्यक्रम विकास केन्द्रले डिजिटल पाठ्यक्रम तथा पाठ्यपुस्तक वेबसाइटमा राखेको छ । तर त्यही सामग्री डाउनलोड गरेर पढाउन पनि सम्भव नभएको गुरुङले बताए ।

मनाङमा कक्षा १ देखि ३ को मात्रै पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाई, मनाङका प्रमुख वसन्तराज पौडेलले जानकारी दिए । बाँकी पाठ्यपुस्तक यही जेठ १० गतेभित्र बिक्रेताले पाउने र बिक्रेताले त्यहीअनुसार स्थानीय तहहरुलाई दिने जानकारी पाएको उनले बताए । जनक शिक्षा सामग्रीले छपाइमा ढिलाइ भएकाले पुस्तक पठाउन ढिला भएको जानकारी डिलरलाई दिएको पौडेलको भनाइ छ ।

मुस्ताङको थसाङ गाउँपालिकामा पनि सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनता आधारभूत विद्यालय घाँसाका प्रधानाध्यापक तेजनारायण पौडेलले कक्षा ४ र ७ को पूरै र कक्षा ६ को आंशिक किताब नपाएको बताए । छपाइमा ढिलाइ भएकाले पुस्तक नआएको बिक्रेताले बताएका छन् । यो वर्षदेखि नयाँ पाठ्यक्रम लागु हुने  कक्षा ४ र ७ को पुस्तक नपाउँदा विद्यार्थीहरुलाई वेबसाइटमा भएको पाठ्यक्रम अनुसार पढाइरहेको प्रधानाध्यापक पौडेलले बताए ।

यी कक्षाका बालबालिकालाई केन्द्रको वेबसाइटमा भएको पाठ्यक्रम अनुसार अध्यापन गराइरहे पनि बालबालिका नयाँ किताब लिएर पढ्न नपाएपछि बेखुसी देखिएको पौडेलले बताए । ‘छिट्टै आउला भन्ने हो । नयाँ किताब हातमा लिएर पढ्न नपाएपछि बालबालिका बेखुसी छन् । त्यतिञ्जेल वेबसाइटमा उपलब्ध पाठ्यक्रम अनुसार पढाउँछौं,’ उनले भने ।

सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुरुप शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्नेछन् । कक्षा ५ को शैक्षिक सत्र २०७९ सालको विभिन्न २८ वटा विद्यालयमा परीक्षण पढाइका लागि पाठ्यपुस्तक तयार गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?