+
+

‘नसर्ने रोग फैलिइसकेको छ, हाम्रो ध्यान अन्तै छ’

१० जना उच्च रक्तचापका बिरामी छन् भने उपचारको पहुँचमा ४ जना मात्रै छन् र त्यसमा पनि दुई जनाले मात्रै उच्च रक्तचाप नियन्त्रण गर्न सकेका छन् । भन्नुको अर्थ, उपचारको पहुँचमा पुगेर रोगलाई नियन्त्रणमा राख्ने जनसंख्या एकदमै सानो छ ।

डा. फणीन्द्रप्रसाद बराल, स्वास्थ्य मन्त्रालय डा. फणीन्द्रप्रसाद बराल, स्वास्थ्य मन्त्रालय
२०७९ जेठ ६ गते १६:३३

कुनै समय विश्व नै सरुवा रोगले आक्रान्त थियो भने पछिल्लो समय नसर्ने रोगबाट प्रताडित छ । विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांकले ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग हुने देखाएको छ । तर पछिल्लो तथ्यांकमा नसर्ने रोगबाट हुने मृत्यु बढेर ७१ प्रतिशत पुगेको छ ।

अहिले नसर्ने रोगमा उच्च रक्तचाप, मुटु तथा रक्तनलीको समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्या आदि छन् । यस्ता रोग एउटा निश्चित कारकतत्व भन्दा पनि धेरै कारणको संयुक्त असरबाट लाग्ने गर्छन् । विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिरहेको छ ।

एकातिर रोगको अवस्था एकदमै भयावह बन्दै गएको छ भने अर्कोतिर, उपचारको पहुँचमा आउने मानिसको संख्या पनि न्यून छ । उदाहरणका लागि १० जना उच्च रक्तचापका बिरामी छन् भने उपचारको पहुँचमा ४ जना मात्रै छन् र त्यसमा पनि दुई जनाले मात्रै उच्च रक्तचाप नियन्त्रण गर्न सकेका छन् । भन्नुको अर्थ, उपचारको पहुँचमा पुगेर रोगलाई नियन्त्रण राख्ने जनसंख्या एकदमै कम छ । त्यसकारण पनि नसर्ने रोग नियन्त्रणका लागि हाम्रा कार्यक्रम अब गाउँ-गाउँमा जानुपर्छ ।

नेपालीको जीवनशैली सहज हुँदै गएको छ । तर, सुखी जीवनशैली अपनाउने क्रममा मानिसले प्राणघातक नसर्ने रोग पनि बढाउँदै लगेका छन् । सरकारले सरुवा रोग रोकथामका लागि संरचनामा विस्तार सँगै त्यसै अनुसारको लगानी गर्दै आएको छ । जसका लागि दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि ल्याएको छ ।

तर, नसर्ने रोगका लागि विगत चार वर्षदेखि केही कार्यक्रम ल्याएको छ । सरकारले नसर्ने रोग नियन्त्रण गर्नुपर्छ भन्ने मनन गरे पनि अझैसम्म यो कार्यक्रम प्राथमिकतामा पर्न सकेको छैन । नेपालमा मृत्युको सबैभन्दा धेरै कारण नसर्ने रोग भएका छन् । तर, त्यसको नियन्त्रणको लागि लगानी पर्याप्त छैन ।

जस्तो कि सरुवा रोगहरूका स-साना रोगका लागि पनि विभिन्न छुट्टै केन्द्रहरू छन् । तर, नसर्ने रोग एकदमै भयावह हुँदै गएको छ त्यो एक शाखामा खुम्चिनु परिरहेको छ । त्यसैले नसर्ने रोग रोकथामको लागि स्वास्थ्य मन्त्रालयको संरचनामा पनि परिवर्तन ल्याउनुपर्छ । भोलि एउटा शाखाले मात्रै पुग्दैन । क्षयरोगको छुट्टै, एचआईभी एड्सको छुट्टै केन्ऽ छ भने नसर्ने रोगका पनि छुट्टाछुट्टै केन्ऽहरू हुन आवश्यक छ ।

नसर्ने रोग बढ्नुमा नेपालीको बदलिंदो जीवनशैलीले धेरै प्रभाव पारिरहेको छ । अहिले धेरैजसो बालबालिका कोठाभित्र मोबाइल चलाएर बस्छन् । शारीरिक गतिविधि एकदमै घटेको छ । यसले आँखामा समस्या, मोटोपन देखाएको छ ।

पहिला-पहिला हामी मकै, गहुँ, रोटी जस्ता खानेकुरा खाने गर्थ्यौं । तर, अहिलेका बालबालिकाले जंकफुड -चाउचाउ, बिस्कुट, कुरकुरे) खाने गर्छन् । जसमा पोषण कम हुन्छ । भनेपछि, हाम्रो अहिले आहारविहार नै गलत र शारीरिक गतिविधि कम छ ।

साथसाथै युवा वर्गका धेरैजसोले रक्सी तथा धूमपान गर्दै आएका छन् । यी नसर्ने रोगका कारक तत्वहरू हुन् । सरकारले कर धेरै बढाएर आयातमा नै कम गर्ने खालका कामलाई अगाडि बढाउनुपर्छ । यस्ता वस्तु आउन नदिन प्रयत्न गर्न सकेको खण्डमा नसर्ने रोगमा देखिएको जोखिम विस्तारै कम गर्न सकिन्छ ।

अस्वस्थकर खानपान, अल्छीपना, मानसिक तनाव, धूमपान, मद्यपान, लागूऔषध सेवन नसर्ने रोगको प्रमुख कारकतत्व हुन् । अर्कोतिर तीव्र गतिमा बढिरहेको आधुनिकीकरण, शहरीकरण, औद्योगिकीकरण अर्को कारण हो । गाउँघरमा जुन किसिमको शान्त वातावरणमा मानिसले जीवनयापन गरेका छन् यस्तो वातावरण शहरमा पाइँदैन । यहाँ अनेक दुःखकष्टले मानिसले जीवनयापन गर्छन् ।

शहरमा आनन्दले बसेर खान पुग्दैन । एउटा वर्ग एकदमै तनावमा गुजि्ररहेको हुन्छ । रात-बिहान काम नगरी हातमुख जोड्न गाह्रो छ । कहिलेकाहीं महामारीजन्य रोगका कारण लकडाउन लगायत विभिन्न कारणले रोजीरोटी नै गुम्छ । यसले गर्दा उनीहरूको आयस्रोत नहुँदा तनाव बढ्ने नै भयो । तनावकै कारण मानिसलाई मधुमेह, उच्च रक्तचापजन्य समस्या थपिंदै जान्छन् ।

सर्वप्रथम नसर्ने रोग नियन्त्रणका लागि रोग नै लाग्न नदिनु सबैभन्दा सर्वोत्तम उपाय हो । जसका लागि मानिसमा जनचेतना हुनुपर्छ । केही मानिसमा जनचेतना एकदमै कम छ । केहीमा भने थाहा भएतापनि व्यवहारमा लागु गर्न सकेको पाइँदैन । मानिसहरूको जीवनशैली तथा खानपानको परिवर्तनका साथै वायु प्रदूषणले पनि दीर्घकालीन रोगहरू बढाइरहेको छ ।

सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२५) ल्याएको छ । सबै निकायको साथ विना नसर्ने रोगको जोखिम कम गर्न सकिंदैन । उदाहरणका लागि हेर्दा विभिन्न विषादिका प्रयोगको कारणले खानेकुराहरूमा क्यान्सरका तत्व बढी भेटिएका छन् । यसमा कृषि, पशुपन्छी लगायत अन्य सरोकारवाला निकाय जोडिएका हुन्छन् । रोग पो क्यान्सर देखियो त्यसलाई रोकथाम गर्ने काम स्वास्थ्य क्षेत्रले भन्दा अन्य निकायले गर्नुपर्छ ।

त्यसकारण यस्ता कुराहरूमा बहुक्षेत्रीय निकायको समन्वयको आवश्यकता छ । नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएर कार्यान्वयनमा जाने क्रममा छ । नेपाल स्थानीय, प्रदेश तथा संघमा गइसकेको छ । संघ अर्थात् केन्द्र तहले गर्नुपर्ने भूमिका के हो ? नसर्ने रोग नियन्त्रणका लागि के गर्नुपर्छ ? एक स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर उनीहरूको माध्यमबाट रोग र जोखिमका कारक तत्वबारे जनचेतना फैलाउनुपर्छ । आम नागरिकलाई जंकफुड खानुहुँदैन भन्ने जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ ।

सुर्तीजन्य पदार्थ, मद्यपान जस्ता कुरा आयातमा नियन्त्रण गर्नुपर्छ । रोग लाग्यो भने प्रारम्भिक पहिचान कसरी गर्ने ? रोग लाग्न नदिन के गर्ने ? भन्ने खालका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ ।

नसर्ने रोगको कार्यक्रमलाई विस्तार गर्न नसक्नुमा पर्याप्त रूपमा बजेट नहुनु हो । विशेष गरेर धूमपान, मद्यपान, व्यायाम, तनाव, वायु प्रदूषण सम्बन्धी जुन आम मानिसको बुझाइ छ, अब त्यसलाई व्यवहारमा नै परिवर्तन गर्ने हिसाबले समुदाय तहमा काम गर्नुपर्छ ।

उच्च रक्तचाप भएका ९० प्रतिशत बिरामीमा लक्षण देखिंदैन । उनीहरूलाई प्रेसर हुन्छ । तर, त्यो कुरा उहाँहरूलाई थाहा हुँदैन । त्यसकारण पहिला नै परिचालन गर्नका लागि गाउँ-गाउँमा स्क्रिनिङ कार्यक्रमलाई जनमानसमा लैजानुपर्छ । त्यसैगरी, स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई सबै नसर्ने रोग सम्बन्धी तालिम दिनुपर्छ ।

रक्तचापको नियमित जाँच, रगतमा कोलेस्ट्रोलको मात्रा, मुटु र मिर्गौलाको जाँच, फोक्सोको काम गर्ने क्षमताको जाँच जस्ता कुरा तल्लो तहका स्वास्थ्य सेवासम्ममा उपलब्ध गराउनुपर्ने हुन्छ । समुदायमा भएका मानिसलाई नसर्ने रोगसम्बन्धी स्क्रिनिङ गरेपछि यदि थप उपचारको आवश्यकता स्वास्थ्य चौकीबाट, जिल्ला हुँदै प्रादेशिक अस्पतालसम्म ‘रिफर सिस्टम’ को काम गर्नुपर्छ ।

यस्ता कुराहरूमा सरकार ‘फोकस’ छ । तर, सरकारको लगानी जति हुनुपर्ने हो त्यति छैन । यदि नसर्ने रोगहरूलाई समयमै निदान गर्न सकेमा औषधिको नियमित सेवनका साथसाथै जीवनशैली र खानपानमा परिवर्तन अपनाएर रोग नियन्त्रणमा राख्न सकिन्छ ।

(डा.बराल स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?