+
+

डा. राउतले गुमाए गृहपालिका, शीर्ष नेता पराजित हुँदा नवप्रवेशी विजयी

श्रवण देव श्रवण देव
२०७९ जेठ ६ गते १३:०७
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत । फाइल तस्वीर

५ जेठ, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो गृहपालिका नै गुमाएका छन् । डा. राउतको स्थायी बसोबास रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ ।

अध्यक्ष राउतले आफ्नो गृहपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा जित हात पारेर चित्त बुझाएका छन् । पार्टी अध्यक्षकै गृहपालिका गुमाए पनि जनमत पार्टी सप्तरीका दुई स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ ।

जनमतका उम्मेदवारले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष नै जितेका हुन् ।

जनमत पार्टीले यो स्थानीय निर्वाचनमा मधेशका अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएको थियो । मधेस प्रदेश बाहिर रूपन्देहीको गैडहवा गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षका उम्मेदवार रामदेव यादव ३ हजार ४३९ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका बसिउल्लाह मुसलमान र एमालेका सुरेन्द्र पौड्यालले क्रमशः ३ हजार ३९२ र ३ हजार ३९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लुम्बिनी सांस्कृति नगरपालिकामा जनमत पार्टीबाट उपमेयर प्रत्यासी सिन्ध्या लोध र मर्चबारी गाउँपालिकामा उपप्रमुख पदका प्रत्यासी पूजा यादव अग्रस्थानमा छन् । तर अहिलेसम्म सप्तरीको दुई पालिका बाहेक अन्यत्र उक्त पार्टीका उम्मेदवार विजयी हुन सकेका छैनन् ।

वडा तहमा भने जनमत पार्टीबाट ११ उम्मेदवार निर्वाचित भइसकेका छन् भने केही उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यो स्थानीय निर्वाचनमा जनमत पार्टीबाट मधेश प्रदेशका ८० प्रतिशत पालिकामा उम्मेदवारी परेको थियो । पार्टी अध्यक्ष डा. राउतले उम्मेदवारी दिएकामध्ये ५० प्रतिशत ठाउँमा चुनाव जित्ने बताउँदै आए पनि चुनावी नतिजा भने निराशाजनक देखियो ।

शीर्ष नेता नै पराजित

सप्तरीकै कञ्चनरूप नगरपालिकामा सुरुवाती अग्रता लिए पनि अन्ततः जनमत पार्टीका उम्मेदवार इन्द्रदेव कौडगिया चौथो स्थानमा खुम्चिन पुगे । उक्त पालिकामा कांग्रेसका ललनप्रसाद गुप्ताले ७ हजार ८८९ मत ल्याएर विजयी हुँदा जसपाका भोलाकुमार पासमान ५ हजार ७०४ मतसहित निकटम प्रतिद्वन्दी बने । जनमत पार्टीका कौडगिया ४ हजार ८ मतसहित एमालेका उम्मेदवारभन्दा पछि पर्दै चौथो स्थानमा खुम्चिन पुगे ।

उम्मेदवारी प्रस्तुत गर्न अगाडि देखिएका पार्टीका सचिवदेखि प्रवक्तासम्मका नेताहरू चुनावी दौडमा भने निकै पछि परेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ताको समयमा चर्चामा रहेकी पार्टी सचिव अनिताकुमारी साह चुनावी दौडमा निक्कै पछि छिन् । शुक्रबार बिहानसम्म उनी ८०० मतसहित आठौं स्थानमा रहेकी छन् ।

धनुषाको सबैला नगरपालिकामा उम्मेदवारी दिएका जनमत पार्टी निकट प्रेस मञ्चका अध्यक्ष बीपी साह पाँचौं नम्बरमा खुम्चिएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कामीराम यादव ३ हजार ६४६ मतसहित पहिलो स्थानमा रहँदा साह १ हजार ५६६ मतसहित पाँचौं स्थानमा छन् । त्यहाँ मतगणना जारी छ ।

जनमत पार्टी मधेशका अन्य जिल्लामा पनि कमजोर देखिएको छ । सप्तरी सदरमुकाम राजविराजको मेयरमा उम्मेदवारी दिएकी ममता झा शुक्रबार बिहानसम्म ९२२ मत प्राप्त गरी आठौं स्थानमा छिन् । उता सिरहा नगरपालिकामा उम्मेदवारी दिएका राजकुमार यादव १ हजार १८७ मत मात्रै पाएर पाँचौं नम्बरमा सीमित भए ।

बारा सदरमुकाम कलैयामा जारी मतगणना अनुसार जनमतका उम्मेदवार रामबाबुप्रसाद साहले शुक्रबार बिहानसम्म ७३ मत पाउँदा पहिलो स्थानमा रहेका एमालेका उम्मेदवार विनोदप्रसाद साहले १५ हजार ९१३ मत ल्याइसकेका छन् ।

रौतहट सदरमुकाम गौरमा जनमत पार्टीबाट मेयरका प्रत्यासी गंगाधर प्रसाद १५६ मत मात्रै पाएर छैटौं स्थानमा पुगे । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा जनमतबाट मेयरका प्रत्यासी शत्रुधन महतो १०३ मतसहित सातौं स्थानमा छन् ।

उता, वीरगञ्ज महानगरपालिकामा जनमतबाट मेयर प्रत्यासी बनेका दिनेश रामले ज्यादै कम मत प्राप्त गरेका छन् । प्रदशेको एक मात्र महानगरपालिका वीरगञ्जमा यो पार्टीबाट उम्मेदवारी दिएका रामले शुक्रबार बिहानसम्म केवल १० मत प्राप्त गरेका छन्, जबकि पहिलो स्थानमा रहेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले १४ हजार ९८८ मत प्राप्त गरिसकेका छन् ।

संस्थापक पराजित, नवप्रवेशी विजयी

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझी

जनमत पार्टीबाट जनप्रतिनिधिमा निर्वाचित हुनेहरू अधिकांश नवप्रवेशी रहेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझी उम्मेदवारी मनोनयनको तीन दिनअघि मात्रै जनमत पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशलगत्तै उनले अध्यक्ष राउतबाट टिकट हात पारे । यसअघि उनी जसपामा थिए ।

२०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा पनि माझी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरको उम्मेदवार भएका थिए । उक्त चुनावमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का शैलेश साहसँग १३ सय भन्दा बढी मतान्तरले पराजित भएका थिए । यसपटक जसपाले टिकट नदिएपछि जनमतबाट उम्मेदवारी लिएर उनले जसपाकै प्रत्यासी शैलेश साहलाई १६१ मतान्तरले पराजित गरेका हुन् ।

बलान बिहुल गाउँपालिकाको अध्यक्षमा निर्वाचित खेमचन्द्र यादव र उपाध्यक्षमा निर्वाचित रेणु यादव दुवैजना लामो समयदेखि नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए । माओवादी केन्द्रबाट टिकट नपाउने भएपछि उनीहरू चुनावको मुखमा जनमत पार्टी छिरे र टिकट लिन सफल भए ।

सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्षमा निर्वाचित खेमचन्द्र यादव

यही गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित रामकुमार यादव पनि चुनाव अगाडि माओवादी केन्द्रबाटै जनमतमा प्रवेश गरेका हुन् । यद्यपि, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित सुरेन्द्र मण्डल भने जनमत पार्टीमै लामो समयदेखि क्रियाशील थिए ।

अपेक्षाकृत आएन परिणाम

यो स्थानीय निर्वाचनमा जनमत पार्टीबाट मधेश प्रदेशका ८० प्रतिशत पालिकामा उम्मेदवारी परेको थियो । पार्टी अध्यक्ष डा. राउतले उम्मेदवारी दिएकामध्ये ५० प्रतिशत ठाउँमा चुनाव जित्ने बताउँदै आए पनि चुनावी नतिजा भने निराशाजनक देखियो ।

जनमत पार्टीका महासचिव चन्दन सिंह पनि अपेक्षाकृत परिणाम नआए पनि पहिलो चुनावमा प्राप्त जनमतलाई सम्मानजनक मान्नुपर्ने बताउँछन् । ‘मधेशका जनतालाई अहिले पनि बँधुवा बनाएर राखिएको छ । भोटको खरीद बिक्री भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा राखिएको अपेक्षा पूरा नहुनु स्वभाविकै हो ।’

सिंह आफ्नो पार्टीले जितेको पालिकामा जनप्रतिनिधिले नागरिकले परिवर्तन महसुस गर्न सक्ने गरी काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म दल र गुण्डाको राज्य मात्रै देखिएको छ, हामी जनताको राज्य आउने गरी काम गर्छौं ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?