+
+

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ

गौरव पोखरेल गौरव पोखरेल
२०७९ जेठ ७ गते १७:५६
बलात्कार आरोपी मनोज पाण्डे ।

७ जेठ, काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग पुष्टि गरेको छ ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।

तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको थियो ।

कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए ।  सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गरेका थिए ।

जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए । राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए ।

शनिबार पनि मुलुकका विभिन्न ठाउँमा पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहेका वेला प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनायो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य छन् । समितिले नै घटनामा थप अनुसन्धान प्रक्रिया अघि बढाउने छ ।

समितिका एसपी कोइराला नेतृत्वको टोली शुक्रबारै पीडितलाई भेटेर कानूनी प्रक्रिया अघि बढाउने आश्वसन दिएको थियो । पाण्डेविरुद्ध कुन ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउने भन्ने चाहिँ टुंगो लागिसकेको छैन । यद्यपि, मानवबेचिखनसम्बन्धी ऐनअनुसार म्याद थप गर्नेबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

‘यो घटनामा पनि नशालु पदार्थ खुवाएर कब्जामा लिएको भन्ने छ, त्यसले यो ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउन मिल्छ’ फौजदारी कानूनका जानकार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल भन्छन्।

समितिका एक सदस्यका अनुसार विगतमा अदालतबाट निर्देशात्मक आदेश जारी भएका आधारमा पनि यस्ता प्रकृतिका घटनामा अनुसन्धान अघि बढेका उदाहरण छन् । ‘भोलि आइतबार पनि सरकारी विदा छ, त्यसैले अझै एक दिन विकल्पहरुमा छलफल गरेर निष्कर्षमा पुग्छौं’ ती सदस्य भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?