+
+

आरजुलाई महँगो पर्नसक्छ धनगढीमा नृप वडको हार

जनक विष्ट जनक विष्ट
२०७९ जेठ ९ गते १९:३७

९ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमाललाई कहिल्यै आफ्नो प्रतिस्पर्धी मानेनन् । अघिल्लो पटक एक्लै चुनाव जितेको, यो पटक माओवादी केन्द्र, एकीकृत समाजवादीका दलको साथ पाएका उनी भन्ने गर्थे, ‘स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । त्यसैले प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुँदैन ।’

तर तिनै स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वडलाई १२ हजार ८१७ मत अन्तरले हराएका छन् । हारपछि उनको बोली फेरिएको छ । भन्छन्, ‘मेरो पार्टीको चुनाव चिह्न पाए पनि स्वतन्त्र लडेको हुँ ।’

गठबन्धन नाम मात्रको भएको बताएका उनले कांग्रेसकै नेता–कार्यकर्ताले सहयोग नगरेको संकेत गरे । सुदूरपश्चिमका कांग्रेस नेताहरु पनि त्यसलाई स्वीकार गर्छन्, तर त्यसको कारण वड आफैं र केन्द्रीय सदस्य आरजु राणा देउवालाई मान्छन् ।

आरजु ‘कनेक्सन’

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणा प्रतिनिधिसभा निर्वाचन–२०७४ मा कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेकी थिइन् । लामो समय कांग्रेसको राजनीतिमा रहेका पुस्कर ओझा पनि टिकटका आकांक्षी थिए । आफ्नो टिकट खोसेर आरजु आफैं उम्मेदवार बन्न आएपछि ओझा असन्तुष्ट बने । देउवा र आरजुले उनलाई मनाउनुको साटो कारबाहीको डण्डा चलाए । परिणाम स्वरुप आरजु चुनाव हार्न पुगिन् ।

कांग्रेस नेताहरुका अनुसार चुनाव हारेपनि कांग्रेस कैलालीको राजनीतिमा आरजु झन् हाबी भएकी छन् । स्थानीय निर्वाचन २०७९ को टिकट वितरणले पनि त्यही देखाउँछ । कैलालीको राजनीतिमा आफूलाई साथ दिएकाहरुलाई टिकट दिलाउन आरजुले अर्को समूहका नेताहरुले पाएको टिकट समेत खोसेकी थिइन् ।

कांग्रेसको १४औं महाधिवेशनमा कैलाली सभापतिका लागि देउवा समूहले सभापतिमा नारायण भट्टलाई अघि सारे । लामो समय देउवा समूहमा रहेका तत्कालीन उपसभापति प्रकाशबहादुर बम र डा. शेखर कोइराला समूहबाट रामप्रसाद कलेल उम्मेदवार बने । पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनावमा कलेलको साथ लिएर भट्ट सभापति भए ।

जिल्लाको राजनीतिमा आफूलाई साथ दिएकाहरुलाई टिकट दिलाउन आरजु आफैं सक्रिय भइन् । कतिसम्म भने प्रदेश कमिटीले दिएको टिकट खोसेर आफूले चाहेकाहरुलाई उम्मेदवार बनाइन् । जस्तो, प्रदेश कमिटीले घोडाघडी नगरपालिकाको उपमेयरमा रिता चौधरीलाई टिकट दिएको थियो । तर उनको टिकट खोसेर गुलियाकुमारी चौधरीलाई उम्मेदवार बनाइयो ।

लम्कीचुहा नगरपालिकाको मेयरको टिकट प्रदेश कमिटीले भक्तबहादुर थापालाई दिएको थियो । तर उनको नाम काटेर सुशीला शाहीलाई टिकट दिइयो ।

धनगढीकै मेयरका उम्मेदवारका लागि कृष्णबहादुर महरा लगायतका नेताहरु आकांक्षी थिए । तर आरजुको जोडबलमा अघिल्लो कार्यकालमा काम गर्न नसकेको भनेर आलोचना खेपेका र पार्टीभित्र गुटको राजनीतिमा सक्रिय वडले टिकट पाए ।

आरजुको नजिक भएकाहरुले मात्र अवसर पाउने गरेको भन्दै कांग्रेसमा व्यापक असन्तुष्टि थियो, जुन चुनावमा पोखिएको कांग्रेस नेताहरु बताउँछन् । ‘वडलाई आरजु आफैंले बोक्दा धनगढीमा धेरै समस्या भएको छ,’ कांग्रेसका एक नेता भन्छन् ।

पार्टीबाटै असहयोग हुनसक्छ भन्ने आरजुले नबुझेको चाहिँ होइन । १९ वैशाखमा धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले पत्रकार सम्मेलन गरेर भनेकी थिइन्, ‘पार्टीमा मन नपर्ने मान्छे पनि हुन्छन्, आपसी मतभेद पनि होला । तर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्नु हुँदैन । सबैलाई भन्न चाहन्छु, आफ्नै पार्टीका उम्मेदवारलाई भोट हालौं ।’

धनगढीको मेयरमा विजयी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई बधाई दिंदै निवर्तमान मेयर नृप वड ।
हमाललाई मेयर बनाउन कांग्रेसबाट निष्कासित ओझा पक्षले सहयोग गरेको छ र आगामी प्रतिनिधिसभा चुनावमा ओझा आफैं स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । त्यसो भएमा फेरि हमाल–ओझा सहकार्य हुनेछ, जुन आरजुका लागि प्रतिकूल बन्नसक्छ ।

वडका लागि भोट माग्न देउवा आफैं धनगढी पुगेका थिए । २६ वैशाखमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसहित धनगढी पुगेका उनले चुनावी सभालाई सम्बोधन गरेका थिए । वडको पक्षमा माहोल बनाउन देउवाले लामो समयदेखि बेवास्ता गरेका पुष्करनाथ ओझालाई पनि सम्झिएका थिए । २०७४ को चुनावमा आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले पाँच वर्षका लागि निष्कासन गरेपछि ओझा तटस्थ छन् । तर ओझाले करीब ४/५ हजार मत प्रभावित गर्न सक्ने बुझेपछि देउवाले भेट्न चाहेको सन्देश पठाए । तर ओझाले ३० वैशाखअघि भेट्न नसक्ने भन्दै अस्वीकार गरिदिए ।

धनगढीका मतदाताले पनि वडलाई अनुमोदन गर्न अस्वीकार गरे । हमाल २६ हजार ८६५ मतका साथ मेयर निर्वाचित हुँदा ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

आरजुलाई अब झन् कठिन !

२०७४ मा चुनाव हारेकी आरजु आगामी निर्वाचनमा पनि फेरि उम्मेदवार बन्ने तयारीमा छिन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाको १९ वटै वडा पर्छ भने कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्छन् ।

आरजुले २२ हजार ३२२ मत पाउँदा एमालेका नारदमुनी राना २७ हजार २०२ मतका साथ विजयी भएका थिए । त्यो बेला यो क्षेत्रका मतदाता ८० हजार हाराहारी थिए । अहिले यहाँ करिब १८ हजार मतदाता थपिएका छन् ।

धनगढीमा ९३ हजार बढी र कैलारीका दुई वटा वडामा पाँच हजार भन्दा बढी मतदाता छन् । अर्थात आरजुलाई चुनाव जित्न धनगढीकै मत निर्णायक हुन्छ । तर आरजुका लागि सबभन्दा चुनौती धनगढीका नवनिर्वाचित मेयर हमाल अनुुकूल नहुने सम्भावना देखिन्छ । हमाललाई मेयर बनाउन कांग्रेसबाट निष्कासित ओझा पक्षले सहयोग गरेको छ र आगामी प्रतिनिधिसभा चुनावमा ओझा आफैं स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । त्यसो भएमा फेरि हमाल–ओझा सहकार्य हुनेछ, जुन आरजुका लागि प्रतिकूल बन्नसक्छ ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट भने अहिले देखिएको समस्या हल हुने र संघीय निर्वाचन जितिने दाबी गर्छन् । ‘पार्टीमा अराजकता भएका कारण धनगढी उपमहानगरपालिकामा यो परिणाम व्यहोर्नुपर्यो,’ भट्टले अनलाइनखबरसँग भने, ‘आफूलाई हुुँदा ठीक र अरुलाई बेठीक भन्ने प्रवृत्ति छ । मलाई लाग्छ, अगामी निर्वाचनमा कुनै असर पर्दैन, हामी जित्छौं ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?