+
+

चितवन–३ को तीनै नगरमा एमालेलाई झट्का

सुवास पण्डित सुवास पण्डित
२०७९ जेठ ९ गते २०:३१

९ जेठ, चितवन । नेकपा एमालेले अघिल्लो चुनावमा चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा बहुमतसहित मेयर उपमेयर जितेको थियो । तर यो पटक रत्ननगर र खैरहनीमा उपमेयरमा चित्त बुझाएको छ भने भने राप्तीमा मेयर उपमेयर दुबै हारेको छ ।

तीन वटै पालिकामा एमालेले पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेको थियो । पाँच दलले वडा तहसम्मै गठबन्धन गरेका थिए । रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेसका प्रलाद सापकोटा, खैरहनीमा शशी खनियाँ र राप्तीमा एकीकृत समाजवादीका शम्शेर लामा विजयी भएका छन् । रत्ननगरको उपमेयरमा एमालेका यादव पाठक, खैरहनीको उपमेयरमा कविता उप्रेती निर्वाचित भए ।

तीन वटै नगरपालिका, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन १ मा पर्छ । स्थानीय चुनावको हारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उपाध्यक्ष पाण्डेलाई सहज नहुने देखाएको एमाले नेताहरु बताउँछन् ।

तीन पालिकामा के–के भयो ?

अघिल्लो चुनावमा पूर्वी चितवनको रत्ननगरमा एमालेले मेयर उपमेयरसहित बहुमत सदस्य जितेको थियो । यसपटक एमालेबाट मेयरमा उठेकी विमल दुवाडीलाई कांग्रेस उम्मेदवार प्रलाद सापकोटाले ८ हजार ६८ मत अन्तरले हराए । उपमेयर भने एमालेको यादव पाठकले १३ हजार ५१४ मत ल्याएर जिते ।

१६ वडा रहेको नगरपालिकामा अघिल्लोपटक ६ वडा जितेको कांग्रेसले यसपटक ९ वटा वडा जित्यो भने अघिल्लोपटक १० वडा जितेको एमाले ६ वडामा खुम्चियो । समाजवादी निल हुँदा माओवादीले यसपटक खाता खोल्यो ।

मकवानपुरसँग सीमा जोडिएको पूर्वी चितवनको राप्ती नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा एमालेले अधिकांश वडासहित मेयर र उपमेयरमा जित हात पारेको थियो । यसपटक मेयर उपमेयर दुबै गुमायो । अघिल्लोपटक कांग्रेसका उम्मेदवारलाई झण्डै चार हजार मतले हराएर मेयर जितेको एमाले यसपटक पाँच दलीय गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका शम्शेर लामासँग ४७३ भोटले एमालेका गोविन्द कँडेल पराजित भए । लामाले १२ हजार ५२४ मत ल्याउँदा पराजित कँडेलले १२ हजार ५१ मत ल्याए ।

दुईवटा वडा मात्र जितेको कांग्रेसले एउटा वडा थपेको छ अघिल्लोपटक ११ वटा वडा जितेको एमालेले ३ वटा वडा गुमायो । । माओवादी वडामा निल हुँदा समाजवादीले खातो खोल्यो । वडा नं. ७ एमालेबाट विद्रोह गरेर बागी हालेकी सुमिता डल्लाकोटीले जितिन् ।

खैरहनी नगरपालिकामा यसअघि मेयर जितेका लालमणि चौधरीलाई एमालेले यसपटक दोहो¥याउन चाह्यो । तर कांग्रेसका शशी खनियाँसँग ८५० मतले पराजित भए । खनियाँले १४ हजार ५४५ मत ल्याउँदा एमालेका लालमणिले १३ हजार ६९५ मत पाए । उपमेयरमा भने माओवादी केन्द्रकी लक्ष्मी ढकाललाई हराएर एमालेकी कविता उप्रेतीले पराजित गरिन् । उपमेयरमा निर्वाचित उप्रेतीले १४१६४ मत ल्याउँदा ढकालले ९६७० मत ल्याइन् ।

१३ वडा रहेको खैरहनी नगरपालिकामा अघिल्लोपटक एमालेले ७ वटा वडा जितेको थियो । यसपटक पनि सात वटै वडा जित्यो । अघिल्लोपटक ६ वडा जितेको कांग्रेसले यसपटक पनि ६ वटै वडा जित्यो । माओवादी र एकीकृत समाजवादी निल भए ।

गोविन्द कँडेल र शम्शेर लामा ।

राप्ती नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शम्शेर लामा विजयी भए । उनले आफ्नै राजनीतिक गुरु मान्ने एमालेका गोविन्द कँडेललाई पराजित गरे । पूर्वी चितवनमा अलि बढि प्रभाव भएकाले पाँच दलीय गठबन्धनले ७ पालिकामध्ये राप्तीको मेयर एकीकृत समाजवादीलाई दिएको थियो ।

एमालेले २०५६ बाहेक अरु समयमा यहाँबाट चुनाव हारेको थिएन । २०६४ को संविधानसभामा एमालेले देशभर हार्दासमेत चितवन निर्वाचन क्षेत्र नं. १ मा पर्ने राप्तीबाट एमालेका उम्मेदवार लालमणि चौधरी विजयी भएका थिए ।

तर यस पटक भएको हारले एमालेका प्रदेशका सांसद दावा लामा र संघीय सांसद सुरेन्द्र पाण्डेलाई धक्का लागेको छ । एमालेमा रहँदा लामा, सांसद सुरेन्द्र पाण्डे समूहमै थिए । १० बुँदे सहमतिमार्फत पाण्डे एमालेमा रहँदा शम्शेर एकीकृत समाजवादीतिर लागे । लामा त्यतिबेला राप्ती वडा नं. ४ का निर्वाचित वडाध्यक्ष थिए ।

एमालेको हारको कारण जनजाति समुदायबाट उम्मेदवार नहुनु पनि कारण भएको नेताहरु बताउँछन् । चेपाङ, तामाङलगायतका जनजातिको निर्णायक मत रहेको राप्तीमा इमानसिंह लामा मेयरका आकांक्षी थिए । अर्का नेता घनश्याम कँडेल पनि आकांक्षी थिए । कँडेलले टिकट पाएपछि असन्तुष्टि बढेको बताइन्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?