+
+

‘कबड्डीको सिक्वेललाई अगाडि बढाउन सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १७:०८

काठमाडौं । दयाहाङ राई पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनका धेरै फिल्म बक्स अफिसको अंकगणित र समीक्षाको कोणमा सफल छन् । रंगमञ्च हुँदै फिल्ममा अघि बढेका दयाहाङ अभिनित ‘कबड्डी’ श्रृंखला व्यावसायिक रुपमा सफलमध्ये एक हो ।

‘कबड्डी’को चौथो श्रृंखला प्रदर्शनको तयारीमा छ । शुक्रबार रिलिज हुने यो फिल्ममा उनले काजीको चरित्र निर्वाह गरेका छन् ।

अनलाइनखबरसँग उनले ‘कबड्डी ४’ सिक्वेलको सान्दर्भिकता र स्थानीय चुनावका विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ अभिनेता दयाहाङ राईसँगको गरिएको संक्षिप्त संवाद  :

कबड्डी’लाई लिएर तपाईंलाई पछ्याउने पहिले प्रश्न, काजीको बिहे कहिले हुन्छ ?

प्रश्न त यही हो । उत्तरलाई पर्खिऊँ न त ।

काजी पात्र कति परिपक्व भएको छ ? उसको भोगाइ र मनस्थितिमा दर्शकले कस्तो महसुस गर्लान् ?

मेरो हिसाबले मैले कोशिश गरेको छु । जब एउटा अल्लारे केटो प्रेम मात्रै गर्छ । दोहोरो प्रेमको अनुभूति गर्न पाउँदैन । दोस्रोमा आउँदा प्रेम महसुस मात्र हुन्छ । तेस्रोमा नक्कली प्रेम हुन्छ । चौंथोमा आउँदा उसको सोच कहाँ पुग्यो त ? प्रेम कसरी हुँदो रहेछ भन्ने कुरा त महसुस गरेको छ । त्यो हिसाबले उसको जीवन भोगाइलाई चित्रण गर्न मैले कोशिश गरेको छु ।

कबड्डी ४’लाई लिएर दर्शकले नयाँपनको अपेक्षा गरेका छन् । अघिल्ला तीन श्रृंखलाभन्दा कुन अर्थमा यो भिन्न छ ?

एकदेखि चारसम्म हेर्दा उसको जीवन त्यसरी नै घुमिरहेको छ । समय गयो होला, उसको बुझाइ परिवर्तन भयो होला । उसको मनोविज्ञान कस्तो छ अहिले विशेषगरी काजीको । उसको परिवेश र मनस्थिति कस्तो छ भन्ने कुरामा नयाँपन छ । बाहिरबाट हेर्दा त त्यसरी नै चक्कर लगाउने हो ।

‘कबड्डी ४’ले पैसा कमाउने मात्र हो कि सिर्जनात्मक पक्षमा पनि योगदान दिने अपेक्षा गर्न सकिन्छ ?

पहिलो कुरा त व्यावसायिक पाटोलाई हेर्नुपर्छ । कसरी व्यावसायिक कुरालाई सफल बनाउन सकिन्छ भन्ने नै हो । सिर्जनात्मक पाटोलाई कसरी हेर्नुपर्छ भने जब सिक्वेल बन्दा यसको पात्रसँगको जुन मोह छ नि दर्शकमाझ पात्रप्रतिको मोहले यो चीज भइराखेको हो । यो चीजले तानिरहेको छ ।

सिर्जनात्मक पाटोलाई हामीले बसेर समीक्षा गर्न जरुरी छ किन यो यति धेरै पपुलर भयो भनेर । दर्शकले किन एउटा पात्रलाई पछ्याइरहेका छन् भनेर । दर्शकले पात्रसँग कनेक्ट गर्न सक्यो भने फिल्म सफल हुने हो । हामीले यथार्थलाई स्वस्थ समीक्षा गर्‍यौं भने नयाँ बाटो तय हुन्छ कि ।

अभिनेताको दृष्टिकोणमा ‘कबड्डी’को सिक्वेललाई अगाडि लैजानु कति उचित हुन्छ ?

दुवै कुरालाई खुला राख्न सकिन्छ । यहीलाई अन्तिम गर्दा पनि हुन्छ । बाँकी रहेको जीवन पनि होला नि त । काजी जसले जीवनमा धेरै कुरा महसुस गर्दै जाला । त्यो कुरालाई पनि बढाउन सकिन्छ । काजी अर्थात् एउटा व्यक्ति जसको जीवनलाई अघि बढाउन र रोक्न पनि सकिन्छ केही फरक पर्दैन ।

अलिकति मुलुकको राजनीतिक अवस्थाबारे पनि कुरा गरौं स्थानीय चुनावमा बालेन साह र हर्क साम्पाङको उदयलाई कसरी लिनुहुन्छ ?

हाम्रो समाज र हामीले राजनीतिकरण नगरेर दलीयकरणलाई बढी प्राथमिकता दिंदा भएको परिणाम हो यो । नागरिकले धेरै अपेक्षा गरेका छन्, तर मौका पाएका छैनन् । धेरै परीक्षण भएका छन् । २०४७ सालमा कांग्रेस ठूलो पार्टी बन्यो । २०६२-६३ मा माओवादी पहिलो पार्टी बन्यो र त्यसपछि तेस्रो पार्टी बन्यो । यस्तो खाले परीक्षण भएका छन् ।

मुख्य कुरा राजनीतिकरण नभएर दलीयकरण हुनुको फ्रस्टेसन हो आम नागरिक र बौद्धिक जगत्का लागि पनि । आम नागरिकभन्दा पनि दलले यसबारे विश्लेषण गर्नु जरुरी छ किन स्वतन्त्र उम्मेदवारले भटाभट जिते भनेर । किनभने दलभन्दा व्यक्तिप्रति अपेक्षा बढिरहेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?