+
+
एन्फा निर्वाचन :

पंकजको रणनीति : पहिले ‘चेन्ज एन्फा’ अहिले ‘चेन्ज कर्मा’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ १२ गते २०:१२

१२ जेठ, काठमाडौं । जतिबेला अखिल नेपाल फुटबल संघ एन्फामा गणेश थापाको एक छत्र राज थियो । त्यतिबेला गणेश थापालाई एन्फाको नेतृत्वबाट हटाउने अभियानमा थिए कर्मा छिरिङ शेर्पा, पंकज विक्रम नेम्बाङ र किशोर राई ।

कर्माको नेतृत्वमा २०७० सालदेखि सुरु भएको एन्फा शुद्धीकरण अभियानमा उनका सबैभन्दा नजिकका सारथी पंकज हुन् । तत्कालीन उपाध्यक्ष विजयनारायण मानन्धर, केन्द्रीय सदस्यद्वय नेम्वाङ र दीपक खातीले शेर्पाको अभियानलाई आँखा चिम्लेर साथ दिएका थिए । थापाले चारै जनालाई एन्फाबाट निष्काशनसम्मको कारबाही गरे ।

थापालाई तानाशाहीको आरोप लगाएर एन्फा नेतृत्वबाट निकाल्ने अभियानमा कर्मा, पंकज र किशोर लामो समयसम्म एकसाथ रहे । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले थापालाई भ्रष्टाचारको आरोपमा प्रतिबन्ध लगाएपछि एन्फामा नेतृत्व परिवर्तन भयो ।

एन्फोको नेतृत्व कर्माको काँधमा पनि । तर विश्वासपात्रका रुपमा देखिएका पंकजले कर्मा अध्यक्षमा निर्वाचित भएको ६ महिनामै फरक मत राख्न सुरु गरे । अहिले असन्तुष्ट समूहलाई भेला गरी उनी ‘चेन्ज कर्मा’को नयाँ रणनीतिसहित चुनावमा होमिएका छन् ।

संस्थापनबाट कर्मा छिरिङ शेर्पा दोहोरिने तयारीमा रहँदा असन्तुष्ट समूहको नेतृत्व पंकजले गरेका छन् ।

कर्माविरुद्ध उम्मेदवारी दर्ता गरेका पंकजलाई यसअघि कर्माले नै वरिष्ठ उपाध्यक्ष बनाएका थिए ।

अघिल्लो चुनावमा पंकज विक्रम नेम्वाङ सर्वाधिक (६१) मत ल्याएर उपाध्यक्ष पदमा विजयी थिए । पंकजसँगै वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंहले उपाध्यक्षमा चुनाव जिते ।

त्यसको दुई दिनपछि कार्यसमिति बैठकले इन्द्रमान तुलाधरलाई महासचिवमा मनोनित गर्‍यो ।

निर्वाचित चार उपाध्यक्षबाट एक जनालाई वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने प्रावधान थियो । तर, निर्वाचन भएको एक वर्षसम्म पनि नेतृत्वले वरिष्ठ उपाध्यक्ष चयन गर्न सकेन ।

कर्माको सबैभन्दा विश्वासपात्र पंकजले वरिष्ठको जिम्मेवारी पाउने धेरैको अपेक्षाविपरीत नेतृत्व लामो समयसम्म मौन रह्यो ।

महासचिव नियुक्त गर्दा नै पंकजको अपेक्षा पनि आफूलाई वरिष्ठ तोक्नुपर्ने थियो । पंकजलाई वरिष्ठ बनाउनुपर्ने माग कार्यसमिति भित्रैबाट आए पनि कर्माले टार्दै गए ।

विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था छ । पंकज आफैंले नेतृत्वसँग ‘तपाईंले कसलाई वचन दिनुभएको छ उसैलाई बनाउँदा हुन्छ’ भनेको स्मरण गर्छन् ।

एक वर्षपछि अर्थात् ३१ वैशाख २०७६ मा कार्यसमिति बैठकबाट वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ मनोनित भए । चुनावअघि नै वरिष्ठ उपाध्यक्षको आश्वासन पाएकाहरु कर्माको यो निर्णयबाट विच्किए ।

नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिने कार्यसमिति वैठक सो पदका अर्का आकांक्षी उपाध्यक्ष वीरबहादुर खड्कासहित सदस्यद्वय पूर्णमान चित्रकार र रत्न कुमार श्रेष्ठले बहिस्कार गरेका थिए ।

एन्फाको अध्यक्ष वैदेशिक भ्रमणमा जाँदा कार्यवाहक जिम्मा लगाएर जाने प्रचलन छ । २०७५ को कात्तिकमा विदेश जाँदा कर्माले कसैलाई पनि कार्यवाहकको जिम्मेवारी दिएनन् । त्यतिबेला पंकजकै पालो रहेको एकजना उपाध्यक्षले बताए ।

एन्फा कार्यसमिति बैठक ।

एक वर्ष र केही दिनपछि मात्र पंकज वरिष्ठ उपाध्यक्ष बढुवा भए । तर, त्यो विवादरहित हुन सकेन । एउटै टिम बनेर एन्फा नेतृत्वमा पुगे पनि छोटो समयमै त्यही टिममा फाटो आउन थाल्यो ।

२०७६ चैत अर्थात निर्वाचनको दुई वर्ष नपुग्दै एन्फाको दुई धार स्पष्ट देखियो । एन्फाका हरेक निर्णयमा विवाद देखिन थाल्यो । वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले कार्यसमितिको निर्णयमै ९ बुँदे फरक मत राखिदिए ।

बैठकमा नेम्वाङले ए डिभिजन लिगको प्रत्यक्ष प्रशारण अधिकारको सम्झौता, रौतहटमा निर्माण गर्ने भनिएको महिला एकेडेमीको प्रक्रिया र आर्थिक नियमावलीलगायतका विषयमा फरक मत राखेका थिए ।

उनले त्यतिबेलै भनेका थिए, ‘मेरो फरक मत एन्फाकै पक्षमा हो । विधिवत तरिकाले संस्था अगाडि बढ्नुपर्छ । यो कसैको विरुद्धमा वा विपक्षमा होइन । संस्थाको पक्षमा हो । व्यक्तिगत रुपमा कसैसँग मेरो केही छैन ।’

वरिष्ठ उपाध्यक्षबाट सुरु भएको असहमति बढ्दै जाँदा कार्यकाल सकिँदासम्म कर्मा र पंकज नै दुई खेमामा बाँडिएका छन् ।

कुनै बेला कर्मासँगै ‘चेन्ज एन्फा’को नारा लगाउने पंकज अब ‘चेन्ज कर्मा’को नारा लगाउन थालेका छन् ।

आफ्नै सहयात्रीले हाँकेको एन्फामा आफूअनुकुल ‘चेन्ज’ नभएको पंकजको बुझाइ छ । त्यसैले उनी चेन्ज एन्फाका लागि चेन्ज कर्माको रणनीतिमा छन् ।

उनीहरुकै भाषामा एन्फामा तानाशाही तन्त्र अन्त्य गरेर आए पनि कर्मा  र पंकजबीच आएको कार्यकालको आधा समय नपुग्दै दूरी बढेको हो । शेर्पालाई साथ दिँदै आएका एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले पनि पदबाट राजिनामा दिए । शेर्पासँगै असन्तुष्टि बढेपछि पाण्डेले पद छाडेको थिए ।

नेम्वाङले पारदर्शिता र विकेन्द्रीकरणको नारा दिएर आएकाहरुले एजेण्डा बिर्सिएको आरोप लगाएका थिए । ‘सुरुको केही समय सल्लाह हुन्थ्यो । विधिअनुसार काम गर्ने कुरामा सल्लाह गर्ने थुप्रै प्रयास गरियो तर सफल भएनौं,’ पंकजले भनेका छन् ।

अध्यक्ष बनेलगत्तै शेर्पाले एन्फालाई विधि विधानअनुसार चलाउने र त्यसको सुरुवात मूल नेतृत्वबाटै गर्ने प्रतिबद्धता जनाएका थिए । तर, आफ्नो जितलाई नयाँ इतिहास रच्ने अवसर र जिम्मेवारीको रुपमा व्याख्या गरेका शेर्पाको भनाइ र गराइमा फरक देखिएको असन्तुष्ट समूहको आरोप छ ।

पत्रको नभई प्रवृत्तिको विरोध गरिरहेको बताउने पंकज नेतृत्वको असन्तुष्ट समूहले त्यसयता एन्फाको हरेक निर्णयमा असहमति राख्दै गयो । उनीहरु कर्माद्वारा गरिएका सबै निर्णयलाई शंकाको दृष्टिले हेर्न लागे ।

उम्मेदवारी घोषणा कार्यक्रममा पंकज ।

कर्मा नेतृत्वमा आएको ६ महिनापछि एन्फा मुख्यालय भवन पुनर्निर्माण प्रक्रिया सुरु भयो । फिफा फरवार्ड कार्यक्रमअन्तर्गत आएको रकमबाट यो भवन पुनर्निर्माण सुरु गरिएको थियो । झण्डै साढे २ करोड  रुपैयाँको योजना विना प्रतिस्पर्धा हस्तान्तरण गरिएकोमा पंकजको सुरुआती असन्तुष्टि थियो । उनीहरुबारे जानकारहरु यही समयदेखि दुईबीच फाटो आउन सुरु भएको मान्छन् ।

सोही समयमा २०७५ सालको रेलिगेशनबिहीन ए डिभिजन लिगको प्रसारणाका लागि रामसार मिडियासँग भएको १ करोड बराबरको सम्झौतामा पनि पंकज असन्तुष्ट थिए ।

कर्माले राम्रो काम गर्न नसकेको भन्दै पंकज समूहले गत शुक्रबार एक कार्यक्रम गरेर प्यानलसहित चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । र उनीहरुले मनोनयन पनि दर्ता गरेका छन् ।

आफ्नो फाइदा हेरेर समूह परिवर्तन गर्न माहिर मानिएका वीरबहादुर खड्का यसपल्ट असन्तुष्ट समूहमा छन् ।

कर्मा नेतृत्वको कार्यसमितका प्रवक्त रहेका किरण राई पनि खुलेरै पंकज प्यानलमा छन् । उनी अहिले कर्मालाई निर्वाचनमा सहभागी नहुन सल्लाह दिइरहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो रणनीतिलाई भन्दा बढी कर्माको कार्यशैलीको आलोचना गरेका पंकजले मतदाताको आग्रहमा नेतृत्वका लागि दावी गरेको बताए ।

‘हामीले जुन विश्वास गरेर कर्माजीलाई नेतृत्वमा पुर्‍याएका थियौं, त्यो भएन । हामीले आर्थिक नियमावाली त बनायौं, तर आर्थिक अनियमिता बढ्दै गयो । फिफाबाट आर्थिक नाकावन्दीसम्म भयो । फिफाले मान्छे नै पठाएर अडिट गर्नुपरेको छ । नितिगत भ्रष्टाचारदेखि आर्थिक र प्रशासनिक भ्रष्टाचार भइरहेको छ,’ पंकजले भनेका छन्,  ‘नेपाली फुटबललाई राम्रोसँग अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनैपर्छ भनेर जिल्लादेखि क्लबका साथीहरुको आग्रहअनुसार अघि बढेका हौं ।’

उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण थापा, केन्द्रीय सदस्य किरण राई, दावा लामा, विजय घलेलगायत उपस्थित थिए ।

एजेन्डा ठूलो छैन, भएकालाई निरन्तरता दिने

पंकजले अध्यक्षमा उम्मेदवारी दिएको तीन दिनपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि आगामी चार वर्षे कार्यकालको लागि उम्मेदवारी दिए । उनले प्यानलै बनाएर १८ जनाले सँगै मनोनयन नै दर्ता गराए ।

कर्माले २० पृष्ठको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वले गरेका काम, अबको कार्यकालको योजानसमेत सार्वजनिक गरे ।

उम्मेदवारी घोषणा कार्यक्रममा कर्मा ।

सोमबारै राजीव पौड्यालले पनि ५ पृष्ठको घोषणा पत्रसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरे र उनले पनि मनोनयन दर्ता गराए ।

पंकजले आगामी कार्यकालको लागि ठूलो कार्यक्रम सार्वजनिक गरेका छैनन् । उनले सञ्चारकर्मीले आगामी योजना बारे प्रश्न सोध्दा मात्र योजनाको बारेमा केही बताए ।उनले ठूलो योजना बनाउने भन्दा पनि चार वर्षे कार्यकालमा गर्न सकिने कामलाई योजनाको रुपमा अघि बढाउने बताए ।

एन्फा सचिवालय चुस्त बनाउनेदेखि राष्ट्रिय लिग सञ्चालन गर्नेलगायत भइरहेका कामलाई अघि बढाउने उनले बताए । अनी विज्ञहरुको रायसमेत लिएर अघि बढ्ने नेम्वाङ समूहको योजना छ ।

, प्रशिक्षकसँग विवाद

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको विवाद जोडियो । गत साउनमा अल्मुताइरीले पंकजको कारण म पदबाट राजिनामा दिन एन्फा जाँदैछु भनेर सामाजिक सञ्जालमा लेखेपछि ठूलो तरङ्ग मच्चियो ।

उनले कहिल्यै राजिनामा दिएनन् । विवादमा जोडिरहे । अल्मुताइरीले  ‘खेलाडी मात्र होइन, सबैको सोच परिवर्तन गर्नुपर्छ’ भनेर धेरै अन्तर्वार्तामा भन्दै आएका थिए ।

त्यसबेला आएको अन्तर्वार्तामा भने पंकजले आपत्ति जनाए । अध्यक्ष कर्माछिरिङ शेर्पालाई सामाजिक सञ्जालमा ब्रदर भन्ने गरेकोमा समेत पंकजले असन्तुष्टि जनाएका थिए ।

पंकजले त्यसबेला राजिनामा प्रकरणको छानविन हुनुपर्ने र आफू दोषी देखिए कारबाही भोग्न तयार रहेकोसमेत बताएका थिए ।

त्यसपछि एन्फाबाट मन्त्रालय पुगेको यो विवाद राष्ट्रिय खेलकुद परिषद राखेपमा छानबिन भयो । समितिले प्रतिवेदन पनि बुझायो । प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएको जानकारी छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?