+
+

सगरमाथाबारे लेखिएको पुस्तक ‘पन्ध्रौं चुली’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १८:५१

१२ जेठ, काठमाडौं । लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ ।

१५ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा शनिबार आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेपाले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको बताए ।

‘भविष्यमा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूका लागि यो पुस्तक उपयोगी छ नै । पर्वतारोहीहरूले यो पढ्नैपर्छ,’ श्रेष्ठले भने, ‘यस सम्बन्धमा रुचि राख्नेहरूले त झनै पढ्नुपर्छ ।’

पुस्तक पढ्दै जाँदा सरासर समिटमा पुगिने उनले बताए । ‘यहाँ प्राविधिक कुरा पनि छन् । सगरमाथाको उचाइ कहिले नापियो, विदेशीहरूले पनि कहिलेकहिले मापन गरे आदि रोचक तथ्य पुस्तकमा छन्,’ सीमाविद् श्रेष्ठले भने, ‘अहिले भने नेपालले सगरमाथाको उचाइ मापन गरेको छ । त्यसको सम्पूर्ण इतिवृत्त यहाँ छ ।’

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले यो पुस्तक नेपालमा पर्यटन र पर्वतारोहण विषय पढाइ हुने शिक्षण संस्थाका लागि बलियो सन्दर्भ सामग्री रहेको बताए ।

फाइनप्रिन्टका अजित बरालले अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिए पनि नेपालीमा एकदम कम लेखिएको भन्दै ‘पन्ध्रौं चुली’ले त्यस किसिमको अभाव पूरा गर्ने बताए ।
लेखक गौतमले सगरमाथाका विषयमा नेपालीमा सन्दर्भ सामग्री धेरै नभएकाले पुस्तक लेखेको बताए ।

लेखक गौतम दुई पटक सगरमाथाको चुली पुगेका छन् । नेपालमा पर्यटन प्रवद्र्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गरेका उनी दोस्रो पटक भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न गएका थिए ।

कास्कीको पोखरा नजिकै धितालमा जन्मिएका खिमलाल गौतम पेसाले सर्भेयर हुन् । साल्जबर्ग विश्वविद्यालय, अस्ट्रियाबाट भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर उनी निजामती सेवामा १७ वर्षदेखि कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?