+
+
पात्र :

कबड्डीको बिके

गोविन्द विक गोविन्द विक
२०७९ जेठ १६ गते १२:५२
'कबड्डी' फिल्ममा बिकेको भूमिकामा देखिएका कलाकार विजय बराल

अहिले नेपाली सिनेमा हलहरूमा चलचित्र कबड्डी-४ लागिरहेको छ । चलचित्रले सुरुवाती दिनमै राम्रो सफलता पाइरहेको छ । लामो समय कोरोनाभाइरसको संक्रमणका कारण सुस्ताएको रंगक्षेत्र पुनः ब्युँतिएको छ । ए मेरो हजुर-४ को राम्रो सफलतापछि अहिले चलचित्र कबड्डी-४ ले निकै नै दर्शकको माया बटुलिरहेको छ । त्यस पछाडिको मुख्य कारण यस चलचित्रको कथावस्तु, पात्र, चरित्र अनि मौलिकपना नै हो ।

रामबाबु गुरुङद्वारा लिखित-निर्देशित यी चलचित्रका यिनै विविध कारणले चारवटा सिक्वेलसम्म चलिरहँदा लाखौं नेपाली दर्शक चलचित्रको पारखी भएका छन् । तिनै पारखीमध्येको एक म पनि हुँ ।

चलचित्र कबड्डी लगभग मैले दर्जनौंपटक दोहोर्‍याई तेहर्‍याई हेरें । अन्य सिक्वेलहरू आउन थाल्यो । झन् बढी उत्साहित भएर हेरें । सबैमा उनै पात्र, चरित्र र कथावस्तु एकै भए तापनि धेरैको मनमा प्रश्नैप्रश्न छोड्ने यस चलचित्रको विशेषता हो । चलचित्रले उब्जाएका प्रश्नमध्ये मुख्य प्रश्न ‘काजी’को बिहे हो ।

कबड्डी एकमा आफ्नी सोल्टिनी ‘मैया’का लागि ज्यान दिंदा पनि उनले आफ्नो बनाउन सकेका थिएनन् । उल्टै मैया उनलाई झुक्याउँदै अपरिचित व्यक्तिको लहलहैमा सहर होमिइन् । आफूलाई फिटिक्कै मन नपराउने सोल्टिनी मैयालाई जसरी पनि आफ्नो बनाउने विचारका काजीलाई कबड्डीको दोस्रो सिक्वेल कबड्डी-कबड्डीमा पनि उनै मैयाले नराम्ररी दुःख दिइन्, काजीका दाइ बमकाजीसँग भागेर गइन् ।

गोविन्द विक

यिनै कौतूहलकै बीच चलचित्रको चौथो सिक्वेल अर्थात् कबड्डी-४ दर्शकहरूको लामो प्रतीक्षापछि हलसम्म आयो । लाखौं दर्शकझैं म पनि यो चलचित्रको पहिलो शो नै हेर्छु भनेर रिलिज भएकै दिन अर्थात् जेठ १३ गते सिनेमा हलमा गएँ । मैले देखें धेरै दर्शकले यो चलचित्रबाट आफ्नो कौतूहल मेटाए । धेरै जनाले चलचित्रबाट आफ्नो प्रश्नको जवाफ पाए । मैले पनि पाएँ । तर मेरो प्रश्न माथि उल्लेखित प्रश्न थिएन । मेरो प्रश्न अरू नै थियो र मैले त्यसको उत्तर पाएँ ।यहाँसम्म आइपुग्दा दर्शकहरूका अघि काजी एक पागल प्रेमीका रूपमा स्थापित भइसकेका थिए । उनले दर्शकहरूको सहानुभूति बटुलिरहेका थिए । चलचित्रको तेस्रो सिक्वेल अर्थात् कबड्डी-कबड्डी-कबड्डीमा भने काजीको जीवनमा अर्कै हिरोइन आइन् । तर उनले पनि अन्त्यमा धोका दिइन् । यी सबै सिक्वेलले दर्शकहरूलाई काजीको बिहे कहिल्यै नहुने भयो भनेर उत्सुकता दियो । के काजीले बिहे गर्छन् त ? काजीलाई धोका दिएर गएकी मैया फेरि फर्केर आउलिन् त ? काजी अब के गर्छ होला ? यी र यस्तै कौतूहल आम दर्शकहरूमा चलचित्रले ल्याएको थियो ।

बिके : कबड्डीको निपात

विद्यालयमा नेपाली विषयमा पढेको थिएँ निपात । निपातले वाक्यमा मिठास ल्याउने काम गर्छ । यसको अनुपस्थितिमा वाक्य अपूर्ण सुनिन्छ । कबड्डीमा पनि बिके हुँदैनथ्यो भने कताकता चलचित्रमा मिठास नपुगेको जस्तो लाग्थ्यो होला । कताकता चलचित्र अपूर्ण जस्तो लाग्थ्यो होला ।

हो, मेरो प्रश्न यही निपातमा थियो, यही बिकेमा थियो । चलचित्रको पहिलो सिक्वेलदेखि नै मलाई बिकेको पात्र-चरित्रलाई लिएर अनेकौं प्रश्न थियो । मलाई प्रश्न थियो- यो चलचित्रका लेखकप्रति । मलाई प्रश्न थियो रामबाबुप्रति । के बिकेलाई यस चलचित्रमा राख्न आवश्यक थियो होला ? या बिकेलाई किन अरू नामले नबोलाइएको, उसको पनि त नाम थियो होला ! रामबाबुले लेखेका र निर्देशन गरेका मिस्टर झोले लगायतका चलचित्रहरूमा पनि जात-व्यवस्था जो समाजको प्रष्ट चित्र हो छर्लङ्गै झल्किने गरी प्रस्तुत गरेका छन् । मलाई चलचित्रमा दलितमाथि कथित उपल्लो जातले गरेको व्यवहार हेर्दा आफैंलाई गरेको जस्तो लाग्थ्यो । यहाँ पनि त्यही हो, बिके काजीको जिग्री भए पनि अन्य पात्रहरूले अपहेलना गर्थे, स्वयं काजीले पनि । घरभित्र पस्न दिंदैनथे, सबैलाई हातमा चिया दिइन्थ्यो, उसलाई भुईंमा राखिदिन्थे । बिकेलाई सधैं दोस्रो दर्जामा राखिन्थ्यो । बिकेलाई गरेको त्यो व्यवहार मलाई नै गरेको हो कि जस्तो लाग्थ्यो । बिके यो समाजको हरेक दलितको प्रतिनिधि हो ।

कबड्डी-४ को बिकेले आफूले भोगेको जातीय छुवाछूत अन्त्य भएको महसुस गर्‍यो । तर के हाम्रो समाजका लाखौं बिकेले त्यो महसुस गर्न पाएका छन् त ? पर्दाको बिकेले पाएको स्वतन्त्रता हाम्रा दूरदराजका पर्दा बाहिरका लाखौं बिकेले पाएका छन् त ?

‘बिकेलाई आफ्नो जीवनको बारेमा कुनै आत्मालोचना छैन, बिके अरूको खुसीमा रमाउँछ, अरू दुःखी हुँदा रोइदिन्छ, बिके निकै सोझो अनि निर्दाेष पात्र हो, उसले केवल काजी दाइको बिहे हेर्न चाहेको छ,’ बिकेको पात्र निभाएका विजय बरालले एक डकुमेन्ट्री भिडियोमा बताएका छन् । दलित यो समाजको एक निपात हो । बिके यो समाजको एक निपात हो । जो हाम्रो समाजको एक अभिन्न अंग हो । हाम्रो समाजमा अन्य मानिसलाई जसरी स्वतन्त्रतापूर्वक शिर ठाडो पारेर बाँच्ने अधिकार छ, त्यसरी नै समाजले बनाइदिएको तल्लो जातलाई पनि छ । कबड्डीको दुई सिक्वेल हेर्दासम्म मेरो मनमा त्यही प्रश्न आइनै रहन्थ्यो ।

बिकेको क्यारेक्टर डेभलपमेन्ट

जब कबड्डीको तेस्रो सिक्वेल आयो, मलाई बिकेको भूमिका झनै खास लाग्न थाल्यो । बिकेलाई पहिलेको जस्तै सबैको जी, हजुरी गर्नेभन्दा केही माथि पाएँ । छन्त्यालले भन्दा पनि बिकेले काजीको दोस्ती निकै असल तवरले निभाएको पाएँ । काजी र बिकेको साथ छुट्दाको त्यो दृश्य निकै नै हृदयविदारक थियो । सायदै त्यो दृश्यमा नरुने कोही थिएन होला ।

यहाँसम्म हेर्दा बिकेलाई चलचित्रमा दलित पात्र भन्दा पनि एक असल मित्रको भूमिकामा पाएँ ।

तर कबड्डी-४ मा झनै चमत्कार भयो । अब बिकेलाई पहिलेको जसरी घरबाहिरै आँगनमै राखिंदैन । अब बिकेलाई भुईंमा चिया राखिंदैन । बिके निर्धक्क भएर मुखियाको चुलोसम्मै जान्छ । छन्त्याल र बिकेलाई काजीकी आमाले आफ्नै छोरा जसरी भान्सामै खाना पस्किन्छिन् । अब बिकेलाई भेदभाव गरिंदैन । अचम्मको कुरो कहीं कतै पनि जातपातको कुरो गरिंदैन । यस्तो लाग्थ्यो कि दूरदराजको हाम्रो समाजमा पनि जातव्यवस्था पूर्ण रूपले अन्त्य भइसक्यो । समाजमा सबैको चेतनाको स्तर बढिसक्यो । सबैजना शिक्षित भइसके । यस्तो लाग्थ्यो कि हाम्रो समाज हामीले परिकल्पना गरेको जस्तै समाज बनिसक्यो ।

कबड्डी-४ को बिकेले आफूले भोगेको जातीय छुवाछूत अन्त्य भएको महसुस गर्‍यो । तर के हाम्रो समाजका लाखौं बिकेले त्यो महसुस गर्न पाएका छन् त ? पर्दाको बिकेले पाएको स्वतन्त्रता हाम्रा दूरदराजका पर्दा बाहिरका लाखौं बिकेले पाएका छन् त ?

मेरो प्रश्नको उत्तर

निर्देशक रामबाबु गुरुङप्रतिको मेरो प्रश्नको उत्तर मैले पाएँ । उनले फिल्मबाट हाम्रो समाजको ऐना देखाउँदैथिए । उनले परिकल्पना गरेको पात्र चरित्र हाम्रै समाजकै हो । उनले पस्कने समस्या हाम्रै समाजको हो । त्यस समस्यालाई सुधारेर विभेदरहित समाजको परिकल्पना गरेको पनि समाज हो । यस चलचित्रमा ल्याइएको सुधार आजको समाजले ल्याउनुपर्ने सुधार हो- जातीय विभेद उन्मूलन भएको समाज । चलचित्र कबड्डी र टिमप्रति हार्दिक नमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?