+
+

नाटक ‘चोरको स्वर’ शुक्रबारबाट, लिम्बू समुदायको भागी बिहे परम्पराको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:०४

काठमाडौं । आर्टमाण्डु नेपालको प्रस्तुतिमा नयाँ नाटक ‘चोरको स्वर’ शुक्रबारदेखि मण्डला नाटकघरमा मञ्चन हुने भएको छ । अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशनमा मञ्चन हुन लागेको नाटकले लिम्बू समुदायमा रहेको भागी विवाहको परम्परालाई पेश गर्छ ।

कथाकार नवीन चौहानले बिहेको माहोलमा दर्शकलाई पनि जन्ती गएको अनुभव दिलाउन नाटक तयार पारिएको बताए । भगाएर बिहे गरिसकेपछि केटा पक्षबाट केटीको माइतीमा कोसेली लिएर भद्र-भलाद्मी र सरदारको ‘डेलिगेसन’ जाने चलन छ । त्यो प्रक्रियालाई चोरको स्वर भनिन्छ ।

यदि चोरको स्वर स्वीकारे बिहे हुन्छ र अस्वीकार गरे बिहे अघि बढ्दैन । चोरको स्वर स्वीकार नगर्दा छोरीलाई माइती जान नपाउँदाको पीडा हुन्छ । यो सामाजिक आयामलाई नाटकमा प्रस्तुत गरिएको लेखक चौहानले बताए ।

‘खासगरी लिम्बू समुदायको भागी बिहेको संस्कृतिमा रहेको रोचकतालाई चित्रण गर्न खोजेका हौं,’ उनले भने । नाटकमा दुई गाउँको कथा हेर्न पाइन्छ । एकातिर सुविधासम्पन्न गाउँ छ भने अर्कोतिर दुर्गम गाउँ । दुई विपरीत गाउँको असमानतालाई नाटकमा प्रस्तुत गरिएको छ ।

नवीन चौहान

अनिल सुब्बा, वेदना राई, रुपेश लामा, इगी होपोक कोइँच सुनुवार, संगीत थापा, सुरज तमुसहितका २३ जना कलाकारले नाटकमा अभिनय गर्नेछन् । पहिलो नाटकको रुपमा आर्टमाण्डुले ‘चोरको स्वर’ तयार पारेको हो ।

यही शीर्षकमा संस्थाले गीत पनि तयार पारेको छ, जसलाई निकट भविष्यमा ल्याउने जनाइएको छ । ‘यसपटक हामीले मञ्चनलाई परिवर्तन गर्न खोजेका हौं,’ चौहान भन्छन्, ‘यसपटक नाटकमा अभ्यास हुनेछ ।’

जेठ २० गतेदेखि असार १५ गतेसम्म मण्डलमा नाटक मञ्चन हुँदैछ । यो ब्यानरबाट वर्षमा एउटा नाटक बनाउने योजना रहेको जानकारी लेखक चौहानले दिए ।

कोरोना महामारीपछि अहिले हप्तैपिच्छे नयाँ–नयाँ नाटक मञ्चन भइरहेका छन् । केही नाटकले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?